युनाइटेड मोदी हाइड्रोपावरको आईपीओ स्वीकृत



काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ। कम्पनीलाई सय रुपियाँ दरको १७ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिएको हो।

कम्पनीले अब चुक्ता पुँजीको १५ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नेछ। कम्पनीले स्थानीयबासीलाई आईपीओ बिक्री खुला गरिसकेको छ। यस अघि कम्पनीले स्थानीयबासीलाई १० प्रतिशत अर्थात ११ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओमा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केटलाई नियुक्त गरेको कमपनीले जनाएको छ। कम्पनीले पर्वतको कुश्मास्थित मोदी खोलामा २०६९ मा १० मेगावाट क्षमाताको तल्लो मोदी ‘ए’ निर्माण पूरा गरी नजिकै कम्पनीले अर्को आयोजना तल्लो मोदी–२ पनि निर्माण गरिरहेको छ। साढे १० मेगावाट विद्युत् उत्पादन हुने यो आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री संझौता (पिपिए) भइसकेको छ। कम्पनीको शेयरलाई इक्रा नेपालले ग्रेड ३ को रेटिङ दिएको छ।

यसैबीच साताको अन्तिम कारोबार हुँदा नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर १३८२ दशमलव ४५ विन्दुमा झरेको छ। यसदिन विकास बैंक समूह एक अंकले मात्रै उकालो लाग्दा अन्य सबै समूह ओरालो लागेका छन्। कुल १४० कम्पनीको १२ लाख ९५ हजार कित्ता शेयर ५४ करोड ३१ लाख रुपिंयाँमा किनबेच भएको छ।

यसदिन एसबीआई बैंकको सबैभन्दा धेरै ४ करोड १३ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाख, प्रभु बैंक, सानिमा बैंक र गरिमा विकास बैंकको २ करोड रुपियाँभन्दा बढीको कारोबार भएको छ। बिहीबार नेरुड लघुवित्त र राप्तीभेरी विकास बैंक, जानकी फाइनान्स, जनउत्थान लघुवित्त कम्पनी, साइन रेसुङा डेभलपमेन्ट बैंक तथा साझा विकास बैंकलगायतका कम्पनी लगानीकर्ता धेरै कमाउनेमा परेका छन्। सहयोगी विकास बैंक, एनएमबि बैंक (संस्थापक), पोखरा फाइनान्स तथा जलविद्युत् लगानी तथा विकास लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्