लाङटाङमा अझै पनि स्वास्थ्य सेवा सुरु हुन सकेन्



रसुवा, २५ माघ । भुकम्प गएको दुई वर्ष बित्न लाग्दा समेत रसुवाको लाङटाङमा स्वास्थ्यकर्मी पुग्न नसक्दा लाङटाङवासी समस्यामा परेका छन् ।

भुकम्पले वगरमा परिणत भएको लाङटाङमा घरहरु पुननिर्माण भैसक्दा समेत स्वास्थ्यकर्मी भने पुग्न सकेका छैनन् ।
स्वास्थ्य सेवा सुरु नभएपछि लाङटाङका एक सय १६ घरधुरी स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका अनुसार भुकम्पका कारण स्वास्थ्य चौकी पूर्ण रुपमा क्षति हुनुका साथै दुई स्वास्थ्यर्कीको समेत मृत्यु भएपछि नयाँ स्वास्थ्यकर्मी पठाउन नसकिएको हो ।

भुकम्पपछि स्वास्थ्यकर्मी जिल्लामा थप भएर आएपनि तत्काल स्वास्थ्य सेवा सुचारु गर्ने अवस्था नभएपछि अन्य क्षेत्रमा पठाइएको थियो । काठमाडांैको पहेँलो गुम्वामा वसेका लाङटाङवासी केही समय पश्चात नै गाउँ फर्किएका थिए । गाउँमा मान्छे नै नभएको भन्दै लाङटाङमा स्वास्थ्य कार्यालयले औषधी तथा स्वास्थ्यकर्मी पठाउन चासो गरेको थिएन् ।

गाउँमा स्वास्थ्यकर्मी नपुगेपछि गाउँले नै स्वास्थ्यकर्मीको व्यवस्थापन र भवन समेत उपलव्ध गराउने भन्दै तत्काल स्वास्थ्यकर्मी पठाउन आग्रह गरेका छन् । कार्यालयका प्रमुख डा. विवेक कुमार लालले लाङटाङमा केही दिनभित्रै स्वास्थ्यकर्मी तथा औषधी पठाउने आश्वासन दिनुभएको छ ।

व्यक्तिगत तथा गैरसरकारी सस्थाको सहयोगमा स्वास्थ्यकर्मी व्यवस्थापन गर्नका लागि गाँउले आफै तातिएका हुन् ।
करुणा फाउण्डेसनले स्वास्थ्य चौकी निमार्णको जिम्मा लिए पनि चिसोका कारण सुरु हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्