टेलिकमद्वारा धेरै बिल तिर्ने ग्राहकलाई सम्मान



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल टेलिकमले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ। त्यसैक्रममा शुक्रबार कम्पनीले प्रभातफेरी आयोजना गर्यो। बसन्तपुरबाट प्रारम्भ भएको प्रभातफेरी न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय पुगेर सम्पन्न भएको थियो।

सो अवसरमा टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, सेवामा विविधता महशुलमा पारदर्शिता जस्ता कम्पनीका सेवाहरूसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गर्नुका साथै सेवासँग सम्बन्धित सामग्रीहरू प्रसारण गरिएको थियो।
प्रभातफेरी समापन कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकतावद्ध भई लाग्न सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

कम्पनीले शुक्रबार नै आर्थिक वर्ष २०७२⁄७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरूको सबैभन्दा बढी कारोबार गर्ने बिक्रेता र बढी बिल भुक्तानी गर्ने ग्राहकलाई सम्मान गरेको छ। कम्पनीको तर्फबाट काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारी, प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झा, प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्यायले सम्मान गर्नुभएको थियो।

सो अवसरमा कम्पनीका रिचार्ज कार्ड, सिम, रिमको सबैभन्दा बढी कारोबार गर्ने ६ जना बिक्रेतालाई सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेहरूमा भी कार्ड कन्सर्न, कन्टिनेन्टल मार्केटिङ प्रालि, सक्सेस युनाइटेड प्रालि, सनलाइट मल्टिपर्पोज प्रा.लि., त्रियोग स्टेसनरी सप्लायर्स र टकटाइम ट्रेडिङ प्रालि रहेका छन्।

व्यक्तिगत तर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा साजनमान जोशी, सीडीएमए पोष्टपेडमा अशोकनाथ योगी, ल्यान्डलाइनमा रमेश सापकोटा, एडीएसएलमा राजेन्द्रसिंह भण्डारी र वाइम्याक्समा योजेन्द्र पुन सम्मानित हुनुभएको छ। त्यसैगरी संस्थागततर्फ सबैभन्दा बढी बिल भुक्तानी गरी जीएसएम पोष्टपेडमा सूर्य नेपाल प्रालि, सीडीएमए पोष्टपेडमा कारागार कार्यालय चितवन, ल्यान्डलाइनमा ग्रान्डी इन्टरनेसनल हस्पिटल धापासी, एडीएसएलमा नापी कार्यालय डिल्लीबजार र वाइम्याक्समा सीई कन्स्ट्रक्सन प्रालि त्रिपुरेश्वर सम्मानित हुनु भएको थियो।

सो अवसरमा काठमाडौं क्षेत्रीय निर्देशनालयका निर्देशक श्यामप्रसाद शुक्ला अधिकारीले कम्पनीका लागि बिक्रेताहरूले धेरै सहयोग गरेको बताउदै बिक्रेताहरूको सुझावका आधारमा आवश्यक योजना बनाएको र कार्यान्वयनको चरणमा रहेको बताउनुभयो। यस्तै वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापका विजेतालाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। उक्त अवसरमा अतिरिक्त क्रियाकलाप समितिका अध्यक्ष तथा प्रमुख मानव संशाधन अधिकृत रविन्द्र झाले आगामी दिनमा अझ व्यवस्थित रूपमा अतिरिक्त क्रियाकलापको आयोजना गर्ने बताउँदै विजेताहरूलाई बधाइ तथा कार्यक्रम संयोजकहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्