‘श्रीपञ्चमी’मा स्वयम्भूमा भक्तजनको घुइँचो



तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौँ, १९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ का अवसरमा स्वयम्भूमा भक्तजनको विशेष घुइँचो लागेको छ ।

प्रत्येक वर्ष आजका दिन त्यस क्षेत्रमा रहेको मन्जुश्रीको मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । त्यसैगरी, काठमाडौँ उपत्यकाका विभिन्न सरस्वती मन्दिरमा पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रबाट त्यहाँ दर्शन गर्न भक्तजन आएका छन् ।

सरस्वतीलाई चामल चढाई केही अक्षता घरमा लगेमा ज्ञान प्राप्त हुने र ज्ञानको ज्योति पाइने प्राचीन मान्यता रहेको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अनुसार विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको वरपर भूकम्पबाट क्षति भएका सम्पदा भत्काइएकाले पनि दर्शनार्थीलाई केही असुविधा भएको छ ।

विद्या र सिर्जनाकी देवी तथा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना गरेमा ज्ञानी भई समाजको सेवा गर्न सकिने विश्वास छ ।

विशेषगरी विद्यार्थीलाई आजको दिन अक्षर आरम्भ गराइन्छ भने विवाह, ब्रतबन्धलगायत शुभकार्य गर्नका लागि आजको दिन साइत हेर्न नपर्ने हिन्दू धर्मावलम्बीको विश्वास छ । रासस

प्रतिक्रिया दिनुहोस्