ब्याज दर वृद्धिप्रति राष्ट्र बैंकको आपत्ति



काठमाडौं, (नेस)
बैंक तथा वित्तीय संस्थाहरूले तरलता अभाव देखाउँदै ऋणको ब्याजदर वृद्धि गरेकोप्रति नेपाल राष्ट्र बैंकले आपत्ति जनाएको छ । बुधबार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूलाई बोलाएर ब्याजदरमा बेथिति रहेको भन्दै आपत्ति जनाएको हो ।

बुधबार बैंकरहरूसँगको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले कर्जामा एकैपटक ५/६ प्रतिशत वृद्धि देखिएको यसमा राष्ट्र बैंकको ध्यानाकर्षण भएको बताउनु भएको छ । बचत खातामा ब्याज नबढेको तर मुद्दतिको ब्याज बढाइए पनि सानो तथा स्थायी प्रकृतिको बचत खाताको ब्याज बढेको र हालको पाँच प्रतिशतको स्प्रेड दर पनि निस्प्रभावी देखिए गभर्नर नेपालले बताउनुभयो । वित्तीय क्षेत्र विकास रणनीति अनुसार पनि आर्थिक वर्ष २०७७/७८ सम्ममा यस्तो अन्तर ४ दशमलव ४ प्रतिशतभन्दा कम गर्ने लक्ष्य अनुरुप अघि बढ्नुपर्ने उहाँले भनाइ थियो ।

गभर्नर डा. नेपालले राष्ट्र बैंकले निर्देशनात्मक व्यवस्था गर्नु पूर्व सम्बन्धित बैंक र वित्तीय संस्थाले नै स्वनियमनमा बसी आफ्नो पोर्टफोलियो आफंै मिलाउँदा राम्रो हुने बताउनुभएको छ ।

यसैबीच घरजग्गा, रियल स्टेट तथा मार्जिन लेन्डिङतर्फ ‘लोन टु भ्यालु’ अनुपात (एलटिभी रेसियो) तोकिएको भए तापनि सवारी साधन कर्जातर्फ यस्तो एलटिभी तोकिएको छैन, बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा सुविधा प्रदान गरेको अवस्था बुझिन्छ । यसतर्फ एलटिभी तोक्नुपतर्फ नेपाल राष्ट्र बैंकको ध्यान गएको छ । बुधबार बैंकर्ससँगको छलफलपछि राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्