पर्वतको चुवामा नयाँ गुफा भेटियो



फलेवास (पर्वत), २१ माघ । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१२ चुवामा हालै नयाँ गुफा फेला परेको छ । चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ ।

बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीयवासी मुगा पोखरेलले बताउनुभयो । झन्डै ३०० मिटर लामो उक्त गुफाभित्र विभिन्न देवीदेवताका आकृति, बगेको पानी र अन्य मनमोहक दृश्य देखिएपछि गुफा संरक्षणका लागि स्थानीय विष्णु पोखरेलको अध्यक्षतामा लालेश्वर गुफा संरक्षण समिति गठन गरिएको छ ।

स्थानीयवासीले हालै श्रमदान गरेर गुफाको भित्री भाग र बाहिरी भागसमेत सरसफाइ गरेका छन् । अहिले गुफासम्म जाने गोरेटो बाटोसमेत निर्माण गरिसकिएको स्थानीयवासी खिमलाल पोखरेलले जानकारी दिनुभयो ।

गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्न सकेमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । पोखरा–बागलुङ राजमार्गभन्दा झन्डै एक किलोमिटरको दुरीमा रहेको उक्त गुफाको विकासका लागि आवश्यक सहयोग गर्न स्थानीयवासीले माग गरेका छन् ।

पर्वतको देउपुर गाविसमा पनि केही महिनाअघि नयाँ गुफा फेला परेको थियो । यसबाहेक गुप्तेश्वर, अलपेश्वर गुफा धार्मिक र पर्यटकीय हिसाबले मुलुकभरि नै प्रसिद्ध मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्