एमालेले “मेची–महाकाली अभियान” चलाउने



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेले आउँदो फागुन २१ देखि १५ दिनसम्म मधेस केन्द्रित मेची–महाकाली अभियान सञ्चालन गर्ने भएको छ। सो अभियानका क्रममा मधेसका १५ जिल्लामा १५ लाख कार्यकर्ता परिचालन गर्ने बताइएको छ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै एमाले नेता प्रदीप ज्ञवालीले उक्त कुराको जानकारी गराउनुभयो। अभियानका अवधिमा मेधसका विभिन्न स्थानमा ३४ वटा जनसभा गरिने पनि बताउनुभयो।
उहाँले आगामी निर्वाचनका लागि दबाब सिर्जना गर्न, मधेस र पहाडबीच सद्भाव कायम गर्ने र एमालेविरुद्ध चलाइएका भ्रमहरू चिर्न यो अभियान चलाउन लागिएको बताउनुभयो। उहाँले उक्त अभियान राष्ट्रियताका पक्षमा जनमत सिर्जना गर्न पनि आयोजना गर्न लागिएको दाबी गर्नुभयो।

मेची–महाकाली अभियानको उद्घाटन फागुन २१ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले झापाको काकड्भिट्टामा गर्ने तय भएको छ। अभियानका सम्पूर्ण कार्यक्रमहरूमा अध्यक्ष ओलीलगायत वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्षहरू बामदेव गौतम र अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डललगायतका नेताहरूको सहभागीता रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्