फुटेको लाइटले भेट्टायो गाडी



हेटौंडा,(नेस) । गत १९ गते राति पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा–२८ मा दुर्घटनापश्चात् फरार रहेको सवारीलाई प्रहरीले पहिचान गरी पक्राउ गरेको छ ।

दुर्घटनास्थलमा भेटिएको गाडीको फुटेको लाइटका आधारमा मकवानपुर प्रहरीले दोषीलाई पक्राउ गरेको हो । ‘दुर्घटना भएको स्थलमा फुटेको लाइट भेटिएको थियो, त्यसकै आधारमा टाइम पिरियड छुट्याएर एक÷एक गाडीलाई अनुसन्धान गर्ने क्रममा ठक्कर दिने गाडी पक्रेका र्हौं ।’,

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक वामदेव गौतमले भने–मनहरी र थानकोटको नागढुंगालगायत स्थानबाट भएको इन्ट्रीको आधारमा सबै गाडीलाई अनुसन्धान गरिएको थियो ।

प्रमाणसहित बस र बसचालकलाई सप्तरी जिल्ला शम्भुनाथ नगरपालिका–७ बस्ने ३२ वर्षका ओमप्रकाश बिकलाई राजबिराजबाट पक्राउ गर्न प्रहरी सफल भएको छ । बस चालकलाई ४ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी गौतमले बताए ।

बसको ठक्करबाट हेटौंडा–१२ बस्ने १९ वर्षीय जयराम अर्यालको घटनास्थलमा मृत्यु भएको थियो । नम्बर नखुलेको सवारीको ठक्करबाट उनको मृत्यु भएको भन्दै मृतक परिवारले घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

घटनापश्चात् फरार ना.५ ख.४७६८ नम्बर बस र बसचालक बिकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले राजबिराजबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्