पानीको अभाव खेप्दै पुननिर्माण



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
पुननिर्माणका लागि अनुदानको पहिलो किस्ता पाएको महिनौं बितिसक्दा पनि भूकम्पपीडितहरुले नीजि आवास पुननिर्माण गर्न सकेका छैनन् । जग्गा जमिन नहुनेहरुको पीडा त छँदैछ ।

कतै सडक मापदण्डले गाउँ बस्तिका पुननिर्माणमा बाधा गरिरहेको छ । कतै पानीकै अभावमा पुननिर्माणले गति लिन सकेको छैन । साथमा पैसा भएर पनि भूकम्प पीडितहरुले घर बनाउन नसकेका हुन् । पुननिर्माणमा पानीकै चरम अभाव खड्कीएपछि अधिकांश भूकम्पपीडितहरु बर्खाअघि घर नबनाउने सोचमा छन् ।

कतै कतै घण्टौको बाटो गाग्रोमा पानी बोकरै पुननिर्माण सुरु भएपनि अधिकांश भूकम्पपीडितहरु असारको पर्खाईमा छन् । ‘खानलाई नै पानी छैन, कसरी बनाउनु घर ?’, कालिका गाउँ विकास समिति–७ का भूकम्प पीडित जयराम न्यौपानेले भने, –‘पानी छैन, बर्खाअघि घर बनाउन सकिँदैन ।’ साथमा पैसा भएर पनि पानीको अभावले घर बनाउन नसकिएको उनले सुनाए ।

उसै त उजाड डाँडा । त्यसमाथि पनि भूकम्पले पानीका मुल नै सुकाइ दिएपछि ठूलो सिरुवारी –७ डडुवामा खानेपानी कै हाहाकार जस्तै छ । घर बनाउनका लागि पानीकै सवैभन्दा ठूलो समस्या छ । स्थानीय मंगल बहादुर बिसंखेले सरकारी अनुदानको पहिलो किस्ता लिएपछि घर बनाउन त सुरु गरे तर उनलाई पानीकै समस्या छ ।

५० हजार पाएपछि उनले घर निर्माणको काम सुरु गरे तर पानी भएन । घर बनाउनका लागि एक घण्टाको बाटो हिँडेर पानी खेप्नुपर्ने भयो । अनुदान पाएपछि ऋण गरेर नै निर्माण सामाग्री जम्मा गरेका उनका लागि पानीको ठुलै पिरालो छ । यतिबेला उनले पानी बोकाएर घर बनाउनु परिरहेको छ । दैनिक पाँच जना त पानी बोक्नकै लागि कामदार लगाउनुपरेको उनले सुनाए ।‘सवै सामाग्री जम्मा गरें तर पानीको समस्या भयो’, उनले भने, –‘एक घण्टाको बाटो पानी बोकाएर घर बनाइरहेको छु ।’

सोमबार डडुवा पुग्दा स्थानीय महिलाहरु घर बनाउनका लागि गाग्रीमा पानी खेपीरहेका थिए । बस्ति नजिकै पानी नभएपछि घर बनाउनका लागि पान खेप्नुपर्ने बाध्यता रहेको स्थानीय महिलाहरु बताउँछन् । ‘एक घण्टामा एक गाग्री पानी खेपीन्छ’, सोमबार डडुवामा घर बनाउनका लागि पानी खेप्दै गरेकी स्थानीय राधिका शार्कीले भनिन्,–‘ पानी नखेपे त घर नै नबन्ने भयो ।’ पुननिर्माणका लागि अनुदानको पहिलो किस्ता दिएको सरकारले पानीका लागि पनि केहि सहयोग गर्नुपर्ने उनले बताईन् ।

‘सरकारले पानीको व्यवस्था मिलाइदिए त तिन महिनामा धेरै घरहरु बन्नेथिए्’, उनले आशा झलकाईन् । पानीको समस्याकै कारण गाउँमा पुननिर्माणले गति लिन नसकिरहेको अर्का स्थानीय शुर्यबहादुर थापामगरले सुनाए । २२ घर परिवार रहेको यस समुदायमा बल्ल एकजनाले मात्र घर बनाउन सुरु गरेको उने बताए ।

‘पानी नै नभएपछि बर्खाअघि घर बनाउने मेसो मिलेन’, उनले भने, –‘सवै जना बर्खा कुरेर बसेका छन् ।’ पानी अभावका कारण आकासेपानीको भर गरेर बसेको उनले सुनाए । उनीजस्तै डडुवाका भूकम्पपीडितहरु घर निर्माणका लागि आकासे पानीकै भर गर्दै टहरामा कष्टकर जीवनयापन गरिरहेका छन् ।

सडक मापदण्डसँगै पानीकै अभावले पुननिर्माण प्रभावित बनेपछि कालिकावासीमा पनि अन्यौल उत्तिकै छ । भुकम्पपछि सुकेका पानीका मुल नपलाउँदा यतिबेला कालिकामा खानेपानीकै हाहाकार छ । पुननिर्माणमा सडक मापदण्डको आतंक र पानीको समस्याले बाधा गरिरहेको कालिकावासी बताउँछन् ।

अनुदानको पहिलो किस्ता पाएको महिनौ बितिसक्दा पनि पानी अभावले घर बनाउन नसकिरहेको कालिका गाउँ विकास समिति–१ का जयराम न्यौपानेले बताए । केहि दिनअघि कालिकामा रेडियो मेलम्चीसँगको सहकार्यमा नागरिक सहायता कक्षले बृहत सामुदायिक छलफ ग¥यो ।

कार्यक्रममा अधिकांश सहभागिले सडक मापदण्डसँगै खानेपानीकै अभाव हुँदा घर बनाउन नसकेको समस्या सुनाएका थिए । भूकम्पपछि कालिकामा खानेपानीकै समस्या भइरहेकाबेला घर बनाउनका लागि पानीको समस्या भइरहेको कालिकाका स्थानीय कृष्णप्रसाद पराजुलीले सुनाए ।

‘खानलाई पानी छैन त कसरी घर बनाउन सकिएला ?’ उनले गुनासो गरे, ‘पानीको सहजता भए धेरै घरहरु बनिसक्थे ।’ पानी नभएर स्थानीयले साथमा पैसा भएर पनि घर बनाउन सकिरहेका छैनन् । भूकम्पको २२ महिना बितिसक्दा पनि टहरामै सकससँग बस्नुपर्दा बालबच्चा तथा बृद्धबृद्धाहरुको स्वास्थ्यमा नै समस्या देखा पर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्