केयूमा जुँगाको लडाइँ दुई सातादेखि बन्द



रामकृष्ण चापागार्इं, काठमाडौं
विद्यार्थीको चुनावको विषयलाई लिएर काठमाडौं विश्वविद्यालय दुई सातादेखि बन्द रहेको छ। त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन भनेजस्तै केयूमा ‘विद्यार्थी कल्याण’ को निर्वाचन स्थगित गरेको भन्दै नेकपा एमाले समर्थित अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरूले विश्वविद्यालय बन्द गराएका हुन्। विद्यार्थीले गराएको बन्दलाई केयूका केही डीन, प्राध्यापक र प्रशासनका उच्च अधिकारीले समेत समर्थन गरेको बताइएको छ। लामो समयदेखि केयू बन्द भएसँगै उपकुलपतिमा पुनः नियुक्त हुनुभएका प्राडा रामकण्ठ माकजू श्रेष्ठ अप्ठेरोमा पर्नुभएको छ।

उपकुलपति माकजूको निर्देशनअनुसार प्रशासनले निर्वाचन स्थगित गरिएको भन्दै विद्यार्थीहरूले विरोध गरेका छन्। उपकुलपति भएको पर्सिपल्ट माघ ८ गते निर्वाचन स्थगित गरिएको थियो। यो भन्दाअघि पनि अखिल क्रान्तिकारी र नेविसंघको दबाबमा विद्यार्थी कल्याणको निर्वाचन स्थगित भएको थियो। तोकिएको समयमा निर्वाचन स्थगित भएसँगै अनेरास्ववियु समर्थित विद्यार्थीहरूले केयूको केन्द्रीय कार्यालय माघ ९ गतेदेखि बन्द गराएका हुन्। विद्यार्थीको निर्वाचनको विषयमा धेरै विवाद भएपछि विद्यार्थी कल्याणका निर्देशक डा. दीपकप्रसाद सुवेदीले निर्देशक पदबाट राजीनामा दिएको बताइएको छ।

केयू ऐनले विद्यार्थी कल्याणलाई मान्यता दिएको छैन।
प्रत्येक कक्षाबाट छनोट भएर आएका विद्यार्थीहरूले विद्यार्थी कल्याणको नेतृत्व चयन गर्ने प्रावधान छ। यो निर्वाचनमा अनेरास्ववियु समर्थित नेतृत्व विजयी हुने पूर्वानुमानअनुसार नै निर्वाचन स्थगित गरिएको स्रोतको दाबी छ। लामो समयदेखि केयू बन्द भएसँगै केन्द्रीय परिसरमा अध्ययन हुने स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्सका विद्यार्थी प्रभावित हुने बताइएको छ। यो बन्दले केन्द्रीय परिसरमै रहेको स्कुल अफ मेडिकल साइन्सेज र स्कुल अफ ल भने प्रभावित भएका छैनन्। केयूको स्कुल अफ मेनेजमेन्ट र स्कुल अफ एजुकेसनअन्तर्गतको अध्ययन ग्वार्कोको बालकुमारीमा रहेको छ भने स्कुल अफ आर्ट हात्तीवनमा रहेको छ।

पछिल्लो समय केयूमा दुई प्रकारको विवाद सतहमा आएको छ। एउटा विवाद माकजूलाई उपकुलपति बनाउन हुन्थ्यो र हुँदैनथ्यो भन्ने छ भने अर्को विद्यार्थी कल्याणको निर्वाचन गर्ने कि नगर्ने भन्ने छ। प्रा. माकजूलाई प्रधानमन्त्रीले पुनः उपकुलपतिमा नियुक्ति गरेपछि डीन, प्रशासन प्रमुखसहित एउटा उच्च समूहले असन्तुष्टि व्यक्त गरिरहेको छ। उनीहरूले उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट समिति नै अवैधानिक भएकाले पुनः सर्च कमिटी गठन गरी उपकुलपति छनोट गर्नुपर्ने बताउँदै आएका थिए।

उपकुलपति नियुक्ति गर्नुपूर्व पनि यो समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर मंसिर २६ गते नियुक्ति हुने उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित सर्च कमिटीको वैधानिकता सकिएको भन्दै अर्को सर्च कमिटी गठन गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री प्रचण्डले माघ ६ गते माकजूलाई पुनः उपकुलपतिमा नियुक्ति गरेर पठाउनुभएको थियो। प्रधानमन्त्रीले समेत आफ्नो कुरा नसुनेको भन्दै उनीहरूले उपकुलपति माकजूलाई सहयोग गरेका छैनन्।

केयूमा जुँगाको लडाइँका कारण पनि वातावरण असहज बनिरहेको एक प्राध्यापकले बताएका छन्। उपकुलपति माकजूले म फेरि आएको छु पहिलाको कमिकमजोरी सच्याउँदै अघि बढ्छु तपाईंहरूले सहयोग गर्नुपर्यो भनेका छैनन् भने माकाजूलाई उपकुलपति बनाउन हुँदैन भन्ने डीन तथा प्राध्यापकहरूले पनि तपाईं फेरि आउनुभयो कमिकमजोरी हटाएर सँगै मिलेर काम गरौं भनेर स्वागत गरेका छैनन्। पछिल्लो समय कतिपय प्राध्यापकहरूले स्कुल अफ मेडिकल साइन्सेजलाई छुट्टै प्रतिष्ठान बनाउनुपर्ने र बाँकी रहेको स्कुलहरू केयू मातहतमा राख्नुपर्ने पनि बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्