दृष्टिविहीन विद्यार्थीलाई रेडियो सेट



पाल्पा, (नेस)
बेथल जुनियर रेडक्रस सर्कल तानसेनले दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना दृष्टिविहीन विद्यार्थीलाई रेडियो सेट प्रदान गरेको छ। स्कुलले १५ सेट डिजिटल रेडियो सेट वितरण गरेको छ। दृष्टिविहीन विद्यार्थीलाई समाचार सुन्न र मनोरञ्जन समेत लिन सहयोग होस् भनी रेडियो सेट प्रदान गरेको जनाएको छ।

जुरेसकी अध्यक्ष आकांक्षा रानाले बेथल बोर्डिङ स्कुलका विद्यार्थीले टिफिन खाने पैसाबाट केही बचाएर रहेको कोषबाट रेडियो सेट सहयोग गरेको बताए।

प्रमुख अतिथि दमकडा माविका प्रधानाध्यापक मोहन सापकोटाले बेथल विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि आफू सरहका फरक क्षमता भएका विद्यार्थीका लागि विगतमा पनि स्वेटर र टोपी वितरण गरेकोमा यसपटक विद्यार्थीलाई समाचार सुन्न, देश विदेशका घटनाको बारेमा जानकारी पाउन रेडियो सेट वितरण गर्नु अत्यन्तै असल र उदाहरणीय कार्य रहेको विचार व्यक्त गरे। सर्कलका शिक्षक नायक रमेश सारुले स्वागत एवं कार्यक्रमको औचित्यको बारेमा बोल्दै यस्तै सहयोग भविष्यमा पनि निरन्तरता दिने बताए।

दमकडा माविका पूर्वप्रअ राधाकृष्ण शर्माले जुरेस बेथल स्कुलका विद्यार्थीहरू र दृष्टिविहीन विद्यार्थीबीचको अनुभव साटासाट र साक्षात्कारमा सहजीकरण गरे। कार्यक्रममा जुनियर रेडक्रस सर्कल बेथल स्कुलका अध्यक्ष आकांक्षा रानाको अध्यक्षता र सचिव सौगात कार्कीको सञ्चालनमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्