शेयर बजारमा हल्लाको प्रभाव



(नरेन्द्रमान श्रेष्ठ) शेयर बजारका लगानीकर्ताहरूलाई कहिले माफियाले, कहिले बाफियाले त कहिले उत्तानो प्रसाद भनिनेहरूका हल्लाले डुबाउने गरेका हुन्छन्। शेयर बजारलाई हल्लाले हल्लाइरहेको हुन्छ। कतिपय लगानीकर्ता हल्लाको पछि पनि लाग्ने गरेका छन्। शेयर बजारमा एक दिनमै ३ घण्टामा ६५ अंकले घटेको नेप्से १ घण्टामा ४० अंकले बढ्ने गरेको पनि छ। यसमा चलखेल मान्नेहरू थुप्रे छन्। हुन त शेयर बजारमा शेयरको मूल्य घट्ने–बढ्ने भनेको स्वाभाविक हो। तर कतिपय अवस्थामा शेयर बजारमा अस्वाभाविक र नाटकीय रूपमा नेप्से घट्ने–बढ्ने गर्छ वा गराइन्छ भनेर पनि चर्चा हुने गरेको छ। शेयर बजार घटिरहेको बेला अझ घट्छ भनेर उत्तानो प्रसाद भनिनेहरू र कतिपय मिडियाद्वारा गरिने हल्लाले लगानीकर्ताहरू आत्तिने गर्छन् र घाटा खाएर बेच्छन्। यता किन्नेहरू पनि अझ घट्ने हो कि भनेर अन्योलमा हुन्छन् अनि पर्ख र हेर भनेर बस्छन्। यस अवस्थामा शेयरको आपूर्ति बढेर शेयरको मूल्य घट्छ। यसमा पनि डिमान्ड एन्ड सप्लाइको नियम लागू हन्छ।

कतिपय शेयर बजारका खेलाडीहरू र शेयर बजारका डन भनिनेहरूले शेयर ब्रोकरहरूसँगको मिलेमतोमा नेप्सेमा प्रभाव पार्ने पनि गर्छन्। यसको मारमा भने इमानदार र साना लगानीकर्ताहरू अनि शेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरू पर्छन्। कतिपय अवस्थामा देशमा हने राजनीतिक अवस्था, सरकार परिवर्तन, राजनीतिक खिचातानी आदिले पनि शेयर बजारमा असर पारेको हन्छ तर यस्तो अवस्थामा शेयर बजार अस्वाभाविक रूपमा एकै दिन तीन–चार प्रतिशतले नेप्से घट्ने–बढ्ने भने हुँदैन।

गतवर्ष नेपाल राष्ट्र बैंकले जारी गरेको २०७२⁄०७३ को मौद्रिक नीतिले गर्दा शेयर बजारमा हलचल नै ल्याएको थियो। मौद्रिक नीतिअनुसार बैंक तथा वित्त कम्पनीहरूले आफ्नो चुक्ता पुँजी लगभग चार गुणाले बढाउनुपर्ने निर्देशन भएपछि शेयर बजारमा हलचल आएको थियो। त्यस बेला ९ सय अंकको हाराहारीमा घुमिरहेका नेप्से मौद्रिक नीति जारीपछि १८ सय अंकभन्दा बढी पुगेको थियो। बैंक तथा वित्त कम्पनीहरूले आफ्नो पुँजी राष्ट्र बैंकले तोकेको समयमा बढाउन मर्जरमा जाने, बोनस तथा हकप्रद शेयर जारी गर्ने हल्लाको कारणले त्यस बेला शेयर बजार उकालो लागेको थियो। यही अवस्थाको फाइदा लिई कतिपय शेयर बजारका लगानीकर्ताले शेयर बजारलाई आफ्नो अनुकूल बनाए। शेयर बजार उकालो लागेकोले शेयर बजारमा लगानी गर्दा फाइदा हुने रहेछ भनेर कतिपय नयाँ लगानीकर्ताहरू शेयर बजारमा प्रवेश गरे। कतिपय लगानीकर्ताले बोनस शेयर पाउने, हकप्रद शेयर पाउने, राम्रो बैकसँग मर्ज भए शेयरको मूल्य बढ्ने आशमा पनि शेयर बजारमा लगानी गरे। तर पछिल्लो समयमा फेरि बोनस शेयर र हकप्रद शेयर बजारमा आउने र यसले शेयर आपूर्ति बढ्ने हल्ला फैलाई चलखेलकर्ताहरू नेप्सेलाई घटाउन तल्लीन रहेका छन्।

शेयर बजार उकालो लाग्दा कछुवाको चालमा र आरालो लाग्दा खरायोको चालमा लाग्ने धेरै उदाहरण छन्। यस्तो अवस्थामा गुमाउने भनेको साना र नयाँ लगानीकर्ताहरू नै हुन्। शेयर बजारमा दिनमा नेप्से तीन–चार प्रतिशतले ओरालो लागेकोलाइै स्वाभाविक भन्न सकिँदैन। यस्तोमा चलखेल भएको बझ्नुपर्छ। त्यसो त शेयर बजार ओरालो लाग्नेबित्तिकै लगानीकर्ताहरू आत्तिने र फेरि घट्छ कि भनेर घाटा खाएर भए पनि बेच्ने गर्छन्। यस्तो अवस्थामा शेयरको आपूर्ति बढी भएर मूल्य झन् घट्ने हुन्छ।

त्यसो त शेयर बजार उकालो लागेको हेरेर मात्र पनि लगानी गर्न हुँदैन। शेयर बजारमा लगानी गर्दा कम्पनीको सत्यतथ्य जानकारी लिएर मात्र लगानी गर्नुपर्दछ। तर पनि आर्थिक अवस्था बलियो भनिएका ७० प्रतिशतसम्म बोनस शेयर दिने भनिएका कम्पनीहरूको शेयरको मूल्य पनि अस्वाभाविक रूपमा घट्ने गर्दै छ। यसरी राम्रा कम्पनीको शेयर मूल्य पनि अस्वाभाविक रूपमा घट्ने गर्छ भने यसलाई शेयर बजारमा हने चलखेल मान्नुपर्ने हुन्छ।

आफ्नो तरिकाले चलिरहेको शेयर बजारलाई २०७२⁄०७३ को मौद्रिक नीति सार्वजनिक गरी नेपाल राष्ट्र बैंकले शेयर बजारमा हलचल ल्याएको हो भन्नेहरूको पनि कमी छैन। नेपाल राष्ट बैंकले बेंक तथा वित्त कम्पनीहरूको चुक्ता पँुजी लगभग चार गुनाले बढाउनुपर्ने निर्देशन दिनु नै नपर्ने, पँुजी बढाउनुपर्ने भए कम्पनीहरू स्वयंले नै आवश्यकता हेरी बढाइहाल्छन् नि भन्नेहरू पनि छन्। यसरी कतिपय लगानीकर्ताहरूले राष्ट्र बैंकलाई नै दोष दिने गरेका छन्। जे होस्, शेयर बजार घट्ने–बढ्ने हल्लामा लागेर शेयर किनबेच गरिहाल्न खोज्दा यसले झनै शेयर बजारमा प्रभाव पारिरहेको हुन्छ। यस अवस्थामा शेयर बजारका लगानीकर्ताहरू सचेत, परिपक्व र शेयर बजारप्रति जानकार हुनै पर्छ। हल्लाको पछि लाग्दा यसले लगानीकर्ताहरूलाई झनै डुबाउन पनि सक्छ।

प्रतिक्रिया दिनुहोस्