“चुनावमा जानुको विकल्प छैन”



नेपाल समाचारपत्र
बाँके
नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संशोधन प्रस्तावलाई ‘थन्क्याएर’ चुनावमा जानुको विकल्प नभएको बताउनुभएको छ।
प्रेस चौतारी, बाँकेले १९औं स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले संशोधनको औचित्यहीन प्रस्तावलाई संसद्मा थन्क्याएर चुनावतिर अघि बढ्नुपर्ने दोहोर्याउनुभयो। ‘संशोधन प्रस्तावलाई सके मार्नुस्, नत्र भने संसद्मा सुत्न दिनुस्’, सचिव भट्टराईले थप्नुभयो– त्यसलाई अघि बढाउदा सामाजिक सद्भाव र एकता खण्डित हुन्छ।’

सचिव भट्टराईले एक⁄दुई जनालाई मन्त्री बनाउँदैमा संशोधनको पक्षमा दुई तिहाइ पुग्न नसक्ने बताउनुभयो। ‘ढुंगाको ओथारो राखेर चल्ला निस्किँदैन’, भट्टराईले भन्नुभयो– ‘एमालेसँग एक तिहाइ बढी मत रहेको छ।’

संविधान जारी गर्दाका ठूला दलहरू मिल्नुको विकल्प नरहेको स्मरण गराउँदै भट्टराईले तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले सहमति तोड्दा धु्रवीकरण बढेको बताउनुभयो। २००७, २०४६ सालका परिवर्तनलाई संस्थागत हुन नदिन त्यति बेलाका परिवर्तनकारी शक्तिलाई मिल्न नदिएकोजस्तो गरेर अहिले पनि २०६२⁄०६३ को उपलब्धलाई संस्थागत हुन नदिन विदेशी शक्तिहरूले दलहरूलाई धु्रवीकरण गराइरहेको भट्टराईको बुझाइ थियो। सचिव भट्टराईले २०७४ माघ ७ गतेभित्र चुनाव गराउनै पर्ने बाध्यता रहे पनि सरकार मधेसी मोर्चालाई देखाएर चुनावदेखि भाग्न खोजेको टिप्पणी गर्नुभयो। “निर्वाचन गराउन सकेन भने यो सरकारको औचित्य छैन’, उहाँले भन्नुभयो– ‘एमालेलाई सरकारको नेतृत्व दिनुस्, मोर्चालाई लिकमा ल्याउने सूत्र हामीसँग छ। ओली सरकारका पालामा भएका ३६ वटा वार्ताले उनीहरूको नसा नसा छामेका छौं।’

एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा र सचिव विष्णु रिजालले नेपाल पत्रकार महासंघको चुनाव नजिकिएकाले स्वच्छ र प्रतिस्पर्धाबाट मिल्न सक्ने शक्तिसँग मिलेर आफ्नो वर्चस्व कायम राख्न बाँके चौतारीका नेताहरूलाई निर्देशन दिनुभयो

प्रतिक्रिया दिनुहोस्