राजमार्ग सफा गर्न १ हजार जना सडकमा



नेपाल समाचारपत्र
सिन्धुली
बीपी राजमार्गको कमलामाई नगरपालिकाको क्षेत्रभित्र पर्ने २८ किलोमिटर सरसफाइ गर्न १ हजार जना स्थानीय सडकमा उत्रिएका छन्। राजमार्ग सफा राख्न कमलामाई नगरपालिकाले सञ्चालन गरेको अभियानमा राजमार्ग छेउछाउका १ हजार जना सडकमा उत्रिएका हुन्।

सवारीसाधनबाट हुने फोहोर नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरह“दा यसअघि भएका फोहोरहरू सफा गर्ने लक्ष्यअनुरूप सोमकार स्थानीय सरसफाइ समूहको सक्रियतामा राजमार्ग सरसफाइ गरेको छ। सरसफाइमा १ सय सरसफाइ समूहका १ हजार जनाको सहभागिता रहेको कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले जनाएको छ।

कमलामाई नगरपालिका चियाबारीबाट भिमान चुरेसम्मको २८ किलोमिटरमा सवारीसाधनबाट फ्यालिएका प्लास्टिकजन्य फोहोर सरसफाइ गरेको कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगत्प्रसाद भुसालले जानकारी दिनुभयो। ‘अहिलेसम्मको फोहोर व्यवस्थापन गर्न र अबदेखि गाडीमा डस्बिन अनिवार्य गर्नका लागि सरसफाइ गरेका हौं’ –कार्यकारी अधिकृत भुसालले भन्नुभयो।

गाडीहरूको डस्बिनमा भएका फोहोरलाई व्यवस्थापन गर्न चियाबारी, ट्राफिक चोकपोस्ट र भिमानमा ठूला मेटल डस्बिन राखिएको समेत कार्यकारी अधिकृत भुसालले जानकारी दिनुभयो। राजमार्गलाई सफा सुन्दर राख्नका लागि अब अनिवार्य डस्बिन राख्न सबै गाडीहरूमा स्टिकट राखिने बताउनुभयो।

कमलामाई नगरपालिकाको फोहोर व्यावस्थापन गर्नका लागि सरसफाइ समूहले कुहिने फोहोर, नकुहिने फोहोर, प्लास्टिकजन्य फोहोर र सिसाजन्य फोहोर छुट्टाछुट्टै संकलन गरे कमलामाई नगरपालिकाले उचित मूल्यमा खरिद गरिदिने व्यवस्था गरेको समेत जानकारी दिनुभयो। हाल विभिन्न फोहोर बिक्रीवितरणबाट कमलामाई नगरपालिकाले ३० हजार आम्दानीसमेत गरेको कार्यकारी अधिकृत भुसालले जानकारी दिनुयभो।

घरबाट निस्किने फोहोरलाई व्यवस्थापन गरी कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन सकिन्छ भने प्लास्टिकजन्य, इलोक्ट्रोनिक तथा सिसाजन्य फोहोरलाई पुनः प्रयोग गर्न सकिन्छ। ‘पहिला सिसाजन्य तथा इलोक्ट्रोनिकजन्य फोहोरहरू संकलन गर्नका लागि नगरपालिकालाई शुल्क तिर्नुपर्ने व्यवस्था थियो अहिले नगरपालिकाले फोहोरको मूल्य तिरेर खरिद गर्छ’ –कार्यकारी अधिकृत भुसालले भन्नुभयो। घरबाट निस्केका कुहिने फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्न समेत भुसालले आग्रह गर्नुभयो। अहिले कुहिने फोहोरसमेत बिक्री गर्न नगरपालिका तयार रहेको भुसालले आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्