माधवनारायण व्रतको फोटो प्रर्दशनी



नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुरको पवित्र धार्मिकस्थल ख्वरे (हनुमानघाट) मा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिने माधवनारायण व्रत आयोजना हुँदै आइरहेको छ। यही प्रसंगमा सो व्रतसम्बन्धी फोटो प्रदर्शनी पनि भक्तपुरमा चलीरहेको छ।

काठमाडौंको साँखु साली नदीमा हुने श्री स्वस्थानी व्रत जस्तै भए पनि यसका फरक विशेषताहरू छन्। पुरुष व्रतालुहरू व्रत बस्ने, पल्टिमार्दै करीब २ किलोमिटरसम्मको धार्मिक यात्रा पूरा गर्नुपर्ने र अनेकन कठोर यात्रा गर्नुपर्ने यो व्रत प्रचार प्रसारको अभावमा भक्तपुरबासीका बीच मात्र सीमित रहेको छ।

यस व्रत बारे व्यापक प्रचार प्रसार गरी आम नेपाली जनताको सहभागितालाई बढाउन फोटोग्राफर रजन कुस्लेले विगत ३ वर्षदेखि प्रत्येक वर्ष आफूले ३–४ वर्ष लगाएर खिचिएका व्रतसम्बन्धी फोटोहरू लगातार भक्तपुरको दरबार स्क्वायरमा प्रदर्शन गर्दै आएका छन्। यस वर्ष भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिको सहकार्यमा माघ १५ गतेदेखि शुरु भएको फोटोग्राफर रजनको एकल फोटो प्रर्दशनी माघ १९ सम्म चल्नेछ। यस प्रदर्शनीमा २९ वटा माधवनारायण व्रतसम्बन्धी गतिविधिका फोटोहरू राखिएका छन् भने फोटोग्रापर रजन आफैले परिकल्पना गरी बनाएका ९ वटा फोटोहरू विशेष आकर्षण बनेका छन्।

भक्तपुरको जात्रापर्वहरूलाई केन्द्रविन्दु बनाएर खिचिएका दुर्लभ फोटोहरूको प्रदर्शनी गर्दै आएका राजनले माधवनारायण व्रतका गतिविधिलाई समेटिएर फोटो फिचरको किताबसमेत प्रकाशन गरेका छन्। व्रतालुहरूको सहयोगमा प्रकाशित सो किताब रजनको पहिलो प्रयास हो।

विभिन्न धार्मिक ग्रन्थअनुसार ने.स. ७२२ देखि माघ धलं नामक व्रतधर्म माधवनारायण अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्ने प्रचलनको शुरुआत भएको हो। शुरुमा भक्तपुरका राजोपाध्याय ब्राह्मणहरूले चलाउँदै आएको अनुष्ठान पछि ने.स. ८४९ मा रणजित मल्लले आफ्ना छोराहरूलाई यस व्रतमा संलग्न गराई माधवनाराण, लक्ष्मी र सरस्वतीको ढुंगाको मूर्ति हनुमानघाटमा स्थापना गरेपछि उक्त व्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपाली चलाउने परम्परा भएको हो।

प्रतिक्रिया दिनुहोस्