नेपाल समाचारपत्र
लमजुङ
जिल्ला सदरमुकामस्थित बेंसीशहर नगरपालिका–१३ स्थित मकैडाँडा एक वृद्धा २६ वर्षदेखि छोराहरू फर्केर आउने प्रतीक्षामा रहनुभएको छ। त्यस्तो प्रतीक्षामा बस्नुहुने ८३ वर्षीया आमा मानकुमारी रिमाल हुनुहुन्छ।

उहाँको कान्छो छोरा रामबहादुर रिमाल २६ वर्षदेखि घरमा फर्किनुभएको छैन। वैदेशिक रोजगारीका लागि आमासँग बिदा भएर भारत गएर रामबहादुर नफर्किएको उहाँले बताउनुभयो। उनी घरबाट निस्केदेखि चिठ्ठी पत्र लेख्ने, नासो वा खबर पठाउने नगरेको आँखाभरि आँशु लिँदै मानकुमारीले कुराकानीको क्रममा बताउनुभयो। आफ्नो जेठो छोरा भीमबहादुर रिमाल पनि जागिर खान गएर नफर्केको २२ वर्ष भएको बताउनुहुन्छ उहाँ।

उहाँले छोरा भीमबहादुर पहिलोपटक आएर फर्केको २२ वर्ष भएको बताउनुभयो।
गाउँशहरको नरुवालमा माइती भएकी उहाँको ९ वर्षको उमेरमा पूर्णबहादुर रिमालसँग विवाह भएको थियो। तर उहाँ पनि २०३६ सालमा स्वर्गे हुनुभएको बताउनुभयो। श्रीमान् स्वर्गे हुँदा आफू ४० वर्षमा मात्र टेकेको उहाँले सुनाउनुभयो।

पतिको वियोग र छोराहरूको बेपत्ता भएको घटनाले वृद्धा आमालाई निकै टुक्का भन्ने बनाएको छ। पाँच छोरा र दुई छोरीकी आमाको साथमा यतिबेला साहिलो छोरा युवराज रिमाल मात्र छन्। तर युवराजले दुई विवाह गरेको भए तापनि उनका एउटै सन्तान भएका छैनन्। अन्य माइला छोरा हरिबहादुर र काइँला छोरा गणेशबहादुर पनि वैदेशिक रोजगारीका क्रममा अरब गएर नफर्केको तीन वर्ष हुन लागेको उहाँले सुनाउनुभयो।

उहाँले आफ्नो र साहिलो छोराको अंशस्वरूप दुई हलको मेलो लाग्ने खेत तथा जिउनी स्वरूप एक हलको खेत पाउनुभएको रहेछ। ती दुवै खेतबाट हुने उब्जनीले आफू र छोरालाई खान पुग्छ भन्नुभयो। कपडा खरिदसहितको घर खर्च गर्न सरकारले दिने गरेको वृद्धभत्ता र साहिला छोराले गाई गोठबाट बेच्ने गरेको दूधबाट कहिलेकाहीं दिने पैसाबाट काम चलाई आएको उहाँले सुनाउनुभयो।

LEAVE A REPLY