भूमाफियाको नाममा दर्ता भएको जमिन खारेज



सञ्जय कार्की, गौर, रौतहट
कीर्ते कागजको आधारमा भूमाफियाले दर्ता गरेको रौतहटको लक्ष्मिनिया दोस्तिया गाविस–२ विजयपुरस्थित जयन्तकृष्ण मैत्रको नामको चार बिघा जमिन मालपोत कार्यालयले मंगलबार खारेज गरेको छ।

दरबन्दीभन्दा बढी भएको जयन्तकृष्ण मैत्रको लक्ष्मिनिया दोस्तिया गाविसमा रहेको र रमौली बैरिया गाविसमा रहेको लक्ष्मीनारायण राउत कुर्मीको गरी १७ बिघा १ कठ्ठा साढे १७ धुर जमिन भूमिसुधार कार्यालयले नेपाल सरकारको नाममा लालपुर्जा बनाउन पत्र पठाएपछि मालपोत कार्यालय रौतहटले भूमाफियाको नाममा दर्ता भएको जमिनसमेत खारेज गरिदिएको छ।

जयन्त कृष्ण मैत्रको नामको ४ बिघा जमिन फतुवा हर्षाहाका नवलकिशोर यादवले कीर्ते नागरिकता प्रमाणपत्र र लालपुर्जाको आधारमा जिल्ला अदालत काठमाडौंबाट वारेश बनाएर आफ्नो दाजु सुरेन्द्र यादवको नाममा पास गराएको रहस्य खुलेपछि भूमिसुधार कार्यालयले नेपाल सरकारको नाममा दर्ता गर्न मालपोत कार्यालयलाई पत्र पठाएपछि ती जग्गाको दर्ता खारेज भएको हो। लक्ष्मिनिया दोस्तिया गाविसबाट ०७३ मंसिर ३ गतेको चलानी नम्बर ३२३ मा भूमाफियाले घरबाटो प्रमाणित गरेर मालपोत कार्यालयलाई बुझाएको पत्रसमेत नक्कली लेटरप्याड र सरकारी छाप कीर्ते रहेको पाइएको छ। ०३६ सालमा लालबकैया नदीको बाढीबाट विस्थापित भएका फतुवा हर्षाहा गाविसका बाढीपीडितलाई तत्कालीन जिल्ला प्रशासन र जिल्ला पञ्चायतले निर्णय गरी लक्ष्मिनिया दोस्तिया गाविस–२ को विजयपुरमा हदबन्दीभन्दा बढी रहेको जयन्तकृष्ण मैत्रको नामको जमिनमा स्थान्तरण गरेर बस्ती बसाएको जमिन नै भूमाफियाले आफ्नो नाममा बनाएका थिए।

०२८ मंसिर १२ गते भूमि प्रशासन कार्यालय रौतहटले बाराको कलैयामा रहेको भूमि प्रशासन कार्यालयलाई पठाएको ७ नम्बर फाँटबारीमा जयन्तकृष्ण मैत्रको १ सय ७१ बिघा ११ कठ्ठा १९ धुर जमिन रहेको उल्लेख थियो तर यो सबै जमिन अहिलेको श्रेस्तामा कम देखिन गएको छ। ०३५ चैत्र ९ गते जिल्ला भूमि प्रशासन कार्यालयमा मैत्रको नाममा २८ बिघा जमिन कायम हुने गरी बाँकी जमिन हदबन्दी कायम गरे पनि नेपाल सरकारको नाममा लालपुर्जा नबन्दा भूमाफिायले चलखेल गर्न पाए पनि नेपाल समाचारपत्रमा प्राथमिकताका साथ प्रकाशित समाचारको प्रभावका कारण खारेज हुन गएको हो।

भूमाफियाको नाममा दर्ता भएको जमिन खारेज भएको सुनेपछि स्थानीय हर्षित भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी भएको जयन्तकृष्ण मैत्रको नामको नक्कली नागरिकताको प्रमाणपत्र बनाएर भूमाफियाले जमिन हडप्ने प्रयास गरेका थिए। जयन्तकृष्ण मैत्रको नाममा बनाइएको नक्कली नागरिकता प्रमाणपत्रमा उल्लेख नम्बर १६०३०३३१४ जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकमा दुर्गाकुमारी ठकुरीको नाममा बनेको पाइएको थियो। जयन्तकृष्ण मैत्रको नाममा नक्कली व्यक्ति खडा गरी सोही नक्कली नागरिकता प्रमाणपत्रको आधारमा जिल्ला अदालत काठमाडौंबाट वारेश बनाएर लक्ष्मिनिया दोस्तिया गाविस–२ (क) विजयपुरको कित्ता नम्बर १०८ र ३४६ को २ बिघा ९ कठ्ठा १३ धुर जग्गा फतुवा हर्षाहा–६ का सुरेन्द्र राय यादवको नाममा पास गरिएको थियो।
सुरेन्द्र राय यादवको नाममा पास गरिएको २ (क) को कित्ता नम्बर ६२ को हाल कित्ता नम्बर १०८ को १ कठ्ठा ८ धुर यस्तै २ को कित्ता नम्बर २१ हालको कित्ता नम्बर ३४६ को १ बिघा ८ कठ्ठा ५ धुर जमिन नेपाल सरकारको नाममा दर्ता भएको छ। सोही गाविसको २ (क) ६२ को कित्ता नम्बर २३४ को २ बिघा ८ कठ्ठा, १४९ को १ बिघा १५ कठ्ठा, ४०४ को ११ कठ्ठा, ४०९ को ४ कठ्ठा, ५८६ को १० कठ्ठा, ९४९ को १५ कठ्ठा १९ धुर, ३ (क) ६ को २ बिघा १८ कठ्ठा जमिन नेपाल सरकारको नाममा दर्ता भएको छ।

यस्तै रमौली बैरिया गाविस १, २, ३ नम्बर वडाको २४२ कित्ता नम्बरको १५ कठ्ठा, १६० को १ बिघा १३ कठ्ठा, १५४ को १९ कठ्ठा, २४३ को १३ कठ्ठा, २४१ को १५ कठ्ठा, १०० को १ बिघा १० कठ्ठा जमिन नेपाल सरकारको नाममा दर्ता भएको छ। भूमिसुधार कार्यालयका प्रमुख गोपाल बरालले हदबन्दीभन्दा बढीको जमिन नेपाल सरकारको नाममा दर्ता गर्न मालपोत कार्यालयमा पत्राचार गरिएको बताउनुभयो। उहाँले अन्य जमिनको खोजी भइरहेको बताउनुभयो। मालपोत कार्यालय गौरका प्रमुख सिकेन्दर साहले भूमिसुधार कार्यालयबाट नेपाल सरकारको नाममा दर्ता कायम गर्न आएको पत्रसँगै व्यक्तिको नाममा रहेको जमिन खारेज गरी नेपाल सरकारको नाममा दर्ता गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्