केयू दुईसाता देखि बन्द



रामकृष्ण चापागाई
काठमाडौं
विद्यार्थिको चुनावको विषयलाई लिएर काठमाडौं विश्वविद्यालय दुई साता देखि बन्द रहेको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन भने जस्तै केयूमा ‘विद्यर्थि कल्याण’ को निर्वाचन स्थगित गरेको भन्दै नेकपा एमाले समर्थित अनेरास्ववियूमा आवद्ध विद्यार्थिहरुले विश्वविद्यालय बन्द गराएका हुन् ।

विद्यार्थिले गराएको बन्दलाई केयूका केहि डिन, प्राध्यापक र प्रशासनका उच्च अधिकारीले समेत समर्थन गरेको बताइएको छ । लामो समयदेखि केयू बन्द भए संगै उपकुलपतिमा पुनः नियुक्त हुनुभएका प्रा डा. रामकण्ड माकजू श्रेष्ठ अप्ठेरोमा पर्नुभएको छ ।

उपकुलपति माकजूको निर्देशन अनुसार प्रशासनले निर्वाचन स्थगित गरेको भन्दै विद्यार्थिहरुले विरोध गरेका छन् । उपकुलपति भएको पर्सिपल्ट माघ ८ गते निर्वाचन तोकिएको थियो । यो भन्दा अघि पनि अखिल क्रान्तिकारी र नेविसंघको दबाबमा विद्यार्थि कल्याणको निर्वाचन स्थगित भएको थियो ।

तोकिएको समयमा निर्वाचन स्थगित भएसंगै अनेरास्ववियू समर्थित विद्यार्थिहरुले केयूको केन्द्रिय कार्यालय माघ ९ गते देखि बन्द गराएका हुन । विद्यार्थिको निर्वाचनको विषयमा धेरै विवाद भएपछि विद्यार्थि कल्याणका निर्देशक डा. दिपक प्रसाद सुवेदीले निर्देशक पदबाट राजिनामा दिएको बताइएको छ । केयू ऐनले विद्यार्थि कल्याणलाई मान्यता दिएको छैन ।
प्रत्येक कक्षाबाट छनौट भएर आएका विद्यार्थिहरुले विद्यार्थि कल्याणको नेतृत्व चयन गर्ने प्रावधान छ ।

यो निर्वाचनमा अनेरास्ववियू समर्थित नेतृत्व विजयी हुने पुर्वअनुमान अनुसार नै निर्वाचन स्थगित गरिएको स्रोतको दाबी छ । लामो समयदेखि केयू बन्द भए संगै केन्द्रिय परिसरमा अध्ययन हुने स्कुल अफ इञ्जिनियरिङ र स्कुल अफ साईन्सका विद्यार्थि प्रभावित हुने बताइएको छ । यो बन्दले केन्द्रिय परिसरमै रहेको स्कुल अफ मेडिकल साईनसेज र स्कुल अफ ल भने प्रभावित भएको छैन । केयूको स्कुल अफ मेनेजमेन्ट र स्कुल अफ एजुकेशन अन्तरगतको अध्ययन ग्वार्कोको बालकुमारीमा रहेको छ भने स्कुलअफ आर्ट हात्तिवनमा रहेको छ ।

पछिल्लो समय केयूमा दुई प्रकारको विवाद सतहमा आएको छ । एउटा विवाद माकजूलाई उपकुलपति बनाउन हुन्थो र हुदैनथ्यो भन्ने छ भने अर्को विद्यार्थि कल्याणको निर्वाचन गर्ने की नगर्ने भन्ने छ । प्रा माकजुलाई प्रधानमन्त्रीले पुन उपकुलपतिमा नियुक्ति गरेपछि डिन, प्रशासन प्रमुख सहित एउटा उच्च समुहले असन्तुष्टि व्यक्त गरिरहेको छ । उनिहरुले उपकुलपतिको नाम सिफारिस गर्न गठित छनौट समितिनै अवैधानिक भएकोले पुनः सर्च कमिटि गठन गरि उपकुलपति छनौट गर्नुपर्ने बताउदै आएका थिए ।

उपकुलपति नियुत्ति गर्नुपुर्व पनि यो समुहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मंसिर २६ गते नियुक्ति हुने उपकुलपतिको लागि नाम सिफारिस गर्न गठित सर्च कमिटिको वैधानिकता सकिएको भन्दै अर्को सर्च कमिटि गठन गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री प्रचण्डले माघ ६ गते माकजूलाई पुन उपकुलपतिमा नियुक्ति गरेर पठाउनु भएको थियो । प्रधानमन्त्रीले समेत आफ्नो कुरा नसुनेको भन्दै उनिहरुले उपकुलपति माकजूलाई सहयोग गरेका छैनन् ।

केयूमा जुगाको लडाईका कारण पनि वातावरण असहज बनिरहेको एक प्राध्यापकले बताएका छन् । उपकुलपति माकजूले म फेरी आएको छु पहिलाको कमिकमजोरी सच्चाउदै अघि बढ्छु तपाईहरुले सहयोग गर्नुप¥यो भनेका छैनन भने माकाजूलाई उपकुलपति बनाउन हुदैन भन्ने डिन तथा प्राध्यापकहरुले पनि तपाई फेरी आउनु भयो कमिकमजोरी हटाएर संगै मिलेर काम गरौ भनेर स्वागत गरेका छैनन । पछिल्लो समय कतिपय प्राध्यापकहरुले स्कुल अफ मेडिकल साईन्सेजलाई छुट्टै प्रतिष्ठान बनाउनु पर्ने र बाकि रहेको स्कुलहरु केयू मातहतमा राख्नुपर्ने पनि बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्