नेपालीलाई अमेरिका आतंक



  • थुप्रै नेपाली अमेरिका छोडेर युरोप जाने मुडमा।

  • जताततै छापा मार्न थालियो।

  • विद्यार्थीलाई काम गर्दै पढ्दै गर्न गाह्रो।

  • लुकेर बसेकाहरू झन् खतरामा।

  • दूतावास भन्छ– ‘भिसा नीति परिवर्तनबारे कुनै सर्कुलर आएको छैन।’

प्रशान्त वली, काठमाडौं
के तपाईं अमेरिका जा“दै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको च्युरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ। विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ। अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ नीतिले गर्दा नेपालीलाई मात्रै होइन विश्वभरिकै आप्रवासीलाई समस्या उत्पन्न भइरहेको छ।

ट्रम्पको अहिलेको पहिला अमेरिकी नागरिकलाई प्राथमिकता भन्ने मूल नाराकै कारण अन्य देशका मानिस अप्ठेरोमा पर्ने अवस्था सिर्जना भएको छ। अमेरिकामा अध्ययनरत एक नेपालीले शुक्रबार त्यहाँबाट फोनमा जानकारी गराएअनुसार उनको कलेजले बिदाको बेलामा पनि नेपाल फर्केर नजान भनेको छ।

उनका अनुसार गएपछि भिसा भए पनि फर्केर आउन गाह्रो हुन सक्ने भएकाले कलेज प्रशासनले त्यसो भनेको हो। अर्कातर्फ डीभी परेर त्यहाँ पुगेका वा भिसा अवधि बाँकी रहेका नेपालीलगायत अन्य देशका नागरिकलाई पनि आफ्नै देशमा जाऊ भनेर धम्क्याउने क्रम पनि बढ्न थालेको छ। कतिपयको त कोठाको ढोकामा नै ‘तिम्रो देश जाऊ’ भनेर टाँसिएको समेत पाइएको ती नेपाली विद्यार्थीले बताए। यो अवस्थाले गर्दा अमेरिकामा रहेका नेपाली अहिले आतंकित भइरहेका छन्।

अमेरिकी राष्ट्रपतिले यसअघि नै मुस्लिम देशहरू इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिनका लागि रोक लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरिसक्नुभएको छ। ती देशका व्यक्तिले पाएको भिसासमेत रद्ध गरिएको छ। त्यहाँ रहेका एक नेपालीले दिएको अनुसार अहिले अमेरिकामा जथाभावी छापा मारेर कागजात माग्ने काम समेत हुन थालेको छ।

यसैबीच नेपालस्थित अमेरिकी दूतावासका एक अधिकारीले भने नेपालबाट अमेरिका जानेहरूको भिसा जाँचमा कुनै प्रावधान परिवर्तन नभएको बताएको छ। विगतमा जाँच गरेजस्तै भिसा जाँच गरिएको दूतावासको भनाइ छ। अमेरिकामा वैधानिक तवरबाट गएका नेपालीहरूलाई अप्ठेरो स्थितिको सिर्जना भए नजिकैको प्रहरी स्टेसनमा सम्पर्क राख्न दूतावासले आग्रह गरेको छ। वैधानिक तवरबाट अमेरिका जानलाई भिसामा असहजता नआएको र अमेरिकी सरकारले दूतावासलाई कुनै निर्णय सम्बन्धमा सर्कुलर नपठाएको दूतावासका ती अधिकारीले बताएका छन्।

यस्तै, संगठित अपराधमा संलग्न भएको दोषी ठहरिए जोकोहीलाई जेल हाल्नुका साथै देशनिकाला गर्ने राष्ट्रपति ट्रम्पले चेतावनी दिएको बताइएको छ। विगतमा कतिपय नेपाली गैरकानुनी ढंगबाट मेक्सीको हुँदै अमेरिका पुग्ने गरेका थिए। उनीहरू सजिलैसँग लुकिछिपी काम गर्दै आएकोमा अब त्यस्तो नहुने भएको छ। त्यसै गरी विद्यार्थीको भिसामा गएर कामसमेत गर्ने गरेकोमा अब कडाइ गरिने भएको त्यहाँ रहेका अर्का एक नेपालीले बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै नेपाली पनि गैरकानुनी तरिकाले अमेरिका छिर्न बन्देज भएका हुन्। कलाकारदेखि राष्ट्रसेवक कर्मचारी देश छोडेर सपनाको शहर भन्दै अमेरिका हानिएका थिए। तर, आवश्यक कागजात भएकालाई समेत अहिले शंकाकै भरमा खानतलासी गर्न थालिएको छ। विशेष गरी राष्ट्रपति ट्रम्पको निगरानीमा न्युयोर्क, क्यालीफोर्निया र टेक्सासमा बसिरहेका अवैधानिक नेपालीहरू पर्न सक्ने अनुमान गरिएको त्यहाँ कार्यरत नेपालीहरूले बताएका छन्।

नेपालबाट कार्यक्रम, डीभी, विद्यार्थी र पर्यटकका रूपमा अमेरिका जाने गरेको त्यहाँ जान टिकट काट्दै आएका ट्राभल एजेन्सीहरूले बताएका छन्। ट्रम्पको निर्णयले विशेषतः अध्ययनका लागि भन्दै पढ्न गएका विद्यार्थीहरू निकै मारमा पर्ने देखिएको छ। अमेरिकाको टेक्सासमा अध्ययन गरिरहेका दाङ मजगैं निवासी अनिष वस्नेतले भने– ‘अहिले अमेरिकाका होटल तथा कम्पनीहरूमा छापा हान्ने काम भइरहेको छ। छापा हान्दा गैरकानुनी प्रमाण देखियो भने जेल हाल्न सकिन्छ भनिएको छ। अहिले अमेरिकामा २ लाखभन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ। जसमा कयौं गैरकानुनी तरीकाले अमेरिका प्रवेश गरेकाहरू छन्।बस्नेतले अब नेपाल फर्केर युरोप वा अस्ट्रेलियाको भिसा लगाउने सोंचमा रहेकोसमेत बताएका छन्।

अमेरिकाको भिसा लाग्नेलाई पनि अहिले जान उताको विमानस्थलमा पुगेपछि फर्काउने सम्भावना पनि रहेको भन्दै ठिक्क परेर बसेका पनि तर्सिएको पाइएको छ। यसै गरी विद्यार्थीहरूले रोजेको विश्वविद्यालयमा पढ्न नपाउने सम्भावना देखिएको वेन्च मार्क टुर्स सेन्टर काठमाडौंका सञ्चालक श्रीकान्त आचार्यले जानकारी दिए। उनको भनाइ छ–‘भिसा चेकजाँचमा कडाइ गर्दा अमेरिकामा काम गर्दै पढ्नेहरू मारमा पर्ने भएका छन्। काम र पढाइ एकैपटक गर्न मिल्दैन। त्यसो हुँदा पढ्न मात्रै निकै खर्च लाग्छ। अहिले नेपाली विद्यार्थीहरू पढ्दै काम गर्दै गरिररहेका छन्।’

प्रतिक्रिया दिनुहोस्