अस्पतालबाटै शिशु गायब



कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्जको छपकैयामा रहेको नारायणी उपक्षेत्रीय अस्पतालको प्रसूति गृहबाटै नवजात शिशु हराएको परिवारका सदस्यहरूले दाबी गरेका छन्। वीरगन्ज उपमहानगरपालिका–१ की आशादेवी पासवान सुत्केरी व्यथा लागेर शुक्रबार बिहान अस्पताल पुगेकी थिइन्।

बिहान ७ बजे अस्पताल भर्ना भएकी आशादेवीले १०ः४० मा छोरालाई जन्म दिएको अस्पतालले जनाएको छ। छोरा जन्मिएपछि अस्पतालले नर्सको सहायतामा प्रसूति कक्षबाट आशादेवीलाई छोरासहित जनरल बेडमा सारेको थियो।

वार्डमा राखेपछि आशादेवी र बच्चाको हेरचाहका लागि सासू रमावतीदेवी पासवान बसेकी थिइन्। करिब ११ बजे पासवान रहेको बेडमा एक अधबैंसे युवती पुगेकी थिइन्। उनले बुहारी कुर्न बसेकी रमावतीदेवीलाई बच्चालाई दूध खुवाउनुपर्छ भन्दै बच्चा आफूले खेलाएर बसेकी थिइन्। ती महिलाले रमावतीदेवीलाई ५० रुपियाँ दिएर दूध र पाउरोटी ल्याउनु म बच्चा हेर्छु भनेर बाहिर पठाएको रमावतीले बताइन्।

आफ्नो नातिलाई दूध र पाउरोटी किन्न रमावतीदेवी बाहिर गएकै समयमा ती महिला बच्चा लिएर फरार भएको पीडितले आरोप लगाएकी छन्।
यो विषयले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा तनाब उत्पन्न भएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन शाहले घटना दुःखद भएको बताउनुभयो।

यस्तो घटना यसअघि कहिल्यै नभएको उहाँले बताउनुभयो। डा. शाहले अस्पताल प्रशासनको भन्दा पनि शिशु हराउनुमा अभिभावकको लापरबाही देखिएको दाबी गर्नुभयो। डा. शाहले अभिभावकलाई दोष लगाए पनि अस्पतालमा राखिएका ७ वटा सिसी क्यामेरा सबै बिग्रिएकाले पनि बच्चा लाने व्यक्ति फेला पर्न नसकेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्