आमाको नामबाट नागरिकता: अदालत आदेश गर्छ, प्रशासन रोक्छ



कुमार श्रेष्ठ, बाँके । बाँकेमा आधा दर्जनलाई आमाको नामबाट नागरिकता दिनका लागि अदालतले आदेश गरेपनि जिल्ला प्रशासन कार्यालयले रोकेको छ ।

संविधानको नागरिकता, भाग २ धारा १२ मा बाबु वा आमाको नामबाट नागरिकता दिन सकिने उल्लेख गरेको छ । सर्वोच्च अदालतले पनि त्यसमा आदेश गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले भने नागरिकता सम्बन्धी ऐन कानून नबनेको जनाउदै त्यसरी नागरिकता दिएको छैन ।

बाँकेका शिवानी सिंह, दिक्षा सिंह, गणेश सुनार, श्वेता श्रीवास्तव र अर्जुन खटिक आमाको नामबाट नागरिकता पाउनका लागि अदालत पुगेका थिए । सबैजसोको हकमा अदालतले ‘प्रचलित कानूनको अधिनमा रही निजलाई जे जुन प्रकृतिको नागरिकता प्राप्त हुनेछ । वा, कुन प्रकारको नागरिकता पाउने हो, सो नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनु’ भन्ने परमादेश आदेश जारी गरेको छ ।

आमा नेपाली नागरिक रहेको र बाबु सम्पर्कमा नरहेकाहरु आमाको नामबाट नागरिकताका लागि अदालतको ढोकामा पुगेका हुन् । यी सबैको मुद्दा हेरेका अधिवक्ताद्वय सुनिल श्रेष्ठ र लोकबहादुर शाहले संविधानले ग्यारेन्टी गरेको र अदालतले आदेश गरिसकेपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता दिनुपर्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाबुको राष्ट्रियता नखुलेकालाई बंशजका आधारमा नागरिकता दिन नसकिने बताउनुभयो । ‘नयाँ कानून बनेको छैन । नागरिकता ऐन २०६३ अनुसार अहिले हामीले नागरिकता दिइरहेका छौं । यो ऐनको दफा ३ उपदफा २ मा आमाको नामबाट नागरिकता दिने सकिने तर बाबुको राष्ट्रियता हेर्ने भनेको छ ।’ उहाँले बाबुको राष्ट्रियता पत्ता नलागेपनि आमाको नामबाट अंगीकृत नागरिकता दिन सकिने बताउनुभयो ।

अदालत पुगेकाहरुले बंशजकै नागरिकता माग गरेका छन् । ‘आमा नेपाली नागरिक हुन भन्ने देखिएको छ । नेपाली नागरिकबाट जन्मेकोको बच्चालाई बंशजकै नागरिकता पाउनु पर्छ, अधिवक्ता शाहले भन्नुभयो ।

अदालतले उल्लेखित सबैको हकमा नाम नै किटेर नागरिकता दिनु भनेको छैन । यसअघि बाँकेकै वर्षा शर्माको मुद्दामा अदालतले नामै किटेर आदेश गरेपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले आमाको नामबाट नागरिकता दिएको थियो । अदालतको आदेशबाट बाँकेमा आमाको नामबाट नागरिकता बनेको यो एक्लो हो ।

अदालतबाट आदेश भएकाहरु पुनः प्रशासन पुगेका छन् । प्रशासनले अहिले उनीहरुको फाइल अध्ययन गरिरहेको छ । बाबु सम्पर्कमा नरहेकाले आमा नेपाली भएपनि नयाँ कानून नबन्दासम्म प्रशासनले सजिलै नागरिकता दिने लक्षण देखाएको छैन । प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले बाबुको राष्ट्रियता नखुलेकालाई आमाको नामबाट बंशजको नागरिकता दिन गाह्रो हुने बताउनुभयो । स्पष्ट कानूनको अभावमा अदालत र प्रशासनको दोहोरो कुराले निवेदकहरु भने झन् पीडित भएका छन् ।

बैवाहिक अंगीकृत सबै भारतीय

जिल्ला प्रशासन कार्यालय, बाँकेले पछिल्लो तीन महिनामा एक सय ८६ जनालाई बैवाहिक अंगीकृत नागरिकता वितरण गरेको छ । प्रशासकीय अधिकृत पौडेलका अनुसार, बैवाहिक अंगीकृत नागरिकता लिने सबै भारतीय हुन् ।

जिल्ला प्रशासन कार्यालय, नेपालगञ्जबाट एक सय ६९, इलाका प्रशासन कार्यालय, नरैनापुरबाट ७ र इलाका प्रशासन कार्यालय, कोहलपुरबाट १० जनाले बैवाहिक अंगीकृत नागरिकता लिएका छन् । प्रशासकीय अधिकृत पौडेलले कात्तिक, मंसीर र पुस महिनामा दुई हजार सात सय ९३ जनाले बंशजका आधारमा नागरिकता लिएको जानकारी दिनुभयो । जिल्लाबाट एक हजार ४ सय २७ जनाले यो अवधिमा नागरिकताको प्रतिलिपि लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेबाट दुई हजार पाँच सय ९२ जनाले राहदानी लिएका छन् । दु्रतसेवाबाट ६ सय ७२ जनालाई सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी पन्थका अनुसार, अघिल्ला महिनाको तीन महिने रिपोर्टमा दु्रतमार्गबाट राहदानी लिनेको संख्या बढी पनि अहिले साधारणको संख्या बढेको छ । ‘पहिला दु्रतसेवाबाट तीन महिनामा राहदानी आउथ्यो, अहिले दुई हप्तामै आउँछ, त्यसले गर्दा साधारण तरिकाबाट राहदानी लिने बढेका हुन्, प्रजिअ पन्थले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्