अदालतमा विस्फोट, २० को मृत्यु



काबुल, (एजेन्सी)
अफगानिस्तानको राजधानी काबुलमा रहेको सर्वोच्च अदालतनजिकै मंगलबार भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको एक जना अफगानी अधिकारीले बताएका छन्। यस घटनामा कम्तीमा अन्य ४५ जना घाइते भएको बताइएको छ।

एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिवुल्लाह डेनिसले बताएका छन्।

आक्रमणकारी हि“डेरै अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको डेनिसले जानकारी दिएका छन्। यसैबीच अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एक जना जिल्ला गभर्नरको मृत्यु भएको छ।

खाक ई साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। घटनास्थल अफगानिस्तानको राजधानी काबुलदेखि ६ सय ९५ किलोमिटर पश्चिममा पर्दछ।

तालिवानी लडाकूहरूले यस आक्रमणको जिम्मेवारी लिएका छन्। तालिवानी लडाकूहरूको आक्रमणमा परी गत वर्ष सन् २०१५ मा मात्रै देशभरि ६ सय ५० जनाको मृत्यु भएको थियो भने अन्य ५ सय ६० जना घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्