शेयर लगानीकर्ताको सम्पत्ति ४५ अर्ब थपियो



नआत्तिन संघको आग्रह
नेपाल समाचारपत्र
काठमाडौं
अघिल्लो दिन ७४ अर्ब रुपियाँ गुमाएका शेयर बजारका लगानीकर्ताले मंगलबार ४५ अर्ब रुपियाँ कमाएका छन्। मंगलबार करिब १७ अंकले नेप्सेमा वृद्धि भएपछि लगानीकर्ताको सम्पत्ति थपिएको हो।

सोमबार १४ खर्ब ७३ अर्ब रुपियाँमा झरेको बजार पुँजीकरण मंगलबार १४ खर्ब ९२ अर्ब रुपियाँमा पुगेको छ। मंगलबार कारोबार खुल्नासाथ ओरालो लागेको बजार १४ अंकसम्म नकारात्मक बनेको थियो। तर, पछि नेप्सेमा सकाकारात्मक संकेत देखिएका थिए। मंगलबार नेप्से परिसूचक १६ दशमलव शून्य ९ अंकले बढेर १३२६ दशमलव ६० अंकमा पुगेको छ।

कारोबार भएका बीमा र अन्य समूहबाहेक सबै समूहमा सुधार आएको छ। यसदिन पनि बीमा समूह २८ अंकले आरोलो लागेको छ। अघिल्लो दिन बीममा समूह ५६० अंकले घटेको थियो। त्यस्तै बैंकिङ समूह २५ दशमलव ४४, होटल समूह १०९, विकास बैंक समूह ३ अंक ३२, जलविद्युत् समूह १३, वित्त समूह ९ र उत्पादन समूह १९ दशमलव ८२ अंकले बढेको छ।

१३७ कम्पनीका १६ लाख ४९ हजार ७ सय ९८ कित्ता शेयर ५२ करोड ८५ लाख रुपियाँमा किनबेच हुँदा सोल्टी होटल र श्रीराम सुगर मिलका लगानीकर्ताले झण्डै १० प्रतिशतको हाराहारीमा कमाएका छन् भने कालिका माइक्रोक्रेडिट, सगरमाथा फाइनान्स, सेञ्चुरी बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, देवः विकास बैंक, लक्ष्मी बैंक तथा मुक्तिनाथ विकास बैंकलगायतका कम्पनीका लगानीकर्ता पनि धेरै कमाउनेमा परेका छन्। तर, गुराँस लाइफ इन्स्योरेन्स, एनएमबि बैंक (संस्थापक), फस्र्ट माइक्रो फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स तथा नेपाल इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ता धेरै गुमाउनेमा परेका छन्।

यस दिन सबैभन्दा बढी गरिमा विकास बैक (संस्थापक) शेयर ३ करोड ६८ लाख रुपियाँको किनबेच भएको छ। त्यसपछि नेपाल टेलिकमको २ करोड ५१ लाख, सिद्धार्थ बैकको २ करोड ३१ लाख, प्रभु बैंकको २ करोड २९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ५ लाख र एसियन लाइफ इन्स्योरेन्सको २ करोड ४ लाख रुपियाँको शेयर किनबेच भएको छ।

यसैबीच लगानीकर्ता संघ नेपालले बजारमा अनुचित अफवाह फैलाएर साना लगानीकर्तालाई अत्तालिएर शेयर बेच्न लगाउने काम भइरहेको भन्दै गम्भीर बन्न सबै पक्षलाई आग्रह गरेको छ।

शेयर बजार घट्छ भन्दै आतंक मच्याएको जनाउँदै संघले नआत्तिन सबै लगानीकर्तालाई आग्रह गरेको छ। लगानीकर्ताको हित र पुँजी बजारको विकासका लागि संघले दत्तचित्त भएर लाग्ने सघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्