सत्य आयोगमा भाँडभैलो



विकास भट्टराई, काठमाडौं
सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यहरूबीच आयोगको म्याद थप गर्ने विषयमा गम्भीर मतभेद भएको छ।

आयोगका अध्यक्ष र अन्य सदस्य एकातिर र अर्की सदस्य माधवी भट्ट एकातिर भएको आयोगका सदस्य श्रीकृष्ण सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

व्यक्ति बेपत्ता पार्ने र सत्य निरुपण आयोग आयोगका म्याद यही माघ २७ गते सकिँदै छ। कानुनमा व्यवस्था भएबमोजिम ती आयोगको म्याद थप गर्ने विषयमा सत्य निरुपणका सदस्यहरूबीच गम्भीर मतभेद भएको हो।

सत्य निरुपणका अध्यक्ष र सदस्यबीच यस विषयलाई लिएर चर्काचर्की भएको थियो। आयोगका सदस्य सुवेदीले अर्की सदस्य भट्टले आयोगलाई भाँडभैलोमा लान खोजेको आरोप लगाउनुभयो।

सुवेदीले भन्नुभयो– ‘अर्की सदस्य भट्टले अध्यक्ष सूर्यकिरण गुरुङलाई बैठकमा तथानाम गाली गर्नुभएको थियो। त्यसै भएर आयोगको म्याद थप गर्ने विषयमा टुङ्गो लाग्न सकेन।’ यस विषयमा प्रतिक्रिया लिन खोज्दा सदस्य भट्टसँग भने सम्पर्क हुन सकेन।

आयोगको बिहीबार बसेको बैठकमा अध्यक्ष र सदस्यबीच चर्काचर्की भएको बताइएको छ। यही कारणबाट शुक्रबार सदस्य भट्टबाहेक अध्यक्ष र अन्य तीन सदस्य कार्यालय नै गएका थिएनन्।

सदस्य सुवेदीले भन्नुभयो– ‘यही तनावका कारण शुक्रबार भट्टबाहेक अध्यक्ष र सदस्यहरू कार्यालय नै गएनौं। भट्ट मात्र कार्यालय गएर अध्यक्षले राजीनामा दिएको झुठो प्रचार प्रसार गर्नुभयो।’
सत्य निरुपण आयोगमा ५८ हजारभन्दा बढीको संख्यामा उजुरीहरू परेका छन्। ती उजुरीहरूमध्ये प्रायः सबैको प्रारम्भिक छानबिन भइसकेको आयोगबाट प्राप्त जानकारीमा उल्लेख छ।

सदस्यले सशर्त म्याद थप गर्ने भनेको हो कि के हो भन्ने बारेमा स्पष्ट हुन नसकिएको सदस्य सुवेदीले बताउनुभयो। अन्य चार जना सदस्यहरू भने आयोगको म्याद थप गर्ने विषयमा सहमति भइसकेको उहाँले जानकारी दिनुभयो।
व्यक्ति बेपत्ता पार्ने आयोगले भने झन्डै एक साताअघि नै पाँचै जना सदस्यहरूको एक मतले म्याद थप गर्ने विषयमा सरकारलाई पत्र पठाइसकेको बताइएको छ।
कानुनमा आयोगहरूको म्याद थप गर्नका लागि आवश्यक परेमा कारण खोली ती आयोगहरूले सरकारसँग माग गर्नुपर्ने उल्लेख गरिएको छ। अबको पाँच दिनमा म्याद थप गरिसक्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्