एपीएफलाई पन्छाउँदै संकटा सेमिफाइनलमा



संकटाविरुद्ध बल अघि बढाउँदै एपीएफका श्याम नेपाली (सेतो)।

गोकुल घोरसाइने, बारा

विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पन्छाउँदै सीएमजी संकटा क्लब शुक्रबार रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
सिमरा रंगशालामा भएको खेलमा एपीएफमाथि संकटाले २–० को जित निकालेको हो। समूह ‘ए’बाट बाई पाएको संकटाले एक जितमा नै प्रतियोगिताको अन्तिम चारमा सहज प्रवेश प्राप्त गर्यो। विभागीय टिमविरुद्ध जित हात पार्ने क्रममा संकटाका लागि राज पौडेल र सुशील केसीले १⁄१ गोल गरेका थिए।

विदेशी खेलाडी मार्टिन अजाईले डिबक्सभित्रबाट गरेको क्रसलाई सदुपयोग गर्दै राजले ४१औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए। खेलमा अग्रता लिएको पाँच मिनेट बित्न नपाउँदै संकटाले अग्रता दोब्बर पार्यो। पहिलो हाफमा थपिएको एक मिनेटको इन्जुरी समयमा संकटाका लागि मार्टिनकै क्रस सदुपयोग गर्दै सुशील केसीले दोस्रो गोल गरेका हुन्।

खेलको शुरूआतमा संकटामाथि हाबी एपीएफ फिनिसिङमा कमजोर देखिँदा प्रतियोगिताबाट पहिलो खेलबाट नै बाहिरिनुपरेको थियो। एपीएफका युवराज खड्काले मध्यान्तरअघि केही राम्रा अवसरको सदुपयोग गर्न सकेनन्। नवीन लामाको क्रसमा युवराजले डिबक्सबाट गरेको हेडिङ क्रसबारबाट बाहिरिएपछि एएफपीको अग्रता बनाउने प्रयास गुमेको थियो।

त्यसै गरी वन भर्सेज वनमा युवराजलाई संकटाका कप्तान रवि सिलवालले रोकेका थिए। मध्यान्तरपछि खेलमा फर्कने केही अवसर सिर्जना गरे पनि एपीएफले सदुपयोग गर्न भने सकेन। एपीएफका राम कुमालले पनि केही राम्रा अवसर खेर फालेपछि पराजय बेहोर्न बाध्य हुनुपर्यो।

दुई गोलले पछि परेको एपीएफलाई संकटाले दोस्रो हाफमा पूरै दबाबमा राखेको थियो। खेलमा पराजय भोगेपछि निरास बनेका एपीएफका प्रशिक्षक कुमार थापाले दोस्रो हाफमा सुधारिएर खेल्न नसक्दा हार बेहोर्नुपरेको बताए। संकटाका प्रशिक्षक सल्यान खड्गीले रणनीतिअनुसार खेलाडीले खेलेको कारण जित हात पारेको प्रतिक्रिया दिए। संकटाको जितमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिन अजाई खेलको ‘पतञ्जली म्यान अफ दि म्याच’ घोषित भए। उनले पाँच हजार नगद प्राप्त गरे। प्रतियोगिताअन्तर्गत शनिबार सहारा क्लब पोखरा र वीरगन्ज युनाइटेड क्लबबीच खेल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्