प्याब्सनको पुस्तक परियोजनामा ब्रह्मलुट



सबैतिरबाट पैसा उठाइन्छ तर
फेरि घाटा देखाइन्छ
ईश्वरराज ढकाल
काठमाडौं

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले सञ्चालन गरेको पुस्तक परियोनामा करोडौं रुपियाँ ब्रह्मलुट भएको छ । प्याब्सनका केही पदाधिकारी परियोजनाको रकम खर्च गरेर मस्त घुमघाम गर्न जाने गरेको रहस्य खुलेको छ । कक्षा १ देखि १० सम्म सञ्चालन भइरहेको प्याब्सन साइन्स बुक कहाँ कसरी छपाइ हुन्छ ? भन्ने विषयमा समेत जानकारी छैन । प्याब्सनको फागुन ९ र १० गते हुने १३औं महाअधिवेशनको पूर्वसन्ध्यामा आफ्नो उम्मेदवारी प्रचार गर्न समेत परियोजनाकै रकम खर्च गर्ने गरेको आरोप छ । वार्षिक करिब ५ करोडको रुपियाँ बराबरको कारोबार हुने परियोजनाको हिसाबकिताब प्रायः सधैं घाटामा जाने गरेको छ । प्याब्सनका एक अधिकारी पछिल्लो समय चुनावी दौडाहामा परियोजनाकै रकम खर्च गर्ने गरेको भेटिएको बताउँछन् ।

प्याब्सन वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे संयोजक रहेको परियोजनाको पुस्तक छपाइ गर्दा टेन्डर दिने प्रावधानलाई समेत बेवास्ता गरिएको भेटिएको छ । तर संयोजक सम्बाहाम्फेले आफूलाई केही जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले मैले हेर्न छोडिसकें, आशीष सरलाई सोध्नुस् ।’ परियोजना प्रमुख रहेका सम्बाहाम्फे आफैंले पुस्तकको विषयमा जानकारी राख्ने गरेका छन् । ‘अहँ मलाई थाहा छैन, परियोजना कसरी चलेको छ’ –उहाँले भन्नुभयो । परियोजना व्यापार प्रमुख एवं प्याब्सनका उपाध्यक्ष आशीष श्रेष्ठसँग पटक–पटक सम्पर्क गर्दा मोबाइल उठाउनुभएन ।

उहाँले परियोजनाका सम्पूर्ण हिसाब राख्ने, कहाँ कति पुस्तक वितरण गर्ने, हिसाबकिताबको सम्पूर्ण विवरण आफैंले राख्ने गर्नुभएको छ । प्रमुख बनाइएका लिम्बुले भने आफूलाई जानकारी नभएको बताउँदै भन्नुभयो– ‘सबै विवरण ठीक छ । यो विषयमा आशीष सरलाई जानकारी हुन्छ ।’

उच्च स्रोतका अनुसार प्याब्सनका कर्मचारी धनबहादुर लिम्बुलाई प्रमुख बनाएर चलखेल गर्न दर्ता गरिएको पीएन्डपी प्रकाशनमा हाल मुख्य हर्ताकर्ता उपाध्यक्ष आशीष श्रेष्ठ रहनुभएको छ । महासचिव डीके ढुंगाना, कोषाध्यक्ष ईश्वबहादुर गुरुङ, उपमहासचिव राजेन्द्र बानियालगायतका पदाधिकारी कम्पनीमा हिस्सेदार हुन् । कहाँ कति रकम निकासा भएको छ भन्ने विषयमा समेत जानकारी नदिई मनोमानी रूपमा खर्च गर्ने गरेको पाइएको छ ।

‘सबै पुस्तक परियोजनाको रकमबाट परियोजनामा काम गर्ने पदाधिकारीले मस्ती गरेका हुन्’ –एक सदस्यले नेपाल समाचारपत्रसँग भने । उच्चस्रोतका अनुसार वार्षिक हिसाबकिताब गर्दा प्याब्सन सधैं घाटामा गएको देखाइन्छ । ‘जिल्लाबाट मासिक रूपमा लेबी बापत रकम उठाइन्छ, परीक्षा सञ्चालन गर्ने खर्च उठाइन्छ तैपनि कहिल्यै संस्था नाफामा गयो भन्ने उल्लेख नै गरिँदैन’ –एक सदस्यले भने ।
‘नैतिकताको पाठ सिकाउने संस्थाले मनोमानी रूपमा बजेट खर्च गर्दा समेत कोही बोल्न सकेका छैनन् । करोडौं रुपियाँको परियोजना सञ्चालन गर्दा समेत लाखौं रुपियाँ घाटा लाग्यो भनिन्छ, यो कस्तो संस्था हो’ –एक सदस्यले भने ।

प्याब्सनको मनोमानि प्रवृतिको अन्त्य गर्न परियोजनको सबै हिसाबकिताब छानविन गर्नु आवश्यक रहेको ती अधिकारीको भनाइ छ । ‘पुरानो समिति खारेज गरी एक वर्षअघि कर्मचारी लिम्बुलाई प्रमुख बनाएर दर्ता गरेको परियोजनाको पुस्तक कुन प्रेसलाई छपाइ गर्न दिइन्छ भन्ने विषयमा समेत कसैलाई जानकारी दिइँदैन, मनोमानी छ, केही पदाधिकारीले यसैबाट मस्ती गरिरहेका छन्’ –अर्का एक सदस्यले भने । प्रेसले कुन मापदण्डअनुसार छपाइको काम गरिरहेको छ भन्ने विषयमा समेत कुनै पदाधिकारीलाई जानकारी छैन ।

प्याब्सनले सदस्य विद्यालयलाई अनिवार्य रूपमा आफ्नो पुस्तक प्रयोग गर्न निर्देशन दिँदै आएको छ । प्याब्सनकै नामबाट पुस्तक प्रकाशन नगरी एक जना कर्मचारीको नाममा कम्पनी खडा गरी कारोबार गर्नुले नै पदाधिकारीको नियतमाथि प्रश्न उठेको छ । करिब पाँच वर्ष अघिसम्म नाफामा गएको परियोजना अहिले घाटामा गयो भन्नु सरासर गलत भएको अधिकांशको आरोप छ । तर प्याब्सनको परियोजना अधिकारीहरू भने बुक फिर्ता आएर हैरान भयो भन्दै प्याब्सन बैठकमा निराश हुने गरेका छन् । अधिकांश असन्तुष्ट सदस्यले परियोजनाको रकमबाट मोज गर्न पल्केका परियोजनाका पदाधिकारीले सधैं झुटो विवरण पेस गर्ने गरेको आरोप लगाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्