नेपाल समाचारपत्र
काठमाडौं
बैंकहरूकै असावधानीका कारण वित्तीय क्षेत्रमा अहिलेको समस्या उत्पन्न भएको भन्दै तरलता संकट थप गहिरिन नदिन सरोकारवाला निकायहरू एकजुट भएर समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। नेपाल बैंकर्स संघले बुधबार आयोजना गरेको तरलता समस्या समाधान खोज्नका निम्ति आयोजना गरेको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले हल्ला भएजस्तै बजारमा तरलता नभएको दाबी गर्नुभएको छ। उहाँले बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालकको दबाबमा ओभर ड्राफ्ट, हायर पर्चेच, घरजग्गा तथा शेयर बजारमा बढी कर्जा प्रवाह गरेकाले क्षणिक समस्या देखा परेको उल्लेख गर्दै त्यो छिट्टै समाधान हुने बताउनुभएको छ।

डेपुटी गभर्नर शिवाकोटीले बैंकहरूले गत वर्षको मंसिरयता ३० प्रतिशतले कर्जा वृद्धि गरेको कारण अहिलेको समस्या आएको बताउनुभयो। मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले २० प्रतिशत कर्जा वृद्धिको लक्ष्य राखेको अवस्थामा बैंकहरूले ३० प्रतिशत बढाइदिएका कारण समस्या उत्पन्न भएको उहाँको भनाइ थियो। उहाँले राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा दिने पुनर्कर्जादेखि विभिन्न मौद्रिक उपकरणमार्फत सहुलियत जारी राखेको उल्लेख गर्दै बचतमा ब्याज बढाएर मात्र निक्षेप बढ्नेतर्फ ध्यान दिन बैंकहरूलाई सुझाव दिनुभयो। उहाँले मुद्दतिमा मात्र ब्याज बढाउने बैंकहरूले बचतमा किन नबढाएको हो भन्दै प्रश्न गर्नुभयो।

बचतको ब्याजदर २ बाट ५ प्रतिशत पुर्याउनुपर्ने भन्दै बचतको ब्याज बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँले निक्षेप र कर्जा लगानीको ब्याज अन्तर (स्प्रेडदर) लाई विस्तारै घटाउँदै लैजाने राष्ट्र बैंकको योजना रहेको जानकारी दिनुभयो। बचतमा ब्याजदर बढाए अनिवार्य नगद मौज्दातको अनुपात घटाउन सकिने उहाँले बताउनुभयो।

डेपुटी गभर्नर शिवाकोटीले कृषिमा लगानी बढाउन कृषि कर्जा सीमा हटाउन लागेको तयारी भएको जानकारी दिँदै केही दिनभित्र राष्ट्र बैंकबाट सर्कुलर जारी हुने बताउनुभयो। राष्ट्र बैंकको निर्देशनविपरीत काम गर्ने बैकहरूलाई अर्धवार्षिक समीक्षामा कारबाही गर्ने चेतावनीसमेत डेपुटी गभर्नर शिवाकोटीले त्यसक्रममा दिनुभयो।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बैंकहरूले नाफामात्र हेरेर ब्याजदर बढाइरहेको बताउनुभएको छ। अहिले ‘कष्ट अफ फन्ड’ शून्य दशमलव ६ र शून्य दशमलव ७ प्रतिशतले मात्र बढेको तर बैंकले कर्जाको ब्याजदर २⁄३ प्रतिशतले वृद्धि गरिसकेको उहाँको बताउनुभयो। ब्याजदर बढाएर बैंक नाफा मात्रै कमाइरहने र निजी क्षेत्रले त्यसको भार बोकेर हिड्न नसक्ने मुरारकाको भनाइ थियो। उद्योगहरूको बिक्री बढेकाले अर्थतन्त्रका लागि सुखद् संकेत देखिए पनि ब्याजदर वृद्धिले समस्या निम्त्याएको मुरारकाले बताउनुभयो। उहाँले बैंकहरूले बिना मापदण्ड आफूखुशी ब्याज बढाउँदा लगानीकर्ता र बैंकको सम्बन्ध बिग्रिन सक्ने भन्दै बैंकहरूको अस्वभाविक ब्याजदरले बढ्दो औद्योगिकरण रोकिएर अर्थतन्त्रमा गम्भीर असर पर्ने सक्नेतर्फ सचेत गराउनुभयो।

त्यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले बैंकिङ प्रणालीमा तरलताको समस्या नरहेको भन्दै सोमबारसम्म प्रणालीमा ३० अर्ब रुपियाँभन्दा अधिक तरलता रहेको जानकारी दिनुभयो। बैंकहरूले निक्षेपको तुलनामा ऋणको ब्याजदर बढाएका कारण अहिले थप कर्जा प्रवाह गर्न नसक्ने अवस्था आएको र यसको जिम्मेवार बैंकहरूले नै रहेको बताउनुभयो। मंगलबार २० अर्ब रुपियाँको ऋणपत्र निष्कासन गर्दा बैंकहरूले साढे २ अर्ब रुपियाँको मात्र लगेको पौडेलले जानकारी दिनुभयो।

नेपाल राष्ट्र बैंकका प्रवक्तासमेत रहनु भएका पौडेलले केही दिनभित्र ट्रेजरी बिलको ६ अर्ब रुपियाँ परिपक्व भई भुक्तानी हुने, पुँजीगत खर्च बढ्ने र भूकम्पपीडितलाई थप १ लाख ५० हजार रुपियाँ अनुदान वितरण हुने भएकाले बैंकिङ प्रणालीमा अहिले देखिएको लगानीयोग्य पुँजीको समस्या विस्तारै समधान भएर जाने धारणा राख्नुभयो।

बैंकहरूले क्षमताको आँकलन नगरी लगानी गर्दा अहिले लगानीयोग्य पुँजीको समस्या भएको पौडेलको भनाइ छ। मंसिरसम्ममा बैंकको निक्षेप परिचालन औसत २० प्रतिशतले वृद्धि भए पनि कर्जा लगानी ३० दशमलव ४ प्रतिशत विस्तार भएकाले समस्या आएको पौडेलले तर्क गर्नुभयो। उहाँले बैंकको निक्षेप परिचालन १ खर्ब १४ अर्ब रुपियाँ बढेको तर निजी क्षेत्रतर्फको कर्जा लगानी १ खर्ब ५८ अर्ब रुपियाँ पुगेकाले बैकलाई पछिल्लो समयमा लगानी गर्न थप पुँजीको अभाव भएको बताउनुभयो।

नेपाल बैंकर संघका अध्यक्ष एवम् मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले ऋणयोग्य रकम अभावले सबैलाई पिरोलेको हुँदा मिलेर समाधान खोज्नुपर्ने धारणा राख्नुभयो। उहाँले निक्षेपकर्ताले बचत गरेको रकम उनीहरूलाई फिर्ता दिन बैंक तथा वित्तीय संस्थासँग पर्याप्त रकम भए पनि ठूला विकास आयोजनामा लगानी गर्न बैंकहरूसँग रकम अभाव रहेको बताउनुभयो। त्यस्तै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत एवम् संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले आफैं नाफा मुलक उद्योग चलाउने व्यवसायीले बैंकलाई नाफा नकमाउ भन्न नमिल्ने भन्दै व्यवसायीले लगानीको ३० प्रतिशत नाफा कमाउने अवस्थामा १५ प्रतिशतसम्म ब्याज तिर्नुलाई आश्चर्य मान्न नहुने बताउनुभयो।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले गत पुसमा सरकारले ५६ अर्ब रुपियाँ अग्रिम कर उठाएको र नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ खरिदमा ५२ अर्ब गरी एक खर्ब रुपियाँभन्दा बढी रकम बैंकमा थुप्रिँदा थप समस्या परेको बताउनुभयो। कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले केही बैंकले महत्त्वांक्षी ढंगले कर्जा विस्तार गर्दाको परिणाम अर्थतन्त्रले भोग्नुपरेको भन्दै बैंकिङ क्षेत्रमा देखिएका समस्याको भार निजी क्षेत्रले मात्र भोग्नुपर्छ भन्ने छैन भन्नुभयो।

त्यस्तै नेपाल चेम्बर अफ कमर्सका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्लले बैंकहरूले उद्योगलाई दिने ऋणमा पाँच वर्षसम्म ब्याज बढाउन नहुने धारणा राख्नुभयो। उहाँले उद्योगधन्दा विस्तार भए मात्र बैंकको पुँजी चलायमान हुने धारणा राख्नुभयो। जलविद्युत् उद्यमी ज्ञानेन्द्रलाल प्रधानले अहिले लोडसेडिङ अन्त्य भएर सबैले खुशी मनाए पनि महँगो ऋणका कारण नयाँ परियोजना शुरू हुनै नसक्ने अवस्था आएको बताउनुभयो। दुई प्रतिशत ब्याजदर बढ्दा जलविद्युत् क्षेत्रको प्रतिफल १४ प्रतिशतले घट्छ, अर्काेतर्फ बिजुलीको मूल्य फिक्स छ, परियोजना बन्न नसकक्दा पुनः लोडसेडिङ हुन सक्ने बताउनुभयो।

उद्योगी कमलेशकुमार अग्रवालले बैंकका कारण लगानीको समस्या आएको दाबी गर्नुभयो। अर्थतन्त्र ओभर हिटिङ भएको कुरा बैंकका सीईओले नबुझ्दा अहिलेको परिणाम आएको अग्रवालको भनाइ छ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघका उपाध्यक्षसमेत रहनु भएका किशोर महर्जनले अर्थतन्त्रलाई बचाउन केन्द्रीय बैंकदेखि व्यवसायीसम्मले साथ दिनुपर्ने बताउनुभयो। अहिले निक्षेपको व्याजदर ६ देखि ७ प्रतिशतले व्ृद्धि भइसकेको तथा कर्जाको ब्याज २⁄३ प्रतिशतले मात्रै बढेको दाबी गर्दै यही अवस्था कायम रहे बैंकहरू कर्जाको थप ब्याजदर बढाउन बाध्य हुने धारणा राख्नुभयो। उहाँले एकअर्कालाई दोषरोपण मात्र गरेर बसे समस्या अझ लम्बिने भन्दै सरोकारवाला निकायहरू गम्भिर भएर समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

LEAVE A REPLY