नेपाली फिल्मको बजार ८० प्रतिशत?



 

हेटौंडा, (नेस) हिन्दी फिल्मको प्रदर्शनबाट शुरू भएको नेपालको फिल्म व्यवसाय क्षेत्रमा हाल करिब ८० प्रतिशत बजार नेपाली फिल्मले ओगटेको भन्दै चलचित्र व्यवसायीले खुसी व्यक्त गरेका छन्। २०१३ सालमा स्थापित फिल्म व्यवसायीको छाता संगठन नेपाल चलचित्र संघको प्रयासले सार्थक रूप लिँदा यो सफलता मिलेको व्यवसायीहरूले दाबी गरेका छन्।
नेपालको पुरानो संस्था भएको वा यसको सक्रियताका कारण फिल्म क्षेत्रलाई सर्वोपरि मान्दै चलचित्र संघले अभिभावकत्व ग्रहण गरेर बसेको तथा संस्थाको क्रियाशीलता र उत्तरदायित्वपूर्ण कार्यका कारण फिल्म क्षेत्रमा करियर बनाउन चाहनेका लागि संस्थाले ऊर्जा प्रदान गर्दै आएको हालै हेटौंडामा सम्पन्न ४४औं साधारणसभामा चर्चा गरिएको थियो।

‘चलचित्र व्यवसायलाई उद्योगका रूपमा स्थापित गर्न सम्बन्धित बितरक र प्रदर्शकबाहेक पनि नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ र नेपाल चलचित्र प्राविधिक संघलगायतका संघसंस्थाको विकासले मात्र चलचित्रलाई उद्योगका रूपमा स्थापित गर्न सकिन्छ, संघका अध्यक्ष नकिम उद्दिनले भने– ‘सबै क्षेत्रलाई एकै ठाउँमा हेर्यौं भने यस क्षेत्रअन्तर्गत अरबौं लगानी भएको छ र हजारौंले रोजगारी पाएका छन्।’ उनको भनाइ छ ‘हिन्दी चलचित्रबाट शुरू भएको यो क्षेत्र वर्तमान अवस्थामा दक्ष जनशक्ति र आधुनिक प्रविधिको विकाससँगै नेपाली चलचित्रको स्तरोन्नति भएबाट ८० प्रतिशतभन्दा बढी चलचित्र बजार नेपाली चलचित्रले ओगट्न सफल भएको छ।’ उनको सुझाव पनि छ ‘यदाकदा देखिने अस्वस्थ्य प्रतिस्पर्धाबाट चलचित्रको गुणस्तरीयता खस्कन दिनुहुँदैन।’

हाल देशमा राजनीतिक पार्टीहरूको सत्तालिप्सा र सुझबुझको अभावमा राजनीतिक अस्थिरताको डरलाग्दो तस्वीर खडा भएको चर्चा गर्दै अध्यक्ष उद्दिनले अस्थिरता र अराजकताका कारण यस क्षेत्रमा देखिएको त्रासले लगानी डुब्ने र हजारौं बेरोजगार हुनेतर्फ ध्यान दिन आग्रह गरे। ‘नेपालको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा प्राकृतिक सुन्दरताको महत्त्व पहिचान गरी विदेशी चलचित्र निर्माणस्थलको चलचित्र नगरीका रूपमा विकास गरी नेपाललाई विश्व समुदायसमक्ष पहिचान गराए देशको पर्यटन उद्योगलाई टेवा पुग्न जानेछ,’ उनले भने ‘२१औं शताब्दीमा प्रविधिको चरम उपयोग गरी चलचित्रलाई उद्योगका रूपमा स्थापित गर्नुपर्छ।’

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले भने देशभरका सिनेमा हल परिमार्जन हुनुपर्ने बताए। अध्यक्ष राईले नेपाली फिल्लाई पूर्णरूपमा व्यावसायिक बनाउन सिनेमा हललाई परिमार्जन गर्दै आधुनिक बनाउनु आवश्यक रहेको चर्चा गरे। देशका विभिन्न स्थानमा पुराना सिनेमा हलमा चलचित्र प्रदर्शन गर्दा दर्शकको रुचिमा कमी आएको दाबी गर्दै उनले नयाँ किसिमका सिनेमा हल निर्माण गर्दै फिल्मलाई उद्योगका रूपमा अघि बढाउनुपर्ने बतए। ‘डिजिटल पद्दतिबाट बक्स अफिसतर्फ उन्मुख हुनु आजको आवश्यकता हो। विश्वमा फिल्मक्षेत्र विकासले दिनानुदिन फड्को मारिरहँदा नेपाली चलचित्र कम रुचाइनु बिडम्बना भएको छ’, उनले भने– ‘मनोरञ्जनसँगै देशको संस्कृति, संस्कार र परम्परालाई बचाउन चलचित्रले मद्दत गर्छ।’

संघका महासचिव मधुसूदन प्रधानले संघमा आर्थिक वर्ष २०७२⁄०७३ मा मुलुकभर १ सय २६ चलचित्र दर्ता भएको जानकारी गराएका छन्। तीमध्ये हिन्दी फिल्म ४४, अंग्रेजी ३०, भोजपुरी एक र नेपाली फिल्म ५१ रहेको उनले बताए। संघमा दर्ता हुन आएका ५१ नेपाली फिल्ममध्ये २० चलचित्र देशभरका लागि दर्ता भएको र उपत्यकाका लागि ३१ मात्र दर्ता हुन आएको उनको भनाइ छ।

संघका नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार उदयले वर्तमान अवस्थामा नेपाली फिल्म उद्योगको अवस्थाबाट केही आशावादी भएको बताए। ‘चलचित्र व्यवसायले सबै चलचित्रकर्मीमा उत्साह दिने भएकाले राम्राभन्दा राम्रा चलचित्र बन्नुपर्छ, राम्राभन्दा राम्रा चलचित्र भवन हुनुपर्छ र दर्शकको आकर्षण थपिँदै जानुपर्छ’ उनको भनाइ छ। उनले फिल्ममा मौलिकताको मुद्दा एकातिर र व्यावसायिकताको मुद्दाबारे अर्कोतिर प्रश्न उब्जने गरेको भन्दै नेपाली फिल्म उद्योगका समस्यामा विविधता रहेको औंल्याए। त्यसै गरी संघका उपत्यका सभापति गोपालकाजी कायस्थले विदेशीको मुख ताकेर नभइ आफ्नै भूमिमा राम्रा फिल्म उमार्ने प्रयासका लागि मेहनत गर्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्