पञ्चसँग नझुकेका शर्मा वृद्धाश्रममा



कुमार श्रेष्ठ, बाँके
नपुग्दो नै थिएन। नेपालगन्जमा घर, खजुरा मनकामनामा दुई बिगाह जमिन। परिवारमा श्रीमती, छोरा–बुहारी र नाति नातिनीहरू। २०२४ सालमा भारतको सोलन कलेजबाट बीएड गरेका यिनी ८१ वर्षका भूपेन्द्रप्रकाश शर्मा अहिले नेपालगन्जको वृद्धाश्रमको शरणमा पुगेका छन्।

एक छोराको भारतमा दुर्घटनामा मृत्यु भयो। बुहारी नाति नातिनी लिएर माइती गएकी छन्। अर्को छोराका आफ्नो परिवार र आमासहित नेपालगन्जको घरमा बस्छन्। बुढेसकालमा शर्मा नेपालगन्जको गुरुद्वारारोडमा रहेको नीलसागर वृद्धाश्रममा बस्न थालेका छन्। ‘वैशाख २३ गते वृद्धाश्रममा आउनुअघि मैले श्रीमती र छोरालाई ‘टर्चर’ गर्छौ कि नाइँ भनेर सोधे। त्यसको जवाफ १५ दिनसम्म नपाएपछि म यहाँ आएको हुँ’, शर्माले भन्नुभयो– ‘श्रीमती, छोरा–बुहारी, नाति नातिनी भएर पनि मर्ने बेलामा वृद्धाश्रममा आइपुगेको छु।’

कास्कीबाट २०३२ सालमा बाँके आइपुगेका शर्मा २०४३ सालदेखि नेपालगन्जको बेलासपुरमा १६ धुरमा बनेको आफ्नै चारकोठेमा बस्दै आएका थिए। २०२४ सालमा बीएड गरेपछि पर्वतको एक स्कुलमा प्रधानाध्यापक भएका शर्मालाई ६ वर्षपछि जुम्ला सरुवा गरिएको थियो। सरुवा भएपछि शर्माले जागिर छोड्नुभयो।

वामपन्थी राजनीतिक धार समातेका कारण पञ्चबाट हेपिँदै–च्यापिँदै अगाडि बढेका शर्मा तत्कालीन मालेका बफादार सिपाही थिए। २०४८ सालमा एमाले बनेपछि त्यही पार्टीमा बसेका शर्मा केही वर्षपछि नै राजनीतिबाट टाढा हुनुभयो। शर्मा भन्नुहुन्छ– ‘वामपन्थी राजनीति छोडेर पञ्चले भनेको भए म ठूलो मान्छे हुन्थे।’ २०३६ सालको जनमतसंग्रहका बेला एघार सय सुकुम्बासीको अगुवाइ गर्दै अञ्चलाधीशकहाँ जाने क्रममा हरिप्रसाद शर्मा नाम गरेका प्रमुख जिल्ला अधिकारीले आतंककारी भन्दै गिरफ्तार गर्न खोजेपछि शर्माले हात नै छोडेका थिए।

साहित्य र लेखमा विशेष रुचि राख्ने शर्मा केही समयअघिसम्म नेपालगन्जका पत्रिकामा छाएका थिए। गत वर्ष चक्रव्यूह नामक कविता संग्रह प्रकाशन गर्नुभयो। शर्माले वृद्धाश्रममा बस्दा बस्दै उपन्यास, कथा संग्रह र कविता संग्रह लेखिसकेको र प्रकाशनको तयारीमा रहेको जानकारी दिनुभयो। ‘यहाँ खाना बस्न, औषधि उपचार र साहित्य र लेखपढ गर्ने वातावरण राम्रो छ’, शर्माले थप्नुभयो– ‘अब घरमा जाने च्याप्टर बन्द भयो।’

शर्माको नेपालगन्जस्थित घर श्रीमतीको नाममा छ। मनकामनामा रहेको जग्गा पनि अंशवण्डा गरिसक्नुभएको छ। साढे आठ कठ्ठा आफ्नो नाममा राख्नुभएको छ। त्यही जग्गाको लालपुर्जा माग्नका लागि छोरा वृद्धाश्रममा पुग्ने गरेका छन्। जेठो छोराको मृत्युपछि छोराछोरी बोकेर माइत लागेकी बुहारीले आशंका लागि मुद्दा हालेकी छन्। शर्मा भन्नुहुन्छ– ‘बुहारी आएपछि मसँग भएको जग्गा पनि दामासाइ तरिकाले बाँडिदिन्छु।’

शर्माले बुढेसकाल पनि नेपालगन्जमा साइनबोर्ड लेख्ने काम गरेका थिए। बुहारीलाई पनि सिकाएका थिए। घरमा बस्नै नसक्ने गरी श्रीमती र छोराबाट तनाव सिर्जना गरेपछि शर्मा वृद्धाश्रममा आएका हुन्। ‘जहिले पनि पैसा ल्याऊ नै भन्छन्, मैले कहाँबाट ल्याऊँ ?’ –शर्माले घरको टर्चरबारे मुख खोल्नुभयो।

पढेलेखेको र वामपन्थी विचारधाराको उन्मातले पञ्चहरूको लोभलालचमा नपरेका शर्मालाई अहिले कुनै वामपन्थी शक्तिले कुनै सहयोग गरेका छैनन्। देशमा ६२ प्रतिशत बढी कम्युनिस्ट हुँदा वामपन्थी विचारबाट नडगमगाएका शर्मालाई कोहीले हेरेका छैनन्। ‘विष रोेपेर, अमृतको आशा नगरौं’ भन्ने जस्ता मर्मस्पर्सी कविता लेखेर शर्माले दिन कटाइरहेका छन्। तत्कालीन अञ्चालाधीशले ‘तपाईं उग्रविरोधमा नउत्रिनुस्, पञ्चको भित्रभित्र हल्का सपोर्ट गरिदिनुस्, तपाईंलाई जायजेथा जति पनि दिन्छौं’ भन्दा शर्माले सोझै इन्कार गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्