गफाडीहरूले बिगारेको देश



(दामोदर पौडेल) जनतालाई ठूला सिद्धान्तका नबुझिने तर हो कि जस्तो लाग्ने भाषण दिने नेपाली रोग भयो । काम कसैले नगर्ने तर अरुलाई दोष दिने र आफूले राम्रो गर्न लागेको अर्कोले भाँड्यो भन्ने भ्रम जनतालाई दिने नेपाली संस्कार बन्यो । जसले बढी मीठा र पूरा नहुने कुरा गरेर झुक्याउन सक्छ उही अर्को त्यस्तो नआएसम्म वा जनता वाक्क नभएसम्म सत्तामा बस्ने र शक्ति एवम् पैसाको आधारमा उसैले देश चलाउने हो कि ? के त्यसैको आधारमा गरिब जनतालाई अझ गरिब र सरकार आश्रित बनाएर डर, भ्रम अनि धाकको राजनीति गरेर सत्तामा बस्ने सम्भावना पनि छ कि ?

उत्तर कोरियामा डर–धाककै आधारमा सरकार चलेको छ । केही भ्रम पनि छ । हिटलरले लोकतन्त्रकै माध्यमबाट डर, भ्रम र धाक देखाएर जनतालाई आफ्नो पक्षमा लिई लाखौं मानिस मारेर केही समय विश्वको शक्तिशाली मात्र देखिएनन् बरु दोस्रो विश्वयुद्धको खलनायक नै बने । गफाडीहरूले सत्ताको लागि जनतालाई गफ दिने र बाहिरकालाई विभिन्न किसिमले खुशी पार्ने कार्य गर्दा रहेछन् । जनताले चाहेको लोकतन्त्र र बहुलवाद तथा विकासमा आधारित शान्ति र समानता हो तर त्यो मृगतृष्णाजस्तै भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१७ को जनवरीको शुरुको आफ्नो महत्वपूर्ण फेयर वेल भाषणमा भने– संविधान वास्तवमा आफैंमा कागजको खोस्टोबाहेक केही होइन, तर जनसहभागिता र चुनावमार्फत हामीले यसलाई शक्ति प्रदान गरेका छौं । उनी भन्छन्– प्रजातन्त्रले एकरुपता नै खोज्छ भन्ने छैन, ऐक्यबद्धताको आधारभूत भावना भने आवश्यक हुन्छ ।

हाम्रो देशमा पनि संविधानको झगडा सकिने भएन । हामीले संविधानलाई न कागजको खोस्टो बनायौं, न राम्रोसँग यसको उपयोग गर्यौं । यो नै अहिलेको मूल समस्या बन्यो । जनताले नेताहरूको काम भनेको जोड–घटाउ, अरुको आशिर्वाद र जनतालाई भ्रममा दिएर सरकारमा जानेबाहेक अरु केही भएन भन्ने बुझेर पनि विकल्प छान्ने कुनै प्रस्ट बाटो देखिएको छैन । अब दल हैन असल मानिस छान्ने हो भन्ने सोच्ने हो भने धेरै समस्या समाधान हुनसक्छ । अन्यथा जनताले राहत नपाउने हुँदा बलियाहरूको शासन भएको लोकतन्त्र र सर्वसत्तावादमा केही फरक हुनेछैन ।

औंसीको रात र घनघोर बादल लागेको दिन दुवै अँधेरो हुन्छ । जनताको लागि तिनमा तात्विक भिन्नता हुँदैन । लोकतन्त्रको नाममा अन्याय र सर्वसत्तावादको नाममा अन्याय, सूर्य हराउने गरेर बादल लागेको दिन र औंसीको रात दुवै जस्तै जनताको कामको लागि हुँदैनन् । नामले मात्र जनताले के पाउने हुन् र ? यद्यपि केही फरक भने छ । औंसीको रातमा उज्यालोको सम्भावना हुँदैन, बादल लागेको दिनमा बादललाई हावाले हटाउन सक्यो भने उज्यालो देखिन्छ । त्यो हावा भनेको पनि जनता नै हुन् । असल नेताहरू नै हुन् ।

क्युबाका फिडेल क्यास्टोले अन्य तानाशाहीको विरोध त गरे तर आफ्नो डिक्टेटर सीपले जनतालाई परेको अन्याय बुझ्न सकेनन् । नेल सुन वा फलाम जेको भए पनि त्यसले स्वतन्त्रताको अपहरण नै गर्दछ । लोकतन्त्रमा पनि खराबको विकल्प छान्ने अवस्था नभएपछि त्यो तानाशाहीमा जस्तै राम्रो विकल्प छान्न नसकिने हुन्छ ।

पुलिसहरू अपराध भएपछि अपराधीलाई साह्रै मेहनत गरेर खोज्छन् र पक्रन्छन् तर राम्रो पैसा पाएपछि उनीहरूलाई छोडिदिन्छन् । डाक्टरहरू बिरामीको सास र उनीहरूको एटीएममा पैसा भएसम्म अस्पतालमा राखिरहन्छन् । बिरामीको उपचारभन्दा महत्वपूर्ण उनीहरूको लागि पैसा छ । न्यायकर्मीहरू घूस दिएर न्यायाधीश बन्छन् र कतैबाट पनि घूस नपाएका मुद्दाहरूमा मात्र न्याय दिन्छन् ।

देशको अवस्था यस्तै छ भन्ने प्रकारको कास्टिङ पाकिस्तानको सञ्चारमाध्यमबाट आएको थियो । कतै यस्ता समस्या र बेइमानीहरू गरिब देशका साझा हुन् कि ?
नेपालमा भर्खरै उच्च अदालतका न्यायाधीश नियुक्त भएका छन् र नियुक्तिहरू विवादरहित हुन सकेका छैनन् । बेथितिको सागरमा एउटा विषयको मात्र थिति खोजेर साध्य हुँदोरहेनछ । दूधमा पानी हाल्नेले महमा खँुदो मिसाउँदैन भन्ने आधार हुँदैन । अब त अन्याय–अत्याचार भनेको लोकतन्त्रमा सुनाउन पाउने एउटा अधिकार भएको छ । त्यसको अन्त्यको लागि संविधान र कानुन काम नगर्ने कागजका खोस्टासरह भएका छन् । सबैका समस्या साझा छन् । सबै जात, धर्म भाषाका गरिबहरूका समस्या साझा छन् । कुनै जात, धर्म भाषा आदि भएका मुठीभरहरूले फाइदा लिएका होलान् । संविधानमा भने किन विवाद ? संविधानले पनि त्यही साझा आवश्यकता पूरा गर्ने होइन र ?

त्यसैले यो देश गलत नियत भएका राजनीतिज्ञले बिगारेको देश हो । असल नियत हुनेहरू पनि आफ्नो दल र नेता भनेर भ्रममा परेको अवस्था हो । कर्मचारीहरूले जनताको पैसा खाएका सेवक हौं भन्ने सोच्न नसकेर जनताको दया नगरेका हुन् । उनीहरूले सेवाबापत पैसा पाउनुपर्दछ, तलब त पेन्सनजस्तो हो भन्ने भावना राखेको स्थिति हो । हामी जनताले पनि अरुले राम्रो गर्नुपर्ने तर आफूले जे गरे पनि हुने भन्ने सोचेकै छौं । शिक्षामा सेवाभन्दा व्यापार फस्टाएको छ । स्वास्थ्यमा पनि त्यस्तै छ । उद्योगमा सरकारी भए घाटामा र निजी भए फाइदामा जाने गरेको छ । मन्त्रीहरू जनताको लागि होइन पद र पैसाको लागि नै हुन् भन्ने संख्याको लामो सूचीले देखाएको छ । जनताको काम भने केवल गफाडी नेता, कर्मचारी आदिका मीठा कुरामा मख्ख हुने रहेको छ । कमसेकम जनताले गफाडीहरूको भाषणबाट मुक्त हुन दलको मोहबाट बाहिर आएर इमानदारीको खोजी गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्