मकवानपुरको ठिंगन गाविसको सिमातमा पहाडबाट यसरी फालिंदै छ माटो

हेटौंडा,(नेस) । हेटौंडालाई काठमाडौंसंग जोड्ने छोटो र भरपर्दो वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथलाई लिइन्छ । २०१३ सालमा राजा महेन्द्रले शिलान्यास गरेसंगै ट्रयाक खोलिएको हो । ट्रयाक खोलेको झण्डै साठी वर्ष बित्दा पनि हेटौंडालाई काठमाडौंसंग जोड्न भने सकिएको छैन ।

सडकले ललितपुरका दुर्गम दक्षिणी–पूर्वी भेग र मकवानपुरका उत्तरी भेगका बासिन्दाको जीवनशैली परिवर्तन गर्ने विश्वास छ । व्यापारिक नाका बीरगञ्जलाई पूर्वपश्चिम राजमार्गसंग जोड्ने भएकाले बीरगञ्ज नाकाबाट नेपाल–भारतबीच व्यापारिक वस्तु तथा सेवा विस्तारमा योगदान पुग्ने आशा छ ।

स्थानीयमा सडक निर्माण हुन्छ भन्ने आशा अहिलेमात्र आशा पलाएको छ । कान्तिराजपथमा सडक चौंडा पार्ने काम भइरहँदा स्थानीयमा खुशी छाएको देखिन्छ । भट्टेडाँडा–३ का वेदप्रसाद अधिकारी धेरै वर्षपछि काम सुरु हुँदा सडक भएर हेटौंडा–काठमाडौं गुड्ने गाडीमा चढ्ने इच्छा रहेको बताए ।

कान्तिलोकपथको कामले गति लिए पनि ठेकेदार कम्पनीले पहाड भत्काउँदै माटो सीधै खोलामा खसाल्दा वर्षात्को समयमा केही गाविसका दर्जनौं गाउँ डुबानमा पर्ने सम्भावना बढेकोमा उनले चिन्ता व्यक्त गरे ।

मकवानपुरगढी तथा ठिंगन गाविस क्षेत्रमा ठेकेदार कम्पनीले चेकड्याम ब्यवस्था नगरी पहाड फोरिएको माटोलाई सिमात खोलामा फाल्दा त्यसको प्रभाव वर्षात्को बाढीमा देखिनसक्ने खतरा बढेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।

ठेकेदार कम्पनीले प्रयोग गरेको सडक खन्ने मेसिनको मद्धतले पहाडमा रहेको माटो तथा चट्टानलाई एकसय मिटर अग्लो भिरबाट सोझै खोलामा खसाल्दा उक्त बनमा रहेको रुख÷बिरुवाहरु नष्ट, भूक्षयको खतरा हुने सम्भावना बढेको छ । दैनिक हजारांै टन माटो सिमात खोलामा फाल्दा खोलाको सतह बढ्ने र भविष्यमा त्यसको प्रभावले पुर्वी मकवानपुरको छतिवनका अधिकांश भूभागसहित बाराका केही भुभाग डुबाउने खतरा बढ्ने देखिएको हो ।

माटोलाई सीधै खोलामा फाल्दै गरेका एक एक्साभेटर चालकले आफूहरुलाई चेकड्यामको विषयमा जानकारी नभएकाले सीधै खोलामा माटो फालेको बताए । हेटौंडादेखि ललितपुरसम्म ९१ किलोमिटर सडकमा काम गर्दै आएको ठेकेदार कम्पनी बीएनएस, मोतीदान र अमरले सडक चौंडा गर्ने, ढल विस्तार र कालोपत्रेको काम गर्ने ठेक्का पाएका छन् ।

हेटौंडाको बुद्धचोकलाई सडकखण्डको सुरुवात विन्दु मानिएको छ भने अन्तिम विन्दु ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोलाई मानिएको छ । मकवानपुरतर्फ कुल ५१ किमीमा बुद्धचोक–चुच्चेखोला (७ किमी), चुच्चेखोला– जीतपुर (१५ किमी), जीतपुर–आलेभञ्ज्याङ (१८ किमी) र आलेभञ्ज्याङ–बाग्मती बगुवा पुलसम्म (११ किमी) गरी ४ खण्ड बनाएर काम भइरहेको छ ।

कान्तिलोकपथ सडक योजना प्रमुख देवेन्द्र साहले सडकलाई डबल लेन बनाउन काम भइरहेको बताए । उनले भने– लक्ष्यअनुसार समयमा काम सम्पन्न हुनेमा ढुक्क छु । निर्माण सकेर मार्ग सञ्चालनमा आएपछि ललितपुरको सातदोबाटो (चापागाउँ दोबाटो) हुँदै सुनाकोठी, चापागाउँ, टीकाभैरव, तीनपाने भञ्ज्याङ, झाँक्रीडाँडा, छवेली, काल्चे, बाग्मती नदी, बगुवा, ठिंगन, मकवानपुरको आलेभञ्ज्याङ, बुद्धचोकसम्म (९० किमी) २ घण्टामा पुग्न सकिने उनको भनाइ छ ।

पुस दोस्रो साता यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखक र संसद्को विकास समितिको टोली सडकखण्डको अनुगमन तथा निरीक्षणमा गएको थियो । मार्गको यथास्थिति बुझ्नका लागि भौतिक पूर्वाधार मन्त्रीसमेत विकास समिति टोली हेटौंडासम्म आएर अवलोकन गरेको थियो ।

निरीक्षणका क्रममा हेटौंडामा स्थानीय तथा सरोकारवालासंगको अन्तक्र्रियामा भौतिक पूर्वाधार मन्त्री लेखकले कान्तिलोकपथ सडक आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता जाहेर गरेका थिए ।

ललितपुरमा ४ र मकवानपुरमा ५ गरी ९ प्याकेजमा सडक विस्तार काम भइरहेको आयोजनाका प्राविधिकको भनाइ छ । सेनाले ट्रयाक खोलेको सडक विगतमा बजेट अभावले काम हुन सकेको थिएन । तर, कामले तीव्रता पाए पनि विकासका कारण हुने विनासको मूल्यांकन नहुँदा भविष्यमा ठूलो विपद् ल्याउनसक्ने सम्भावना रहेको स्थानीयको गुनासो छ ।

LEAVE A REPLY