युवा कार्यक्रममा भद्रगोल, उपलब्धि शून्य



ईश्वरराज ढकाल, काठमाडौं
मुलुकका १३ वटा मन्त्रालयले युवासम्बन्धी कार्यक्रम सञ्चालन गरे तापनि त्यसको उपलब्धि प्रायः शून्य देखिएको छ। युवा तथा खेलकुद मन्त्रालयले युवासम्बन्धी सम्पूर्ण काम गर्ने भनिए तापनि युवाको नाममा आफू निकटलाई रकम वितरण गर्न १३ मन्त्रालयसहित करिब डेढ दर्जन निकायले आफू अनुकूलका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

विभिन्न मन्त्रीले आफ्नो कार्यकर्तालाई सहयोग गर्न समेत ती कार्यक्रम सञ्चालन हुँदै आएका छन्। हालसम्म त्यस्ता कार्यक्रमबाट के प्रगति भयो भन्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयलाई कुनै जानकारी छैन। गत वर्ष सरकारले गठन गरेको राष्ट्रिय युवा परिषद्लाई समेत कुन मन्त्रालयले कस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन् भन्ने विषयमा कुनै जानकारी छैन।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले कुन मन्त्रालयले कस्तो कार्यक्रम सञ्चालन गर्छन् भन्ने विषयमा जानकारी नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘भद्रगोल छ, कसले केमा काम गरेको छ भन्ने विषयमा हामीलाई जानकारी नै छैन।’
परिषद्ले युवा लक्षित कार्यक्रम जुन मन्त्रालयबाट सञ्चालन भए पनि सो विषयमा अनुगमन र कार्यक्रमको प्रतिफललगायतका विषयमा रेकर्ड राख्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘करिब १९ निकायले युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेको जानकारीमा आएको तर कसले के कार्यक्रम सञ्चालन गरिरहेको छ भन्ने विषयमा अझै पनि जानकारी हुन सकेको छैन।’ युवा तथा खेलकुद, अर्थ, रक्षा, गृह, भूमिसुधार, श्रम, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य, शान्ति तथा पुनर्निर्माण, सहकारी तथा गरिबी निवारण, कृषि र महिला तथा बालबालिका मन्त्रालयले युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्। ती मन्त्रालयले काम गरे पनि युवा तथा खेलकुद मन्त्रालयसँग सहकार्य हुनु जरुरी रहेको युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव महेन्द्र पौडेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘कुन मन्त्रालयले कति जनालाई के तालिम दिइरहेको छ भन्ने विषयमा समेत मन्त्रालयलाई कुनै जानकारी छैन।’

उहाँका अनुसार हाल वार्षिक करिब डेढ लाख युवाले विभिन्न निकाय र मन्त्रालयबाट तालिम, ऋण, कर्जा र अनुदान लिएर काम गरिरहेका छन्। युवा मन्त्रालयका निमित्त सचिव ज्ञानराज पौडेलले सबै मन्त्रालयबीच सहकार्य गरेर काम गर्नुपर्ने बताउ“दै भन्नुभयो– ‘युवाले विभिन्न तालिम दिइरहेका छन् तर कहा“बाट कति उपलब्धि भयो भन्ने विषयमा जानकारी नै छैन।’
‘राष्ट्रिय योजना आयोग, नेपाल स्काउट र राष्ट्रिय युवा परिषद्ले लाखौं रुपिया“ खर्चेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएका छन्। सरकारले करोडौं रुपिया“ खर्चेर युवा लक्षित कार्यक्रम आयोजना गरे पनि सबै अस्तव्यस्त जस्तै भएका छन्’ –परिषद्का उपाध्यक्ष ढुंगेलले भन्नुभयो।

राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास स्वयंसेवा, अर्थ मन्त्रालयअन्तर्गत युवा तथा साना व्यावसायी स्वरोजगार कोष, कृषि मन्त्रालयले शिक्षित युवा बेरोजगारलाई कृषि पेशामा आधारित तालिम, १ देखि ५१ दिने तालिम, १८ देखि ५० वर्ष उमेर समूहका युवालाई कृषक मानेर ४० हजारदेखि ४ लाख रुपिया“सम्म ऋण उपलब्ध गराउ“दै आएको छ।

त्यस्तै श्रम तथा रोजगार मन्त्रालयले युवा लक्षित रोजगारमूलक तालिम, व्यावसायिक शीपसम्बन्धी तालिम, महिला तथा बालबालिका मन्त्रालयले महिला युवाका लागि लोकसेवा आयोग तयार कक्षा, विद्यालयविमुख किशोर किशोरीको वहुआयामिक विकास लैङ्गिक समावेशी, मूल प्रवाहीकरण, क्षमता अभिवृद्धि कार्यक्रम, शान्ति तथा पुनर्निर्माण मन्त्रालयले द्वन्द्वपीडितका लागि सीपमूलक तालिम, स्वास्थ्यले किशोरकिशोरी तथा युवा सर्वेक्षण, तालिम, विद्यालयमा आधारित किशोरकिशोरी शिक्षा, प्रजनन स्वास्थ्य र वैदेशिक रोजगारमा जाने युवालाई स्वास्थ्य र जनचेतनामूलक तालिम सञ्चालन गर्दै आएको छ।

त्यस्तै शिक्षामार्फत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीद्वारा दर्जनौ तालिम, इन्जिनियरिङ, मेडिसिन, कृषि र वनसम्बन्धी तालिम, इभेन्ट परियोजना सञ्चालन गरेको छ। रक्षा मन्त्रालयले राष्ट्रिय सेवा दलअन्तर्गत स्कुले युवालाई तालिम, पर्यटन तथा नागरिकले पर्यटन तथा होटल व्यवस्थापन तालिम, गृहले लागूऔषध नियन्त्रण तथा कुलतमा लागेका युवालाई सुधार कार्यक्रम महिलाका लागि सुरक्षा निकायमा प्रवेश गर्दा आवश्यक पर्ने क्षमता अभिवृद्धि तालिम, सहकारी तथा गरिबी निवारण मन्त्रालयले युवा सहकारीकर्मी तालिम, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले भूमि सर्वेक्षण तालिम र उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योग, युवा उद्यमी अन्तरक्रिया, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेका छन्।

यति धेरै तालिमको उपलब्धताबारे मन्त्रालयले अध्ययन शुरु गरेको जानकारी गराउँदै युवा मन्त्रालयका निमित्त सचिव पौडेलले सबै तालिमको विषयमा तथ्याङ्क संकलन गर्नुपर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्