प्रकाशको “अमिताभ” स्मृति



‘कला क्याफे’ दर्ता भएको थियो। पहिलो अंक तयार पनि भयो। तर, त्यो कहिल्यै प्रकाशित भएन। गोपालजी प्रकाशक र म सम्पादक रहेको पाण्डुलिपी प्रकाशन गृहको त्यो मासिकका लागि मेरो केवल एकवचनमा पत्रकार मदनमणि दीक्षितदेखि पुष्करलाल श्रेष्ठसम्मले असाध्यै रोचक लेख दिएका थिए। अर्का चर्चित लेखक कर्ण शाक्यले आफ्नो किताब अनुभव लेखेका थिए भने विश्लेषक डम्बर खतिवडाले मीठो जीवन दर्शन लेखेका थिए। अमेरिका बस्ने लेखक गोविन्द गिरी प्रेरणादेखि बेलायत बस्ने गोपी सापकोटासम्मले तत्तत् देशका पठनीय अनुभव मलाई पठाएका थिए।

मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदन, नवराज लम्साल, राजेन्द्रकुमार आचार्य, अश्विनी कोइराला, भानु बोखिम, दुर्गा पौडेल, कमल नेपाली, कुमार रञ्जित, बाबुराम दाहाल, प्रकाश तिमिल्सिना, प्रभा बराल, सम्झना पोखरल, शिव अधिकारी, उत्तम नेपाल आदिका पनि असाध्यै सुन्दर सामग्री थिए। त्यसमा अल इन्डिया रेडियोमा बयालीस वर्ष काम गरेर काठमाडौं फर्केका रेडियोकर्मी प्रकाशप्रसाद उपाध्यायले अमिताभ बच्चनबारे लेखेका संस्मरण निकै सामान्य तर रोचक छ।

कुनै बेला उनी र अमिताभ बच्चन एउटै कलेजमा पढेका रहेछन्। उपाध्यायका अनुसार सन् १९६२ का महिनाहरूमा अमिताभ दिल्ली विश्वविद्यालयको किरोडिमल कलेजमा स्नातक तहका छात्र थिए। र, उपाध्याय पनि त्यसै कलेजमा स्नातक छात्रका रूपमा अध्ययन गर्दै थिए। उपाध्याय सम्झन्छन्, ‘त्यतिबेला बच्चन विशेष चर्चित छात्र थिएनन्।’

कलेजमा साढे नौ बजे क्लास शुरू हुने गर्दथ्यो। उपाध्याय र साथीहरू कलेज पुग्दा अमिताभ कलेजको बरन्डामा क्यान्टिनअगाडि आफ्ना एक दुईजना घनिष्ठ साथीका साथ उभिरहेका हुन्थे रे। दुब्लो पातलो शरीर र ६ फिटजति अग्लो युवकलाई नियमित रूपमा यसरी उभिरहेको देख्दा एक दिन उपाध्यायले आफ्नो एकजना सहपाठीसित उनीबारे सोधे रे। त्यो साथीलाई अमिताभ बच्चनको नाम थाहा रहेनछ। यति मात्र भने रे, ती हरिवंश राय ‘बच्चन’ का छोरा हुन्।

विद्यार्थीहरूले मूल ढोकाबाट कलेज परिसरमा पसेपछि बरन्डा भएर आफ्नो कक्षातिर जानु पथ्र्यो। बरन्डाको पूर्वपट्टिबाट कक्षातिर जानुपथ्र्यो भने पश्चिमपट्टिबाट होस्टेलतिर जाने बाटो थियो। यी दुबैको बीचको भागमा ८–१० पाइला दक्षिणपट्टि क्यान्टिन थियो रे। साढे नौ बजे कक्षा लाग्ने हुँदा नौ बजेतिर क्यान्टिन खुलिसकेको हुन्थ्यो। आँखा तेजिलो बनाउँदै उपाध्याय सम्झन्छन्, ‘यसै बिन्दुमा अमिताभ आफ्ना घनिष्ठ साथीका साथ उभिइरहेका देखिन्थे। होस्टेलमा बस्ने हुँदा कक्षा नलागुन्जेल यो उनको नियमित दिनचर्या जस्तै हुन्थ्यो। हामी कलेजमा पस्दा उनलाई नियमित रूपमा यसरी उभिरहेको देख्दा उनीप्रति जिज्ञासा पनि उत्पन्न हुन्थ्यो। सायद आउनेजाने विद्यार्थीहरूको, जसमा छात्राहरू पनि हुन्थे, चहलपहल हेर्दै उनी क्लास लाग्ने समयको प्रतिक्षा गरिरहेका हुन्थे।’

बिहानको समयमा क्यान्टिनमा खासै भीड हुँदैन थियो। उपाध्याय दिल्ली परिवहनद्वारा सञ्चालित युनिभर्सिटी स्पेसल बसबाट कलेज जाने गर्थे। अफिसबाट कलेज जाने भएको हुँदा कहिले पहिलो पिरियड नहुँदा क्यान्टिनमा चिया खान जाने गर्थे।
ती दिनहरूमा पन्ध्र पैसामा कप चिया, पच्चीस पैसामा समोसा र एक रूपैयाँमा हट डग पाइन्थ्यो। उनीजस्तै पहिलो पिरियड नहुने केही विद्यार्थीहरू पनि क्यान्टिनमा चिया खाँदै रमाइलो गरिरहेका हुन्थे। कहिले टेबुल ठटाएर गीत गाउँदै त कहिले सलाईको खाली बट्टा उफार्दै। उनीहरूको यो खेल देख्दा उनलाई रमाइलो लाग्थ्यो। अमिताभबारे उनी भन्छन्, ‘तर, होस्टेलको मेसमा खाजा खाएर आएकाले होला अमिताभ क्यान्टिनमा कहिले देखिएनन्।’ विद्यार्थी संघको चुनावका दिनहरूमा भने क्यान्टिनमा विशेष हुल र चहलपहल हुन्थ्यो।

उनीहरूले अमिताभलाई हिन्दीका प्रसिद्ध कवि हरिवंश राय ‘बच्चन’ का पुत्रका रूपमा चिन्न थाले। उनका अनुसार अग्लो कद भएका अमिताभ उमेरमा उपाध्यायभन्दा एक वर्ष ठूला थिए। र, पढाइका हिसाबले पनि उनीभन्दा एक तह वरिष्ठ। उपाध्याय सम्झन्छन्, ‘उनका पिता कवि हरिवंश राय ‘बच्चन’ भारत सरकारका हिन्दी भाषाका सल्लाहकार पदमा रहि दिल्लीमै बसोबास गर्ने गरे पनि शान्त र गम्भीर स्वभावका अमिताभ कलेजको होस्टलमा बस्दथे।’

कलेजमा डिबेटिङ सोसाइटी, ड्रामा सोसाइटी, एनसीसीजस्ता मञ्चहरू पनि थिए। विदेशी छात्रहरूको फरेन स्टुडेन्ट्स क्लब पनि थियो। विदेशी छात्र भएकाले पहिलो वर्ष उनी त्यसको सदस्य थिए भने दोस्रो वर्ष सचिव भए। क्लास नहु“दा बेलाबखत ड्रामा सोसाइटीद्वारा आयोजित नाटकहरू हेर्न वा डिबेटिङ सोसाइटीद्वारा आयोजित वादविवाद प्रतियोगिता सुन्न पुग्थे। ती नाटकहरूमा भाग लिने केही विद्यार्थीहरूलाई अल इन्डिया रेडियोको नाटक विभागद्वारा रेकर्ड गरिने नाटकहरूमा भाग लिन आउने गरेको देख्थे।

पछि केही विद्यार्थीहरू त टेलिभिजनका नाटक कलाकारहरूका रूपमा पनि आउन थाले। दोस्रो वर्षमा पढ्दापढ्दै उनले अल इन्डिया रेडियोको नेपाली कार्यक्रममा अनुवादक–उद्घोषकको जागिर खान थालेको र नियमित रूपमा अफिस र स्टुुडियो गई राख्नुपर्दा म ती विद्यार्थीहरूलाई भेट्ने गर्थें। तर, अमिताभ देखिन्नथे रे। हल्ला हो कि यथार्थ ? उनले बुझ्न सकेनन्। तर, के सुनियो रे भने अमिताभ अल इन्डिया रेडियोमा स्वर परीक्षा दिन गएका रहेछन् तर स्वर परीक्षा गर्ने कमिटीले उनको स्वरलाई माइक अनुकूल पाएन अरे।

अल इन्डिया रेडियोककर्मी उपाध्याय सम्झन्छन्, ‘तर, अमिताभ अल इन्डिया रेडियोमा कहिल्यै देखिएनन् जबकि अन्य छात्रहरू देखिन्थे। फिल्मी कलाकार, बलराज साहनी, सरोजा देवी, हेमा मालिनीजस्ता अभिनेता अभिनेत्री र नवाब पटौदीजस्ता क्रिकेट खेलाडी स्टुडियोमा देखिन्थे। बिस्मिल्ला खा“, बेगम अख्तरजस्ता गायक गायिकाहरू पनि देखिन्थे। तर उनलाई आएको गएको कहिल्यै देखिएन। जे होस्, मैले देख्नैपर्ने कुरा पनि थिएन। किनभने उनले त्यतिबेला आजको जस्तो प्रसिद्धी पाएका थिएनन्।’
ती दिनहरूमा उनीहरू पढ्ने किरोडिमल कलेजमा प्रिसिपल थिए डा. सरूप सिंह।

पछि उनी दिल्ली विश्वविद्यालयका भाइसचान्सलर भए। सेवानिवृत्त भएपछि उनी एउटा राज्यका गभर्नर पनि भए। भन्छन्, ‘हाम्रो कलेजमा ठूलाबडाका छोराहरू पनि पढ्ने गर्दथे। यिनमा प्रमुख थिए नेपालका रवीन्द्र शाह। उनी कलेज होस्टेलमा बस्थे। उनी राजदरबारसित सम्बन्धित भएकाले बाहिर प्रायः निस्कदैनथे। एकपल्ट म भेट्न भनी उनको कोठामा पसेको थिएँ, कलेजमै पढ्ने नेपालका एक अन्य विद्यार्थीसित। हिन्दी साहित्यका मूर्धन्य व्यक्ति विष्णु प्रभाकरकी सुपुत्री पनि हाम्रो कक्षामा आउने गर्थिन् सब्सिडरी विषयको अध्ययनका लागि। राजस्थान राज्यका एकजना मन्त्रीका भतिज हामै्र कक्षाका छात्र थिए। उनको उपनाम पनि उपाध्याय भएकाले हामीमाझ निकै घनिष्ठता थियो।

कति त हामी दुईलाई दाजुभाइ हो कि भनी सोध्ने गर्थे। उनले एनसीसीको एयर विङको तालिम पनि पाइरहेका थिए। बीएको अन्तिम वर्षमा पढ्दै गर्दा जाँच नजिक आएको बेला उनले वायुसेवामा जागिर पाए। तर दुर्भाग्यवश तालिमको बेलामा हवाइजहाज उडाउँदै गर्दा उनी दुर्घटनाको सिकार भए। भारत सरकारको विभिन्न मन्त्रालय र सेनाका अंगहरूका उच्च अधिकारीहरूका छोराछोरीहरू पनि पढथे।’

उनी कलेजका ती दिन सम्झन्छन्, ‘वातावरणमा शालीनता थियो। अनुशासनको भाव थियो। हडताल भन्ने कुरा कहिल्यै सुनिएन।’
गम्भीर स्वभावका भएकाले अमिताभलाई एक दुईजना साथीबाहेक अरू कसैसित विशेष कुरा गरिरहेको देख्दैनथिए रे उनी। कवि ‘बच्चन’का पुत्रकारूपमा उनले अमिताभलाई चिने पनि उनीहरूबीच कहिले हेलो हाई पनि भएन रे। उपाध्याय कारण खोतल्छन्, ‘किनभने उनीजस्ता ठूला परिवारका अनेक छोराछोरीहरू कलेजमा पढ्ने गर्दथे। दोस्रो, म पनि ती दिनहरूमा अल्पभाषी र अन्तर्मुखी स्वभावको छात्र थिए“। कसैलाई अनावश्यक रूपमा हेलो हाई भन्न अग्रसर हुन्नथें।’

स्नातक स्तरको शिक्षा पूरा गरेर निस्केपछि पनि अमिताभसित एकपटक एउटा जुत्ता पसलमा भेट भयो रे। त्यहा“ अमिताभले उनलाई देखेर पनि नचिनेजस्तो गरेपछि उपाध्यायले पनि हेलो भन्न आवश्यक ठानेनन् रे। खासमा उनीहरूको त्यस्तो कुनै चिनजान थियो भन्न मिल्ने खालको सम्बन्ध पनि कहा“ थियो र ?

समय बित्दै थियो। कर्मक्षेत्रमा उनीहरू आफ्नै किसिमले अघि बढ्दै थिए। सन्् १९७० तिरको कुरा हो। ती दिनहरूमा ‘भुवन सोम’ भन्ने हिन्दी चलचित्र निकै चर्चामा थियो। उनी अल इन्डिया रेडियो दिल्लीमा कार्यरत थिए। एक दिन पत्नीसहित त्यो चलचित्र हेर्न पुगे। त्यस चलचित्रमा अमिताभले नै स्वर दिएका रहेछन् सूत्रधारका रूपमा। त्यसपछि उनी ‘सात हिन्दुस्तानी’ भन्ने चलचित्रमा देखा परे। शुरूआती दिनमा कलेजका गम्भीर र अन्तर्मुखी स्वभावका अमिताभलाई चलचित्रमा वाञ्छित सफलता प्राप्त हुन सकेन। त्यसपछि पनि केही चलचित्रहरूमा देखा परे तर असफल कलाकारका रूपमा। तैपनि शुभचिन्तकहरूका सल्लाहमा बम्बईमा नै बस्ने र संघर्षपथमा अगाडि बढी नै रहे।

बोलचाल र कुराकानी नभए पनि उनीहरू एउटै कलेजका भएकाले अमिताभको लगातारको असफलताले उपाध्यायलाई केही दुःखी बनायो। अमिताभको त्यो बेलाको अवस्थालाई उपाध्याय विश्लेषण गर्छन्, ‘प्रारम्भिक असफलता, चलचित्र जगतको कडा संघर्ष र प्रतिस्पर्धाबाट निख्रिंदै गएका भए पनि उनमा आक्रोशको भाव पनि उत्पन्न भइरहेको हुनुपर्दछ। जसले एंग्री योङम्यानको भूमिकामा उनलाई सफल बनाएको हुनुपर्छ। उनको स्वरमा एउटा आकर्षण त छ“दै थियो’

सन् १९७२ मा चलचित्र जञ्जिरमा अमिताभ एंग्री योङम्यानको भूमिका निर्वाह गर्न सफल भए। उनको त्यो भूमिकालाई नरुचाउने कोही भएन। सफलताको खुडकिलो थपिंदै गयो। र, सुयोग्य पिताका सुुयोग्य पुत्रका रूपमा प्रसिद्ध भए।

प्रतिक्रिया दिनुहोस्