गाउँ निकाला गरिएका बृद्ध जोडी पुनःस्थापित



अनिल खत्री, गुल्मी
अन्तरजातिय प्रेम सम्बन्ध राखेको आरोपमा स्थानीयले गाउँ निकाला गरेका अर्वेनी गाविस–५ का ७८ वर्षीय लालबहादुर सुनार र सोही स्थानकी ४३ वर्षीया सावित्रा न्यौपानेलाई भव्य समारोहकाबिच पुर्नस्थापित भएका छन्।

पुस १ गते लालबहादुरको घरमा बसेको अवस्थामा सावित्रालाई भेटाएपछि स्थानीयले उनीहरूलाई बाँधेर निर्घात कुटपिट गरी गाउँ निकाला गरेका थिए। अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने र सावित्राका ४३ वर्षीय भतिज चिन्तामणी न्यौपानेको अगुवाइमा करिव १ सय ५० जना स्थानीयले एक्कासी उनीहरू दुवै जनालाई गाउँ निकाला गरेका थिए।

आरोपित र स्थानीयले भत्काएको घर बनाई दिएपछि जिल्ला प्रसासन कार्यालय, अर्वेनी गाविस कार्यालय, जिल्लाका दलित अगुवा, मानवअधिकारकर्मी सहितको टोलीले उनीहरूलाई बाजागाजाको साथ घर भित्राइएको दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य कृष्ण सुनारले बताए। साझा मञ्चले आयोजना गरेको लाल बहादुर, सावित्रा पुर्नस्थापना कार्यक्रममा उनीहरूलाई सम्मान गर्नुका साथै घर प्रवेश गराइएको थियो।

गाउँ निकाला आरोपितहरूले भत्काएको घर निर्माण गरिदिएपछि उनीहरूलाई बाजागाजा सहित उनीहरूलाई घर भित्राएको। पुर्नस्थापीत हुने जोडीलाई स्वागत गर्दै प्रजिअ कृष्ण प्रसाद ढुंगानाले उनीहरूलाई ढुक्कसंग समाजमा जिउने वातावरण प्रदान गर्न स्थानीयहरूलाई आग्रह गरे। गाउँ निकाला गर्ने बिरुद्ध पुस ७ गते जिल्ला प्रहरी कार्यालयमा सामाजिक अपराध अन्तरगत उजुरी समेत दर्ता भएको थियो।

पीडितका छोरा अनुराम सुनारले गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका करिव ४५ वर्षिय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपाने विरुद्ध उजुरी दर्ता गरेका थिए। तर ३५ दिन काट्दा समेत आरोपितहरूलाई प्रहरीले गिरफतार गर्न सकिराखेको थिएनन। गाउँ निकालाको बिषयलाई लिएर विभिन्न संचार माध्यममा समाचार तथा रिर्पोटहरू प्रकाशन तथा प्रसारण भएपछि दलित आयोगका सदस्य गोविन्द सुनार लगायतको टोलीले स्थलगत अनुगमन समेत गरेको थियो। साथै जिल्लाका दलित अगुवा र पत्रकार एवं मानव अधिकारकर्मीको टोलीले जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पुस १८ गते ज्ञापनपत्र समेत पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्