जुनारबाट ३० करोड आम्दानी



नवीन श्रेष्ठ, सिन्धुली
जुनारबाट यस वर्ष सिन्धुलीका कृषकहरूले करिब ३० करोड आम्दानी गरेका छन्। गत वर्ष कै तुलनामा उत्पादन भए पनि यस वर्ष मूल्य बढी भएका कारण गत वर्षभन्दा झण्डै ६ करोड बढी आम्दानी गर्न उनीहरू सफल भएका हुन्।
यस वर्ष करिब ८ हजार ५ सय ४० मेट्रिक टन जुनार उत्पादन भएको जुनार विकास संघ सिन्धुलीका उपाध्यक्ष कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो। गत वर्ष पनि यसको हारहारीमा उत्पादन भए पनि मूल्य कम आएका कारण करिब २४ करोड मात्र किसानले आम्दानी गरे पनि यस वर्ष राम्रो मूल्य पाएका कारण बढी आम्दानी भएको उपाध्यक्ष गौतमले बताउनुभयो।

यस वर्ष प्रतिकिलो ५० देखि सक्किने बेला अहिले बजारमा १ सय ५० रुपिया”सम्ममा बिक्री भई रहेको समेत उपाध्यक्ष गौतमले बताउनुभयो। ‘प्रतिगोटा २५ रुपियाँसम्म पर्ने यो सबै भन्दा बढी मूल्य हो, अहिलेसम्म बढी मूल्यमा जुनार खरिद बिक्री भई रहेको छ।’ उपाध्यक्ष गौतमले भन्नुभयो– ‘गत वर्ष ४० देखि ६० रुपियाँ प्रतिकिलो मात्र मूल्य कायम भएको थियो।

हरियोमा नै चाडवाडमा व्यापारीले बोटमा नै महँगो मूल्यमा खरिद गरेर पछि चाँडै सकियो। पछि सिजनमा पनि बढी मूल्यमा नै बिक्री भएका कारण किसानले यस वर्ष जुनारबाट राम्रो आम्दानी गर्न सफल भएको उपाध्यक्ष गौतमको भनाइ छ। सामान्यतया फागुनको अन्त्यसम्म बजारमा जुनार पाइने भए पनि यस वार्ष माघको मध्यमा नै जुनार सकिएको गौतमले बताउनुभयो।

मंसिरको दोस्रो हप्तादेखि जुनार उपभोग गर्न उचित समय मानिए पनि असोजको पहिलो साताबाटै जुनार बिक्री भएकाले चाँडै जुनार सकिएको हो। गत वर्ष बोटबाट प्रतिदाना ५ रुपियाँमा चित्त बुझाएका अधिकांश किसानले यस वर्ष सिजन अगावै प्रतिदाना १० देखि १५ रुपियाँसम्म हात पारेपछि बेमौसमै धमाधम किसानले जुनार बेचेका थिए। जुनारको राजधानीका भनेर चिनिने यस जिल्लामा यस सिजनमा जुनारबाट किसाले राम्रो आम्दानी लिएका छन्।

माग बढ्दै गए पनि जुनारको उत्पादन भने बढ्न नसकेको कारण जुनारको उपभोक्ताको माग अनुसार पुर्याउन नसकिएको जुनार विकास संघ सिन्धुलीले जनाएको छ। पछिल्लो समय रोपिएका विरुवामा दाना लाग्ने समय नभएको र पुराना रुखहरू बुढो हुँदै गएकाले जुनार उत्पादनमा गिरावट आएको किसानहरूको भनाइ छ। बीपी राजमार्ग निर्माण भएपछि पूर्वी तराई सहित काठमाडौंलगायतका स्थानमा जुनार कोसेलीको रूपमा लाने क्रम बढेपछि सिजन अगावै आधाबढी जुनार बिक्री भएको जुनार विकास संघका उपाध्यक्ष गौमतले बताउनुभयो।

सडकको पहँुच जुनार बगैंचासम्मै पुगेकाले पछि व्यापारीहरू बगैंचामा नै बढी मूल्य हाल्ने गरेको किसानहरू बताउँछन्। यस वर्ष जाडो कम भएको कारण पनि जुनार बढी बिक्री भएको किसानहरू बताउँछन्। जुनारको मध्य सिजनमा जाडो बढी र जुनार पनि चिसो भएकोले गत वर्षहरूमा किसानको जुनार बाटमा नै रहन्थ्यो भने यस वर्ष पुसको अन्तसम्ममा पनि खासै जाडो नभएको कारण जुनार समयमा नै बिक्री भएको हो।

सिन्धुलीबाट जाँदा जुनार कोसेली लानुपर्छ भन्ने मानसिकता विकास भएकाले पनि जुनाको खपत बढेको जुनार विकास संघका केन्द्रीय अध्यक्ष दीपक कोइरालाले बताउनुभयो। ‘सिन्धुलीका स्थानीय होस् वा बाहिरबाट सिन्धुली आएका हुन उनीहरू जुनारको राजधानी सिन्धुली आईपुगेपछि जुनार कोसेली लिएर जानुपर्छ भन्ने मानसिकता विकास भई भई सकेको छ। त्यसैले पनि सिन्धुलीको जुनार बढी खपत हुन्छ।’ अध्यक्ष कोइरालाले भन्नुभयो।

सिन्धुलीको बाशेश्वर नाकाजोलीमा प्राकृतिक शक्ति शित भण्डार र सदरमुकाममा जुस उद्योग सञ्चालनको लागि शित भण्डार स्थापना गरे पनि यस वर्ष पनि रित्तै भएको छ। शित भण्डारमा एक दान जुनार नराखी बोटबाटै बिक्री भएको छ। बजारको माग धान्न नसकेपछि स्टक राख्नै नपाई सिधैं बोटबाट बजारमा जुनार गएको र समय अगावै जुनार सकिएको जुनार विकास संघ सिन्धुलीका उपाध्यक्ष गौतमले बताउनुभयो।

सिन्धुलीको महाभारत क्षेत्रको ४५ गाविसमा जुनार उत्पादन हुन सक्ने भए पनि व्यावसायिक रूपमा ५ वटा गाविसमा मात्र जुनार उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। कृषि विकास कार्यलय सिनधुलीको तथ्यांकअनुसार जिल्लामा ४ हजार ५ सय ५१ जना जुनार उत्पादक किसान रहेका छन्। हरेक वर्ष १ सय ५० जना किसानले अन्य व्यवसाय छाडेर जुनार खेतीमा आउने गरेको जिल्ला कृषि विकासको आँकलन छ।

जिल्लाको ४५ गाविसको १ हजार ५ सय हेक्टर क्षेत्रफलमा जुनारको व्यवसाय गरिँदै आएको छ। हरेक वर्ष २ सय हेक्टर क्षेत्रफलमा जुनारको व्यवसाय बढ्दै गएको छ। अहिले जिल्लामा जुनारको व्यवसाय बढाउनको लागि सरकारले नै जुनार जोन कार्यक्रम सञ्चालन गरिरहेको छ। जिल्ला जुनार विकास संघ जिल्ला कृषि विकास कार्यालय सिन्धुली जुनार उत्पादन सहकारी संघको सहयोगमा जुनार उत्पादन वृद्धि गर्नको लागि पहल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्