लुकिछिपी भारत लैजाँदै गरेका ९ युवतीको उद्धार



विष्णु तिमिल्सिना, बर्दिया
रतको बाटो गरी फ्री भिसामा कुवेत पठाइदिने भन्दै बर्दियाको विभिन्न चोरी बाटोबाट भारततर्फ लैजाँदै गर्दा ९ जना युवतीलाइ उद्धार गरिएको छ। साथै मानव बेचविखन तथा ओसारपसारमा कार्यमा संलग्न ४ जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। ९ युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो।

ललाईफकाई भारत हँुदै कुवेत लैजाने कार्यमा संलग्न म्याग्दी भकिम्ली गाविस–६ का ४३ वर्षीय धनवीर पुन, कालिकोट पाखा गाविस–६ घर भई हाल बर्दिया जिल्ला खैरी चन्दनपुर गाविस–४ का ३७ वर्षीय रतनबहादुर विकलाई पक्राउ गरिएको छ भने सोही कार्यमा संलग्न बर्दिया ढोढरी गाविस–५ का अर्जुन विक भने फरार भएको र खोजी कार्य जारी रहेको बताइएको छ। उनीहरूले बर्दियाको सदरमुकाबाट पश्चिम भाग भारतसँग सीमा जोडिएको सानो श्री ताराताल नगरपालिकाबाट भारततर्फ लैजाँदै गर्दा पक्राउ गरी ३ जना युवतीको उद्धार गरीएको थियो। यसै गरी बर्दियाको सदरमुकाम गुलरियादेखि पूर्वी भाग कालिका गाविस–९ नेपाल भारत सीमा जोडिएको स्थानबाट कुवेतको दुवहीमा रोजगारीका लागि लैजान लागेको अवस्थामा ६ जना युवतीलाई उद्धार गरिएको प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो। सो स्थानबाट कुवेत पठाउने भन्दै भारत लैजाने कार्यमा संलग्न सर्खेत घुमखहरे गाविस–७ का ५८ वर्षीय मानबहादुर वली र सिन्धुपाल्चोक घुमथाङ गाविस–२ का ३४ वर्षीय सोनाम भन्ने पोक्चे तामाङलाई पक्राउ गरिएको बोहराले बताउनुभयो। बर्दियाको विभिन्न स्थानबाट उद्धार गरिएको युवतीमध्ये नवलपरासीका १, लमजुङका २, झापाका २, मकवानपुरका १, भोजपुरका १, सप्तरीका १ र सल्यानका १ जना रहेका छन्।

अभियुक्तमध्ये धनवीर पुन र पोखरा घर बताउने यमबहादुर गुरुङबीच प्रतिव्यक्ति २० हजार रुपियाँ दिने सहमति भई यम बहादरको श्रीमतीले धनवीरको खातामा आईएमईबाट ५० हजार रुपियाँ पठाइदिएको र धनवीरले ३ जनालाई काठमाडौंबाट राजापुर लिएर गएको, धनवीर पुन, रतनबहादुर विक, अर्जुन विक र पीडितहरूको राजापुरमा भेट भएको थियो। रतनबहादुर विक र अर्जुन विकले बर्दियाबाट निसानगाढा नाका क्रस गराइदिए बापत जनही १० हजार पाउने सहमति भई सानोश्रीको होटेलमा आई बास बसी अर्काे दिन निसागाढातर्फ जाने क्रममा प्रहरीले पक्राउ गरी पीडितको उद्धार गरी अभियुक्तहरूलाई सार्वजनिक गरेको हो।

त्यसै गरी कालिका गाविसस्थित सीमा नजिकबाट अभियुक्त मानबहादुर वली सोनम भन्ने पोक्चे तामाङले ६ जना महिलालाई ललाईफकाई भारतको बलै गाउँबाट दिल्लीतर्फ बेचबिखनका लागि लैजाँदै गरेको अवस्थामा मैनापोखर इलाका प्रहरी कार्यालयका प्रमुख देवेन्द्रबहादुर मल्लको टोलीले पक्राउ गरेको थियो।

तस्करहरूले बर्दियाको जमुनीस्थित बबैगाउँ, लौकाही र तारातालको निसानगाढा नाकालाई मानव लागूऔषध ओसारपसार गर्ने सुरक्षित स्थानका रूपमा प्रयोग गर्दै आएका छन्। प्रहरीले पनि यी स्थानमा निगरानी बढाई पटकपटक लागूऔषधका भरिया पक्राउ गर्दै आएको छ। पीडितको पनि उद्धार गरिएका छ। छोटो बाटो भई दिल्ली जाने बस चढ्न सकिने र सुरक्षा निकायको जोखिम कम भएकाले यो बाटो प्रयोग गर्दै आएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्