खोजी गरिदिन परिवारको अनुरोध



चण्डेनीमण्डन, (नेस)
सिन्धुपाल्चोकको ठोकर्पा–२ स्थायी घर भई हाल राजधानीकै खिचापोखरीमा कपडा पसल सञ्चालन गर्दै आएका माधवप्रसाद न्यौपाने विगत ११ दिनदेखि बेपत्ता छन्।

गएको माघ ११ गते बिहान १० बजे खाना खाएर कलंकीमा पैसा उठाउनु छ भनेर हिन्डेका उनी ११ बजेतिर सुन्धारामा देखिएको उनका साथीहरूले बताएका छन्। त्यसलगत्तै सिभिलमलमा फिलिम हेर्न गएको परिवारले खोजीका क्रममा सिसिटिभी फुटेजले देखाएको छ। २ बजे सिभिलमलबाट निस्किएपछि त्यस यता उनी कसैको पनि सम्पर्कमा आएका छैनन्।

परिवारले उनको बारेमा साथीभाइ तथा आफन्त सबैसँग खबर गरे पनि हालसम्म कुनै जानकारी नआएको उनकी श्रीमती गीता न्यौपानेले जानकारी दिएकी छिन्। ‘१२ गते नै प्रहरीमा पनि खबर गरेका छौं तर अहिलेसम्म कुनै सूचना आएको छैन’ –गीताले भनिन्। श्रीमान्को अवस्था जानकारी गराइदिन र खोजीका लागि उनले सबैलाई अनुरोध गरेकी छिन्। यदि कसैले उनको बारेमा केही सूचना पाए ९८४१६४१३६३ मा खबर गरिदिन पनि उनको अनुरोध छ।

स्मरणीय कुरा के छ भने ०७१ चैतमा माधवका भाइ बलराम न्यौपाने पनि यसै गरी बेपत्ता भएको र एक हप्तापछि उनी मृत फेला परेका थिए। कामकै सिलसिलामा निस्केका माधवको बारेमा पनि अहिलेसम्म के होला भन्ने अनुमान पनि परिवारले गर्न सकेको छैन। माधव विगत एकदशकभन्दा धेरै समयदेखि राजधानीमा व्यापार गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्