सपना हलिउडको



रश्मी थापा
बाल्यकालदेखि नै अभिनय भनेपछि भुतुक्कै हुने मनोज आरसी यो क्षेत्रमा जम्नकै लागि जाजरकोटबाट काठमाडौं हानिए र काठमाडौं प्रवेश गरेलगत्तै उनको सपना पनि पूरा भयो। फिल्म र म्युजिक भिडियोमा नकरात्मकदेखि सकरात्मक भूमिकासम्म निर्वाह गरेर लोकप्रियता कमाइसकेपछि उनको सपना पनि फेरिएको छ। अबको उनको सपना छ हलिउड फिल्ममा काम गर्ने।

‘जाजरकोटको केटो एक्टिङ गर्ने सपना देखेर काठमाडौं छिर्यो र त्यो सपना पनि पूरा भयो। सपना देखेको थिएँ र त पूरा भयो। सपना देखेपछि पूरा हुँदोरहेछ’ नेपाल समाचारपत्रसँग कुरा गर्दै मनोजले भने– ‘त्यसैले अबको मेरो सपना भनेको हलिउड फिल्ममा काम गर्ने हो। पूरा हुन्छ या हुन्न त्यो बेग्लै कुरा हो।’ केहीअघि फिल्म झुम्कीको प्रमोसनका लागि अमेरिका पुगेका मनोजले त्यहाँ फिल्मसम्बन्धी विभिन्न कार्यक्रम भइरहेको देख्दा आफू पनि हलिउडप्रति आकर्षित भएको खुलाए। ‘त्यो देखेर नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लानुपर्ने मैले महशुस गरेँ। म नेपाली एक्टर भएकाले त्यहाँ काम गर्न सक्छु कि सक्दिन भन्ने पनि लाग्यो।

त्यतिबेला फिल्म फेस्टिवल चलिरहेको समय भएकाले २५ दिनको बसाइमा हलिउडका विभिन्न डाइरेक्टर र प्रोड्युसरहरूसँग अट्याचमेन्ट भयो। त्यसले ममा पनि हलिउड फिल्म खेल्न सोच पलायो’ मनोजले सुनाए– ‘हलिउड एक्टर तथा वल्र्डवाइड डिस्ट्रिब्युटर रेनेटो रोनाटोसँग फिल्म झुम्कीको बारेमा निकै कुरा पनि भयो। उनले यसको स्टोरी मन पराए। म नेपाल फर्केपछि उनले यही फिल्म लिएर फेरि आउनु भनेकाले मैले अभिनय गरेको झुम्की लिएर फेरि अमेरिका जाँदै छु।

सम्भव भएसम्म हलिउडमा प्रवेश गरी अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्ने सपना छ।’ झुम्कीमा उनले पुलिस अफिसरको भूमिका निर्वाह गरेका थिए।‘पर्दामा रियल पुलिस देखिन सुटिङपहिले नै मैले पुलिसका नियम र काइदाहरू सिकेको थिएँ। केही समय सिन्धुपालचोकको तातोपानीस्थित प्रहरी कार्यालय गएर प्रहरीको काम गर्ने तौरतरिका, सिनियरलाई गर्ने व्यवहार, सलाम गर्ने, उठ्नेबस्ने तरिका आदिको अवलोकन गर्दै सिकेको थिएँ। जसले गर्दा मलाई झुम्कीमा राम्रोसँग आफ्नो भूमिकालाई प्रस्तुत गर्न मद्दत मिल्यो’ –मनोज भन्छन् ‘कुनै पनि नयाँ भूमिकामा आफूलाई प्रस्तुत गर्नूअघि राम्रोसँग तयारी गरेमात्र पात्रलाई न्याय दिन सकिन्छ भन्ने मेरो मान्यता हो।’

जाजरकोटबाट काठमाडौं आएको २ वर्ष बित्दा नबित्दै मनोजले सन् २००० मा नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको जीवनगाथामा निर्माण भएको फिल्म वीर गणेशमानमा काम गर्ने मौका पाए। त्यो मौकालाई चौकाको रूप दिँदै उनले त्यसमा शहीद गंगालाल श्रेष्ठको भूमिकामा दमदार अभिनय गरेर देखाइदिए। ‘पहिलो पाइलामै शहीदको कथामा बनेको ऐतिहासिक फिल्ममा काम गर्न पाउँदा निकै खुसी लागेको थियो’ उनले भने– ‘त्यो खुसीलाई चुनौतिका रूपमा स्वीकार्दै सक्दो प्रयास पनि गरें र प्रशंसा पनि पाएँ।’ काठमाडौं पसेको दुई वर्षमै दुई फिल्ममा पाएको अभिनयको अवसरमा अब्बल ठहरिएपछि मनोजले फेरि पछाडि फर्केर हेर्नुपरेन। ‘सानैदेखि फिल्म हेर्ने र त्यसको पात्रहरूसँग आफूलाई राखेर हेर्ने गर्थें। राजेश हमालको एक्टिङ हेर्दा त्यस्तै अभिनय गर्न पाए हुन्थ्योजस्तो लाग्थ्यो। पछि फिल्ममा आएपछि आफ्नै प्रकारको एक्टिङ गर्न थालें। रोल पनि त्यस्तै पाएँ’ अफबिटका फिल्म र भूमिकामा रमाउने उनले भने ‘मनोज पण्डीतद्वारा निर्देशित फिल्म लक्ष्यमा एकतर्फी मायामा परेको प्रेमीको मुख्य भूमिका गरेँ। टिनएजको लभ स्टोरीमा बनेको फिल्ममा नायकको भूमिकामा काम गर्न पाउँदा म किनै उत्साहित थिएँ। त्यतिबेलाजस्तो खालको सिनेमा चल्थ्यो त्योभन्दा फरक धारको फिल्म थियो लक्ष्य।’ लक्ष्यमा उनले गरेको अभिनयलाई समिक्षकहरूले मन पराएका थिए। महान् फिल्म निर्देशक स्व बीएस थापाले त अर्का फिल्म निर्देशक यादव खरेलसँग ‘मनोज एउटा नयाँ कलाकार भएर पनि निकै राम्रो अभिनय गरेको छ, ऊ फिल्मको पात्रबाट कतै पनि चुकेको छैनसम्म भनेका रहेछन्। सो फिल्म राष्ट्रिय चलचित्र पुरस्कारको नोमिनेसनमा परेको थियो, पछि विभिन्न विवादका कारण फिल्म नोमिनेसनबाट हटेको थियो। सो अवार्डमा यादव खरेल, वीएस थापालगायत जुरी मेम्बरमा थिए।

लक्ष्यपछि भने मनोजको अभिनय यात्रा केही समयका लागि रोकिन पुग्यो। ‘म नेपालको मिचिएको सिमानासम्बन्धी डकुमेन्ट्री ग्रेटर नेपाल (सिमानाको खोजी) निर्माण र सह निर्देशनका लागि व्यस्त भएँ। देशभक्ति, त्याग र बलिदानको विषयमा आधारित डकुमेन्ट्रिले राष्ट्रिय चलचित्र पुरस्कार पनि जित्न सफल भएको थियो’ सफलताको कथा सेयर गर्दै थिए मनोज ‘सन् २०१३ मा सि माला (द नेकलेस) भन्ने फिल्ममा मैले लिड रोलमै अभिनय गर्न पाएँ। जुन फिल्म चाइना, जापान र हङकङमा प्रदर्शन गरियो र निकै राम्रो तारिफ पनि बटुल्यो।’

जुनसुकै भूमिकाको अभिनयका लागि अब्बल मानिने उनले सुदर्शन थापा निर्देशित फिल्म मधुमासमा भने खलनायकको भूमिका निर्वाह गरे। त्यसबाट उनले नेपाल समाचारपत्रको सहप्रकाशन कामनाले आयोजना गरेको पहिलो फिल्म अवार्ड कामना फिल्म अवार्डस् २०७१ मा आफ्नो विधाका लागि ब्ल्याक ब्युटी ट्रफी चुमे। ‘मधुमास मेरो अरु फिल्मभन्दा फरक थियो। मैले गरेका प्रायः फिल्महरू मौलिक धारका थिए। तर यो फिल्म अलि फरक शैलीको थियो। जसमा मैले खलनयकको भूमिका निभाएको थिएँ। सामान्य जीवनभन्दा अलिकति माथि उठेको पात्रको भूमिका थियो। यही फिल्मबाट कामना फिल्म अवार्डस्मा बेस्ट रोल इन नेगेटिभ रोल विधाको अवार्ड जित्न सफल भएको थिएँ’– उनले उत्साहित हुँदै भने।

मधुमासमा मनोजले गरेको काम कति प्रभावकारी भएछ भने त्यसको ट्रेलर हेरैकै आधारमा निर्देशक सुरेन्द्र पुनले आफ्नो फिल्मका लागि काम गर्न उनलाई अफर गरेछन्। ‘ट्रेलरमा मेरो काम हेरेर उहाँले मलाई हम जायगामा खेल्न अफर गर्नुभयो। त्यो एउटा कमेडी फिल्म थियो’ –उनले भने। सो फिल्मबाट उनी सातौं नेफ्टा अवार्ड, छैठौं डी सिनेमा अवार्ड र एनएफडीसी अवार्डमा सर्वोत्कृष्ट खलनायक विधाको मनोनयनमा परेका थिए।

३४ वर्षीय यी बहुप्रतिभाशाली कलाकारले पछिल्लो समय मिथ्या नामक फिल्ममा अभिनय गरेका छन्। जसमा उनी शीर्षभूमिकामा छन्। मिथ्यामा आफूले निकै मेहनत गरेको र यस फिल्मबाट निकै राम्रो अपेक्षा गरेको उनले बताए। उनले कलाकारीतामा आउनुपूर्व सम्पूर्ण तयारीसमेत गरेको बताए। ‘एउटा एक्टर हुनका लागि चाहिने सम्पूर्ण कुराहरू जस्तै स्विमिङ, हर्स राइडिङ, मार्सल आर्ट आदिमा मैले पहिलेदेखि नै प्राक्टिस गर्दै आएको छु। शान्ता नेपालीसँग डान्स क्लास गरँे भने सुनिल पोखरेलसँग ६ महिनाको एक्टिङ कोर्स गरेँ। एउटा राम्रो एक्टर बन्नको लागि डाइरेक्टरको प्वइन्ट अफ भ्युलाई पनि बुझ्नुपर्छ भन्ने लागेर डाइरेक्सनको पनि कोर्स गरेँ। सजिलो तरिकाले क्यामेरा स्क्रिप्ट र पात्र बुभ्mनका लागि त्यसले मलाई अझै हेल्प गरेको छु उनले सुनाए।

जीवनको नजिक पुगेर काम गरौँ भन्ने भावनका कारण अफ बिटका सिनेमाहरूमा काम गरेको बताउने उनी भन्छन् ‘पर्फमेन्स भनेको जीवनसँग जोडिएको हुनुपर्छ र पात्रहरू भनेको मौलिकतामा आधारित तथा वास्तविकतामा नजिक रहेर काम गर्दा मात्र एक्टिङको आनन्द लिन सकिन्छ। त्यस्तो फिल्ममा काम गरेको फिल हुने भएकाले मैले अफबिटका सिनेमाहरूमा बढी काम गरेको छु उनी भन्छन् ‘मेरो रगतमा एक्टिङ मात्र छ र एक्टिङ गर्दा मात्र म आफू मानव भएको अनुभव गर्छु फिल्म मात्र होइन, उनले हेमन्त राणाको पापपुण्य, हेमन्त शर्माको बदनाम, उदितनारायण झाको रूपौली रानीलगायतका एक दर्जन गीतका म्युजिक भिडियोमा पनि दमदार अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्