अब खाममा हाल्ने निर्णय



मन्त्रिपरिषद् बैठकले पनि अचेल के–के निर्णय गर्छ–गर्छ। त्यसैको बारेमा धरहरा वरपर पनि चर्चा हुने गरेको छ। गत बिहीबारको बैठकले चुनाव गर्न निर्वाचन आयोगलाई चिठी लेख्ने निर्णय गरेछ। जनता चुनावको तिथि तोकिएला भन्ने आशामा छन् तर सरकार भने चिठी लेख्ने कुरा गर्छ। अब फेरि अर्को बैठकले चिठी खाममा हाल्ने निर्णय गर्ला। त्यसपछि प्रतिक्रिया बुझ्ला।

त्यसपछि कुनै रामकुमार वा रामकुमारीको हात लगाएर चिठी पठाउने निर्णय गर्ला। त्यो बैठकमा चिठी लग्ने मान्छेको नाम छनोट गरिएको भनेर प्रचार गरिएला। त्यसपछि निर्वाचन आयोगले चिठी पाउला। फेरि, निर्वाचन आयोगले चिठी पाएको भन्ने बारेमा अर्को निर्णय गर्ला। चिठी पाएपछि जवाफ लेख्नुपर्ने होला।

जवाफ लेख्ने व्यक्ति छनोट गरिएको निर्णय गर्नुपर्ला। त्यसका लागि आयुक्तहरू सबै नियुक्त भइसक्नुपर्ने होला। अनि निर्णय पनि होला। फेरि चिठी खाममा हाल्ने निर्णय होला। खाममा हालेपछि फेरि चिठी मन्त्रिपरिषद्सम्म पुर्याउने मान्छेको छनोट गरिएला। छनोट गरेपछि पुर्याउला तर मन्त्रिपरिषद्ले फेरि चिठी पाएको निर्णय गर्नुपर्ने होला। फेरि अर्को पत्र पठाउने निर्णय होला। खाममा हाल्ने निर्णय होला …..

हे भगवान्⁄ नेपालको निर्णय प्रक्रिया। यी सबै काम भइसक्दा अर्को माघ ७ नाघ्यो भने आश्चर्य नमान्दा हुन्छ। पाठकहरूलाई कस्तो लाग्छ कुन्नि?

प्रतिक्रिया दिनुहोस्