ज्योतिको जीउमा टिकेन ज्याकेट



हेटौंडा,(नेस)। दिउँसोको घाममा ज्याकेट लाएर स्टेजमा देखापरेकी गायिका तथा मोडल ज्योति मगरको जीउमा ज्याकेट धेरै बेर टिक्न सकेन । स्टेजमै ज्याकेट खोलेपछि चाहीं दर्शकदीर्घातिर झन माहोल तातियो ।

मोडल मगरलाई तेस्रो मनहरी महोत्सवको क्रममा आइतबार स्टेजमा प्रस्तुत गरिएको थियो । उचाईंअनुसारको मोटाइ मिलेको जीउ, त्यसैमाथि अर्धनग्नझंै ड्रेसअपका कारण पनि उनी दर्शकको आकर्षणको केन्द्र बनेकी थिइन् । त्यसमाथि उनले बोल्ने हरेक शब्दहरु द्विअर्थी थिए । अधिकांश शब्दहरु टीनएजर्सकेन्द्रित थिए, जुन प्रेम र यौवनसँग जोडिएका हुन्थे ।

उनी महोत्सवमा आउने खबरसँगै महोत्सवमा देखिएको भीड देखेर आयोजक दंग परेको छ । उनको प्रस्तुतिका क्रममा देखिएको भीड थाम्न आयोजकलाई हम्मे परेको थियो भने सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनले आफ्ना चर्चित गीतहरु ‘चोरी खान पल्केको ढाडे बिरालो,’ ‘उही मुलाका सिन्की, उही मुलाको चाना’ चर्चित दोहोरी गीत ‘चानचुने त कहाँ हो र जिमवाल बाउकी छोरी, अध्याँरामो लाको माया काली छौ कि गोरी’ लगायत गीतहरु गाएकी थिइन् । उनको प्रस्तुति अवधिभर दर्शकको भीड महोत्सवको स्टेजमा रहिरह्यो ।

ज्योतिसँगै आइतबार चर्चित गायक यम बराल प्रस्तुत भए । उनले आफ्नो चर्चित गीत ‘निष्ठुरीले छाडेर गइहाली, हेर्दाहेर्दै अर्कैकी भइहाली’ गाउँदा उनलाई दर्शकले साथ दिएका थिए । गायक हेमन्त शर्माको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दिएको थियो । गायिका जुना प्रसाईं र संगीतकार एवम् गायक गणेश पराजुलीको प्रस्तुति पनि दमदार थियो ।

महोत्सवमा शारीरिकरुपमा अशक्त कलाकार लालबहादुर तामाङले जादु तथा नृत्य प्रस्तुत गरेका थिए भने गायिका लक्ष्मी तामाङले गीत गाएकी थिइन् । नृत्यांगना अनु रानासहित आस्था कला केन्द्रको टोलीले नृत्य प्रस्तुत गरेको थियो ।
छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैं बनेर लोकप्रिय हास्यकलाकार मनोज गजुरलेले पनि तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाए ।

महोत्सवमा निम्ता गरिएका नक्कली मोदीलाई हेर्न दर्शकको भीड लागेको थियो । भीड थाम्न आयोजकलाई हम्मेहम्मे परेको थियो । गजुरेलले नेपाललाई भारतले हेपेकोबारे व्यंग्यात्मक प्रस्तुति दिएका थिए । उनले नेपाललाई गरिएको व्यवहारप्रति माफी माग्दा दर्शकले ताली बजाएका थिए ।

शनिबार नै गायक पशुपति शर्माले पनि नेपाली लोक तथा दोहोरी गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । उनले विभिन्न चर्चित गीत गाएका थिए । उनले ‘मलाई अमेरिका यही, सिंगापुर नि यही’ गीत चर्चित बन्यो । उनले गीत गाउ“दा दर्शकहरु छमछमी नाचेका देखिन्थे । सहिमा श्रेष्ठले पनि लोक तथा आधुनिक गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्