मोहन दुवाल
पालभाषा साहित्यमा सिद्धिदास अमात्य महान् साहित्यकार तथा महाकविका रुपमा प्रख्यात छन् । नेपालभाषा साहित्यलाई उच्च स्थानमा पुर्याउने कार्यमा यिनले गरेका योगदानहरू उल्लेखनीय छन् । वि.सं. १९२४ असोज १ गते माता हर्षलक्ष्मी र पिता लक्ष्मीनारायण अमात्यका छोराका रुपमा सिद्धिदासको जन्म केलटोलमा भएको हो । पुख्र्यौली घर भक्तपुर क्वाछेँटोलबाट यिनका बाजे रामनारायण केलटोलमा बस्न थालेपछि यिनी केलटोलमा जन्मे र हुर्के । यिनका बाबु लक्ष्मीनारायणले नै यिनलाई ५ वर्षको उमेरमा अक्षराम्भ गराएको देखिन्छ ।

सिद्धिदासले विद्या अभ्यासमा आफ्नो आत्मकथामा यसरी लेखेका छन्– ‘नमोवागीदेखि एक–एक अक्षर गरी खरीले लेखेर सिकाए । त्यो सिकाएको अक्षर चाँडै चिनेँ । घरैमा बसेर अक्षर लेखेँ । धुलौटे पाटीमा अक्षर लेख्दा मेरो मन सधैँ रमाउँथ्यो, किनकि मलाई त्यसैमा अक्षर चिनाउँदथे र म ती सबै अक्षर चिन्दथेँ । मैले अक्षर चिनिसकेँ, एक–एक गरी सबै जानिसकेपछि मलाई चाणक्य–नीति पढाइयो ।’

घरैमा आफ्नै बुबाबाट दीक्षित हुँदै आएका यिनी पछि त्यही टोलमा बस्ने लक्ष्मीनाथ पण्डितको घरमा पढ्न गएको देखिन्छ । यसै गरी यिनी २१ वर्षको उमेरसम्ममा भारस्वती, पञ्चाङ्ग गणित, चिन्तामणि ज्योतिष पढेर पछि रत्मान नायब मुखियाको अड्डा थापाथली नगदी तहविलमा अक्षर लेख्न गएको पाइन्छ ।
१६ वर्षको उमेरमा यिनी कलकत्ताबाट फर्केर थापाथलीमा सिपाहीमा भर्ती भई जागिर खाए र राणा घरवारभित्रको झैझगडा र चलखेलले गर्दा यिनी सिपाहीमा टिकिरहन सकेनन् अर्थात् केही महिनापछि नै सेवाबाट बर्खास्त भएको देखिन्छ । त्यसपछि बुबा लक्ष्मीनारायणले केलटोलकै कपडापसलमा यिनलाई राखे । यसै समयताका यिनले घरबुना लुगा बुन्ने, धागो बुन्ने कल बनाउने काममा पनि लागे । निकै परिश्रमी र जे काम पनि सिक्न खोज्ने यिनको बानी थियो । कपडा कलकत्ताबाट ल्याउने यिनीहरूको व्यापारिक सम्बन्ध रहेकोले वि.सं. १९५७ देखि १९६३ सम्ममा यिनी करिब ७ वर्षसम्म कलकता आउने–जाने गरिरहे ।

स्वास्थ्यस्थितिले साथ नदिएको कारणले यिनी पछि कलकत्ता जान छोडे । अध्ययनशील सिद्धिदास खराब काममा सानै छँदादेखि लागेनन् । खराब सङ्गतमा लागेर खेलबाड गर्ने, जात्रामात्राको हुलमा जाने, तमाखु–चुरोट खाने बानी यिनको कहिल्यै बसेन । सुखसागर, रामायण, हितोपदेश, चिन्तामणि ज्योतिषसारको अध्ययन गरेर यिनले आफूलाई परिमार्जित मात्र तुल्याएनन्, अध्ययनबाट आफूलाई खार्न लगाएर थुप्रै ज्ञानका पुस्तकहरू कलकत्ताबाट झिकाएर पनि यिनले अध्ययन गरे ।

निकै अध्ययनशील सिद्धिदास भारतबाट समेत पुस्तक, पत्र–पत्रिका झिकाएर पढ्ने, एकसुरमा पढेर मात्र बस्ने बानीले यिनले भाषा–साहित्यमा आफ्नो दख्खल बनाउँदै लगे । काठमाडौंको मखनटोलमा रहेको पुस्तक पसलमा दिनको एकचोटि पुग्ने र मन परेका पुस्तक किनेर पढ्ने यिनको बानी बस्यो । यसरी अध्ययन गर्ने बानीले गर्दा भाषा–साहित्यप्रति यिनको मोह बढ्दै गयो । त्यसताका निकै चर्चामा रहेको ‘प्रेमसागर’ पुस्तक मछीन्द्रबहालका मित्र मोतिलालसँग मिलेर अनुवाद गर्न खोजे । १ वर्ष लगाएर प्रेमसागरको पुस्तक अनुवाद गरे पनि । यसैताका चक्रपाणि चालिसेसँग यिनको चिनाजानी भयो । चक्रपाणीले श्लोक लेखाउन सिकाएपछि यिनमा पनि काव्य लेख्ने साहस बढेको देखिन्छ । भानुभक्तको रामायणले यिनलाई थप प्रेरणा थपिदियो । वि.सं. १९६४ तिर उनले पनि सिद्धिरामायण लेखी सिध्याए । श्लोक बनाउन जानेपछि छन्दमा लेख्न सिके । सर्वप्रथम आफ्नो मौलिक कृतिका रुपमा ‘सत्यसती’ नामको काव्य लेखी सिध्याए ।

अध्ययनशील सिद्धिदास अमात्य आधुनिक नेपालभाषा साहित्यका आदिकविका रुपमा पनि प्रख्यात छन् । केही कविताहरू यिनले नेपालीमा पनि लेखेका छन् । उनका कविताहरू ‘सुन्दरी’ पत्रिकामा वि.सं. १९६३ मा नै प्रकाशित छन् । यिनी ६३ वर्षसम्म बाँचे अर्थात् यिनको अवसान वि.सं. १९८७ मा भएको देखिन्छ । संस्कृत भाषामा पनि दख्खल रहेका यिनी ज्योतिषशास्त्रमा पनि पारङ्गत थिए ।

तर पनि यिनले निःस्थार्थभावले भाषाप्रति गरेको सेवाभाव, साहित्यिक सिर्जना ऐतिहासिक रहनुका साथै अत्यन्त आदर गर्नलायकका छन् । यिनका प्रकाशित कृतिहरूबारे आफ्नो आत्मकथामा यसरी अगाडि लेखेका छन्– ‘बनारसबाट सुन्दरी पत्रिका ल्याइपुर्याएका थिए । मैले नजानी नजानी सिलोक बनाएर चक्रपाणी बाजेलाई देखाउँदै बनारस पठाइरहेँ । त्यस बेला कोठामा एउटा धुलौटो र खरी पनि राखिछोडेको थिएँ तर मैले सलाई खोज्दा भेट्टाइनँ । अँध्यारोमै राखेको ठाउँबाट खरी लिएर धुलौटोमा त्यो पद लेखेंछु, त्यो लेखेपछि निन्द्रा लागेकोले फेरि सुतेछु, बिहान जागा भई हेर्दा बनिया कन्हैया मौर नन्दलाल भनेर लेखेको रहेछु ।

त्यही कुरा चक्रपाणीलाई सुनाउँदा राम्रो कुरा रहेछ भनेर उनले श्लोक बनाउन सिकाउँदा ममा साहस आयो । ती बाजेले भनेको श्लोक नै बनाउँछु भनेर अभ्यास गर्ने हो भनी १९६३ साल आषाढ बदी ११ रोजमा भानुभक्तले बनाएको रामायण एउटा किनेर ल्याएँ । त्यो पढेर दिनदिनै एक–दुई श्लोक बनाउने बानी गरेँ ।’
यसरी चक्रपाणी कविको निर्देशनमा, भानुभक्तको रामायण पढेर यिनले श्लोक लेख्न शुरु गरेको पुस्ट्याइँ हुन्छ । परिश्रमी सिद्धिदासले अध्ययनमा निकै समय दिए । पुस्तक पढ्न पाएपछि दङ्ग पर्ने यिनी भारतबाट पनि पत्रपत्रिका मगाएर पढ्न पाउँदा खुशी हुने गर्थे । यिनले आत्मकथामा लेखेका छन्– ‘मैले पहिले लेखी राखिछाडेको प्रेमसागरमा भाखा श्रीकृष्णचरित्र पनि अब त सिध्याउनै पर्यो भनेर १९६४ साल पुग्दा त्यसमा पनि ९० अध्याय पुर्याएर लेखिसिध्याएँ ।

अनि त्यसैलाई ‘सिद्धिरामायण’ नाम राखेँ ।’ यसरी कठिन परिश्रममा कविता लेख्दै आएका सिद्धिदासले छन्दमा पछि राम्ररी श्लोक लेख्न सिके । अनि यिनको समर्पण र सिर्जना काव्य विधामा निरन्तर हुन थालेको देखिन्छ । ‘सत्यसती’ खण्डकाव्यपछि ‘सज्जन कथा भरन’, त्यसपछि ‘सन्त्र ऋण’, ‘सरल श्रुतबोध’, ‘शारदा भजन’, ‘सुख–दुःख’, ‘संगदोष’, यी माथि उल्लेख भएका सबैजसो काव्यकृतिहरू वि.सं. १९७२ सालसम्ममा लेखेका हुन् । १९७२ मा नै ‘साधारण धर्म’, ‘सर्वभक्ति’, ‘सदोलीला’, काव्यिक भाषामा विभिन्न नैतिक ज्ञानका पुस्तकहरू लेखेर आफूलाई सर्वज्ञानले सम्पन्न लेखकका रुपमा चिनाउन प्रयास गरेको पाइन्छ । वि.सं. १९७३ पुस १० मा यिनले ‘सज्जन हृदयाभरण’ पुस्तक लेखी सिध्याए । ‘सतनीति’, ‘सप्तविवाद’ पछि ‘संवाद’ (सकतां श्लोक) लेखेको कुरा यिनले लेखेका छन् । १९७५ र १९७६ मा ‘साधारण धर्म’, ‘सल्हा साहुति’, ‘संग सुमन’, ‘स्वंगुगुण’ आदि पुस्तकहरू सिद्धिदास ५२ वर्ष ८ महिना पुग्दासम्ममा लेखिएका हुन् ।

त्यसताकाका सिद्धिदास साथीभाइहरूमाझ निकै अध्ययनशील व्यक्तिका रुपमा सुपरिचित भएको सन्दर्भहरू धेरैले उल्लेख गरेका छन् । अङ्ग्रेजी, संस्कृत, हिन्दी, नेपाली, नेपालभाषाका पनि ज्ञाता सिद्धिदासले नेपालभाषा साहित्य र भाषामा आफूलाई समर्पित तुल्याएर आधुनिक साहित्य सिर्जना गर्ने महान् कार्य गरेर नेपालभाषा साहित्यको ढुकुटी भरिदिने महत्वपूर्ण कार्य–कर्म गरेको देखिन्छ । त्यसैले भन्न सकिन्छ– सिद्धिदास अमात्य नेपालभाषा साहित्यका महान् आधुनिक आदिकवि हुन् । यिनी त्यस युगका प्रतिनिधि महाकवि हुन् ।

LEAVE A REPLY