चिनीको मूल्य सातामै दुई पटक वृद्धि



नेपाल समाचारपत्र
काठमाडौं
उखुको क्रसिङकै सिजनमा नै चिनीको मूल्य १० रूपैयाँले बढेर प्रतिकिलो ९० रूपैयाँ पुगेको छ।

उखुको उत्पादक कम भएको भन्दै चिनी मिलहरूले चिनीको मूल्यमा एक सातामा दुई पटक गरी प्रतिकिलो ६ रूपैयाँ बढाएपछि खुद्रा व्यवसायीहरूले त्यस मूल्य बढाएर ९० रूपैयाँ पु¥याइएको हो। स्वदेशी उत्पादन कम हुने र सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको स्टक कम भएको जानकारी पाएपछि चिनीको मूल्य एक सातामै दुई पटक बढाइएको हो।

मिलले बिक्री गरेको चिनी थोक बिक्रेता हुँदै खुद्रामा अहिले ९० रूपैयाँमा बिक्री भइरहेको छ। कर्पोरेशनसँग अहिले तीन हजार टन चिनी मात्रै मौज्दात छ। कर्पोरेशनले अहिलेपनि ७९ रूपैयाँमा थोक बिक्रेतालाई चिनी बिक्री गरिरहेको छ। चिनी उत्पादकहरूले भने प्रति किलो ८६ रूपैयाँमा थोक विक्रेतालाई बिक्री गरिरहेका छन्।

नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले उत्पादकले चिनीको मूल्य एक साताको बीचमा ६ रूपैयाँ बढाएपछि खुद्रा मूल्य प्रतिकिलो ९० रूपैयाँ पुगेको जानकारी दिनुभयो। उत्पादकहरूले मूल्य बढाएपछि खुद्रा व्यावसायीले पनि त्यही अनुसार मूल्य समायोजन गरेर ९० रूपैयाँ खुद्रा मुल्य कायम गरेका गरिएको उपाध्यक्ष मानन्धरले जानकारी दिनुभयो।

माघ १५ गतेसम्म प्रतिकिलो ८० रूपैयाँमा चिनी बिक्री भइरहेको थियो। उत्पादकले माघ २० गते भित्र प्रतिकिलो ६ रूपैयाँ चिनीको मूल्य बढाएका थिए। गतवर्ष एक लाख ६७ हजार टन चिनी उत्पादन हुने अनुमान गरेपनि एक लाख ४७ हजार टन मात्रै उत्पादन भएको थियो। यो वर्ष उखु किसानहरू उखुखेती छोडेर अन्य खेतीतर्फ लागेको नेपाल चिनी उत्पादक संघ जनाएको छ।

नेपालमा वर्षेनी २ लाख ३० हजार मेट्रिक टन चिनीको खपत हुन्छ। नेपाली उत्पादनले गत वर्ष सम्म ६० प्रतिशत माग धाने पनि यो वर्ष ५० र ५५ प्रतिशत माग मात्रै धान्ने अनुमान गरिएको छ। यो आधारमा नेपालको माग पूरा गर्न एक लाख टन चिनी आयात गर्नुपर्छ।

संघका अनुसार गत वर्ष किसानले प्रतिक्विन्टल ४ सय ४८ रूपैयाँमा उखु बेच्दा चिनीको मुल्य ६० रूपैयाँ किलो थियो। यो वर्ष उखुको मुल्य बढेर प्रति क्विन्टल ५ सय ३१ रूपैयाँ पुगेकोले चिनीको लागत बढेर मूल्य बढेको बताइएको छ।यति बेला आपूर्ति कम भएकोले नभई उत्पादन लागत बढी भएकाले त्यसको समायोजन गर्न मूल्य बढाईएको हो।

चिनीको मूल्य नियन्त्रणका लागि एक मात्रै विकल्प सरकारी संस्थानको साल्ट ट्रेडिङ मात्रै हो। यो संस्थानलाई एक प्रतिशत भन्सार शुल्क तिरेर चिनी ल्याउन दिएमा अहिले भइरहेको मूल्य नियन्त्रण गर्न सकिन्छ। विगतमा पनि चिनी उत्पादकले मूल्य बढाउन खोज्दा यही संस्थानलाई चिनी आयात गर्न दिएर बजार मूल्यमा हस्तक्षेप गरिएको थियो।

अहिले पनि कर्पोरेशनले ७९ रूपैयाँमा चिनी बिक्री गरिरहेको छ। कर्पोरेशनले चिनीको मूल्य नियन्त्रणका लागि पचास हजार टन चिनी ल्याउने प्रस्ताव आपूर्ति मन्त्रालयमा पेश गरेको छ। तर अहिलेसम्म निर्णय भने हुन सकेको छैन।

कर्पोरेशनका प्रवक्ता कुमारराज भण्डारीले पचास हजार टन चिनी आयातका लागि आपूर्ति मन्त्रालयमा एक साताअघिनै प्रस्ताव पेश गरेको जानकारी दिनुभयो। मन्त्रालयले चिनीमा लाग्ने भन्सार छुटका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यकुमार श्रेष्ठले बताउनुभयो।

अर्थमन्त्रालय संस्थान महाशाखामा भने अझै पत्र पुगेको छैन। संस्थान महाशाखाका मोहनसिंह बस्नेतले भने,भन्सार छुटका लागि अहिलेसम्म पत्र आएको छैन। पत्र आएपछि भन्सार छुटको प्रक्रियामा जान्छ। नेपालमा सामान्य समयमा मासिक १५ हजार टन चिनीको माग हुन्छ। दशैं तिहारमा भने मासिक २५ हजार टन सम्म चिनीको माग हुन्छ।

प्रतिक्रिया दिनुहोस्