सिमसार क्षेत्रको खोज र संरक्षणको खाँचो



(देवेन्द्र अर्याल ‘आँसु)
प्रत्येक वर्ष फेब्रुवरी २ लाई विश्व सिमसार दिवसका रुपमा विश्वभरि मनाइन्छ भने नेपालमा पनि यस दिन सिमसार दिवस विशेष कार्यक्रम गरी मनाइन्छ । पानी नसुक्ने दलदले वा छिपछिपे जमिनलाई सिमसार भनिन्छ । यसलाई अंग्रेजीमा ‘वेट ल्यान्ड’ भनिन्छ । खासगरी तालतलैया, नदीकिनार, दह, दलदले जमिनलगायतका क्षेत्रलाई नै सिमसार भनिन्छ । प्रायः ६ मिटरभन्दा कम गहिराइका क्षेत्र नै सिमसारका रुपमा चिनिन्छन् । जैविक विविधताका दृष्टिले यस्ता सिमसार क्षेत्र ज्यादै महत्वपूर्ण मानिन्छन् ।

इरानको रामसार शहरमा भएको भेलामा वातावरण संरक्षणवादीहरूको साझा अवधारणासहित एउटा महासन्धिको परिकल्पना गरिएको थियो । त्यो नै पछि गएर रामसार महासन्धि भनियो । जैविक विविधताका दृष्टिले महत्वपूर्ण मानिएका सिमसारलाई रामसार सूचीमा सूचीकृत गरिन्छ । हालसम्म विश्वमा नेपालसहित १ सय ५६ राष्ट्रले रामसार सन्धिमा हस्ताक्षर गरिसकेका छन् । विश्वका १ हजार ६ सय ७६ वटा सिमसार रामसार सूचीमा सूचीकृत भएका छन् । नेपालमा रहेका घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय क्षेत्र, बीसहजारी ताल क्षेत्र, कोसी टप्पु आरक्षण, से–फोक्सुण्डो ताल, गोक्यो ताल, माइपोखरी, रारा ताल, पोखराका विभिन्न तालहरू विश्व रामसार क्षेत्रमा सूचीकृत भइसकेका छन् ।

सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जीवजन्तु बसोबास गर्ने र विभिन्न प्रकारका वनस्पतिसमेत पाइने हुँदा यस प्रकारको भूमिको संरक्षण गर्नु अत्यावश्यक ठहरिन्छ । सिमसार क्षेत्रमा विभिन्न प्रकारका जीवहरू विचरण गर्ने तथा बास बस्ने भएका कारण सिमसार क्षेत्रको संरक्षण गर्दा त्यस्ता जीव तथा वनस्पतिको पनि संरक्षण हुन पुग्छ र वातावरण संरक्षणमा टेवा पुग्छ । दिगो इकोसिस्टमका लागि पनि यस्ता सिमसारको ज्यादै अहत्व हुन्छ ।

तर बढ्दो शहरीकरण, अनियन्त्रित बसाइँ सराइ, जनसंख्या वृद्धि, भौतिक पूर्वाधारको निर्माणलगायतका क्रियाकलापले पनि सिमसार क्षेत्रको अस्तित्व सङ्कटमा पर्दै गएको देखिन्छ । भूमाफियाको चलखेलका कारण यस्ता क्षेत्र अतिक्रमित हुँदै छन् भने जथाभावी रुपमा विकसित भएको आवास क्षेत्रका कारण कैयन् सिमसारयुक्त क्षेत्रको अस्तित्व नै लोप भएर गइसकेको छ । नेपालमा भएको सिमसारयुक्त क्षेत्रको अस्तित्व लोप हुनुको पछाडि राष्ट्रिय नीतिको पनि अभाव देखिन्छ । वन तथा भूसंरक्षण मन्त्रालयले सिमसार नीति निर्माण गरेको छ तर हालसम्म ऐन कानुन आउन नसक्दा सिमसार क्षेत्रको खासै व्यवस्थापन वैज्ञानिक ढङ्गले हुन नसकेको हो ।

वनजंगलको अतिक्रमण, चुरे दोहन, भूमाफियाको जथाभावी जग्गा अतिक्रमण, जथाभावी फोहोरमैला विसर्जन आदिका कारण हाम्रा सिमसार क्षेत्रहरू दिन–प्रतिदिन जोखिममा परेका छन् । अधिकांश जीवजन्तुले वन, घाँसेमैदान र पानी क्षेत्रवरपर बच्चा कोरल्ने, बासस्थान बनाउने, विचरण गर्ने भएका कारण यस्ता सिमसारलाई जैविक विविधताका कारण महत्वपूर्ण मानिएको हो । त्यसैले हामी सबैले यस्ता सिमसार क्षेत्रको संरक्षणमा विशेष जोड दिनुपर्दछ । नेपालमा भएका विभिन्न ताल, नदी, पोखरी, छिपछिपे जमिनको संरक्षण गर्नका लागि विशेष नीति निर्माण गर्न अत्यावश्यक छ । त्यस्तै, यसका बारेमा व्यापकरुपमा खोज–अनुसन्धान गर्न पनि समयमा नै ऐन कानुन निर्माण गर्नु अपरिहार्य देखिन्छ ।

नेपाल जैविक विविधताका दृष्टिले धनी मानिए पनि यहाँका सिमसार क्षेत्रको संरक्षण नहुँदा र त्यसलाई व्यवस्थितरुपमा उपयोग गर्न नसक्दा एकातिर जैविक विविधतामा खतरा बढेको छ भने अर्कोतिर सिमसारसँग जोडिएका जैविक, सांस्कृतिक तथा धार्मिक महत्व पनि ओझेलमा पर्न पुगेका छन् । नेपालमा ६० हजार ५ सय ६१ हेक्टर जमिन सिमसारले ओगटेको पाइन्छ । त्यसैले यस्ता क्षेत्रको संरक्षण गर्ने हो र यससँग सम्बन्धित धार्मिक, सांस्कृतिक महत्वलाई बढीभन्दा बढी उजागर गर्ने अनि स्थानीय जनसमुदायलाई त्यसमा संलग्न गराउने हो भने पक्कै पनि सिमसार क्षेत्रको संरक्षण हुन्छ र यसलाई आयस्रोत वृद्धिको माध्यमका रुपमा पनि विस्तार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्