यिनले पाएनन् नाम



फकाएर यौन सम्बन्ध राखी विदेश हिँडेका बाबुले बच्चा अस्वीकार गरेपछि डेढ वर्षदेखि बालकको न्वारन नै हुन सकेको छैन।

दुर्गाप्रसाद शर्मा, पर्वत ।
हिन्दू संस्कारअनुसार शिशु जन्मेको ११ दिनमा न्वारन गरी नाम राख्ने परम्परा छ। तर, यहाँ जन्मेको डेढ वर्षभन्दा बढी हुँदासमेत एक बालकको न्वारन हुन सकेको छैन। बाबुले बच्चा स्वीकार नगर्दा बागलुङ जिल्लाको मल्म–७ का प्रतीक्षा पुन थापाले जन्माएको बालकको न्वारन हुन नसकेको हो।

बच्चा जन्माएको १९ महिना बितिसक्दा समेत जापानमा रहेका पति धनबहादुर थापाले स्वीकार नगर्दा छोराको न्वारान गर्नसमेत नपाएको प्रतीक्षाले बताइन्। ‘आफ्नै पतिले बेइमानी गर्दा छोराको न्वारन गर्न पाएकी छैन’, न्यायको खोजीमा बागलुङ सदरमुकाममा भेटिएकी उनले भनिन्– ‘चिनेजानेकाले छोराको नाम के हो भनेर सोध्छन्, जवाफ दिन सकेकी छैन।’

पाण्डवखानी–३ माइत भएकी प्रतीक्षा मल्मको एक स्थानीय विद्यालयमा काम गर्दै आएकी थिइन्। धनबहादुर थापाको घरमा उनकी आमा एक्लै बस्ने गरेको र उनकी आमाको आग्रहमा प्रतीक्षा पनि धनबहादुरकै आमासँगै बस्दै आएकी थिइन्। धनबहादुर परिवारसहित जापानमा थिए। २०७१ सालको दशैं तथा तिहार मनाउन घर आएका धनबहादुरले आफ्नो आमास“गै घरमा भाडामा बस्दै आएकी प्रतीक्षालाई नजर लगाउन थाले।

चाडपर्व मनाउन पाण्डबखानी गएकी प्रतीक्षा दशैं तथा तिहार सकिएपछि मल्म फर्किइन्। घरमा धनबहादुर, उनकी आमा र प्रतीक्षा बस्दै आएका थिए। धनबहादुरले विभिन्न प्रलोभनमा पारेर प्रतीक्षासँग प्रेम गर्न थाले। डेढ महिनाभन्दा बढी उनीहरूबीच शारीरिक सम्बन्धसमेत रहन गयो। ‘धनबहादुरले तिमीलाई छुट्टै घर बनाएर राख्छु भनेर प्रलोभनमा पारे। मैले विश्वास गरेर शारीरिक सम्बन्धसमेत राखें।’ –उनले भनिन्।

डेढ महिनासम्मको प्रेमपछि धनबहादुर जापान फर्किए। जापानबाट थापाले प्रतीक्षालाई फोन गर्ने, पैसा पठाउने गर्न थाले। दुई महिनापछि प्रतीक्षाले धनबहादुरलाई आफू गर्भवती भएको जानकारी गराइन्। धनबहादुरले पनि स्वीकार्दै चिन्ता नलिन आग्रह गरे। उनले चैतसम्मको विभिन्न अवधिमा प्रतीक्षालाई जापानबाटै निरन्तर पैसा पठाइरहे। तर चैतमा प्रतीक्षा गर्भवती भएको धनबहादुरकी आमाले थाहा पाइन्। त्यसपछि उनले घरबाट प्रतीक्षालाई निकाला गरिन्।

आफूलाई धनबहादुरले विभिन्न प्रलोभनमा पार्दासम्म खुसी भएकी प्रतीक्षालाई थापाकी आमाले घरबाट निकालेपछि प्रतीक्षाका दुःख र पीडाका दिन शुरू भए।

‘छोराले आमालाई ठाउँमा ल्याएर मलाई व्यवस्थापन गरी राख्लान् भन्ने सोचेकी थिएँ तर आमाले घरबाट निकालेपछि धनबहादुर सम्पर्कमै आउन छाडे’, प्रतीक्षाले भनिन्– ‘पत्नी स्वीकार्ने कुरा त होइन आफै सम्पर्क गर्दा तँलाई जति पैसा खर्च गरेर भए पनि स्वीकार्दिनँ भनेर धम्की दिन थाले।’

गाउँमा रहेका महिला संघसंस्था तथा आमा समूहको पहलका बाबजुद पनि धनबहादुरकी आमाले प्रतीक्षालाई घर छिर्न दिइनन्। प्रतीक्षा त्यसपछि माइतीको शरणमा पुगिन्। अन्ततः उनले १८ साउन २०७२ मा छोराको जन्म दिइन्। छोरा जन्मेको १८ महिना बिते पनि धनबहादुरले अहिलेसम्म स्वीकार गरेका छैनन्। धनबहादुरले जति पैसा खर्च भए पनि प्रतीक्षा र छोरालाई नस्वीकार्ने बताउँदै आएका छन्।

आफ्नो बच्चा नै नभएको दाबी गर्न थालेपछि विभिन्न महिला अधिकारकर्मी तथा महिला तथा बालबालिका कार्यालयको पहलमा अल्पकाीलन सेवा केन्द्र बागलुङको सहयोगमा जिल्ला कानुनी सहायता समिति बागलुङमार्फत उनले बागलुङ जिल्ला अदालतमा नाता कायम गरी छोराको न्वारन गराइदिन र धनबहादुरको सम्पत्तिमध्ये आफू र छोरालाई अंश माग गर्दै मुद्दा दायर गरिन्। उनको दायर मुद्दामाथि बागलुङ जिल्ला अदालतले प्रतीक्षा र बच्चाको पक्षमा फैसला गर्दै नाता कायम गरी न्वारन गराउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले धनबहादुरलाई प्रतीक्षासँगको नाता कायम गरी प्रतीक्षाबाट जन्मेको छोराको न्वारन गराउने फैसला गरेका हुन्। त्यस्तै अंशसम्बन्धी अर्को मुद्दामा वादी र प्रतिवादीको नाममा जति सम्पत्ति छ फाँटबारी पेस गर्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत बागलुङका स्रेस्तेदार रामबहादुर थापाले अदालतले प्रतीक्षाको धनबहादुरसँग नाता कायम हुने ठहर भएको जानकारी दिए।

फैसला भए पनि धनबहादुर पक्षले उच्च अदालतमा जाने बताउन थालेको छ। धनबहादुरले डीएनए परीक्षण नगरी आफूले बच्चा नस्वीकार्ने बताउँदै आएका छन्। उनी केही समयअघि जिल्ला अदालतमा बयानका लागि जापानबाट आएका थिए। बयानपछि जापान फर्केका धनबहादुर अहिलेसम्म सम्पर्कमा आएका छैनन्।

बागलुङ बजारमा छोरासँगै भेटिएकी प्रतीक्षाले धनबहादुरले आफ्नो शरीर लुटेर आफूलाई पीडा दिएको गुनासो गरिन्। ‘पहिले त उसले जापानमा विवाह गरेको थाहा नै भएन, पछि समय घर्किसकेको थियो, मलाई छुट्टै घर बनाएर राख्छु भनेर फकाएपछि मानेकी हुँ’, उनले भनिन्– ‘अहिले यतिसम्म दुःख दिन खोजेको रहेछ।’ उनले आफू २०७१ चैतमा घर निकालिएदेखि नै समस्यामा परेको बताइन्।

‘माइतीमा जसोतसो बसेकी छु, अदालती काम, बयानलगायत कामका लागि सदरमुकाम बागलुङबजार आउँदा जाँदा ठूलो रकम खर्च भइसकेको छ’, उनले भनिन्– ‘अब पनि कतिन्जेलसम्म दुःख पाइने हो?’ उनले धनबहादुरको प्रलोभनमा परेर आफू फसेको बताइन्। ‘जति दुःख पाए पनि न्याय पाउने आस बोकेर हिँडेकी छु।’ –उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्