ताप्लेजुङमा टेलिफोन सेवा अवरुद्ध



नेपाल समाचारपत्र
ताप्लेजुङ
आइतबार रातिदेखि ताप्लेजुङमा नेपाल टेलिकमद्वारा वितरित ल्यान्डलाइन टेलिफोन र एडीएसएल सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्।

सुकेटारमा रहेको नेपाल टेलिकमको टावरदेखि सदरमुकाम जोड्ने फाइबर पोर्टमा समस्या आएकाले आइतबार रातिदेखि ल्यान्डलाइन टेलिफोन र एडीएसएफ सेवा अवरुद्ध भएको नेपाल टेलिकम ताप्लेजुङ शाखाले जनाएको छ।

सो सेवा बन्द हुँदा हजारौं सेवाग्राही इन्टरनेट चलाउन तथा टेलिफोन गर्नबाट वञ्चित भएका छन्। सोमबार बिहान केही समय नमस्ते र स्काई मोबाइल अवरुद्ध भए पनि केही समयपछि सो सेवा भने सुचारु भएको थियो।

नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमा अवरुद्धका विषयमा जानकारी गराएको र सो कार्यालयबाट सोमबार बिहानै प्राविधिक पठाएकाले प्राविधिक सोमबार बेलुका आएपछि मर्मतको काम शुरू हुने नेपाल टेलिकम ताप्लेजुङ शाखा प्रमुख वीरेन्द्र चेम्जोङले बताए।

प्राविधिक आएपछि मर्मतको काम मंगलबार बिहानबाट मात्र शुरू हुने भएकाले चाँडो भए मंगलबार साँझबाट सेवा सुचारु हुने सम्भावना रहेको प्रमुख चेम्जोङको भनाइ छ। टेलिफोन र नेटसेवा अवरुद्ध हँुदा सञ्चार माध्यम, बैंक तथा वित्तीय संस्थाहरूमा सबैभन्दा बढी असर पुगेको सम्बध कार्यालयहरूले बताएका छन्। केही कार्यालयले भने निजी इन्टरनेट सेवा प्रदायक संस्था सुविसुद्वारा वितरित नेटसेवा प्रयोग गरी काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्