सुन्तला खेतीमा नमुना बन्दै कफलसेरी



ललित सिंह, बझाङ
फाटफुट रुपमा सुन्तला खेती गरिने बझाङको कफलसेरी गाविसका एक किसानले भने व्यावसायिक खेती गरेर जिल्लाकै उदाहरणीय ठाउँ बनाएका छन्। उनले सुन्तला खेती शुरू गरेपछि त्यहाँका अन्य किसानले पनि उत्साहित हुँदै सुन्ताला खेती शुरू गरेपछि कफलसेरी गाविस सुन्तलाको नमुना गाउँ बन्दै गएको हो।

सानो खेतीबाट सुन्तला खेती शुरु गरेका कफलसेरी गाविसका विष्णुभक्त जोशीले हाल तीन सयभन्दा बढी बोटको बगैंचा बनाउनु भएको छ। जिल्लामा सुन्तला खेतीको व्यवसाय गरेर कफलसेरीका विष्णुभक्तको बारीमा अहिले विभिन्न जिल्लाका कृषकसमेत भ्रमणका लागि आउने गरेका छन्। सुन्तला खेतीबाट जोशिले मनग्य आम्दानीसमेत गर्नु भएको छ। जिल्लाको बुङल क्षेत्रको कफलसेरी गाविस २ का व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषक जोशीले वार्षिक ७ लाख रुपियाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो।

उहाँको बगैंचामा उत्पादन भएका सुन्तला बझाङबाहेक डडेल्धुरा, धनगढीसम्म क्रिी हुने गरेको छ । कफलसेरी गाविसका किसान जोशीको मेहेनत र लगनशीलले उनी मात्र नभई कफलसेरी गाविसलाई नै सुन्तलाको पकेट क्षेत्रका रुपमा परिचित गराएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक मदनराज जोशीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘यो व्यवसायलाई फस्टाउन कृषि कार्यालयले त्यस क्षेत्रका अन्य किसानलाई पनि प्रोत्साहन गर्दै आएको छ।

गत वर्ष चार हजार क्विन्टल सुन्तला बिक्री गर्नुभएका विष्णुभक्तले यसपटक त्योभन्दा बढी हुने जानकारी दिनुभयो। उहाँले सुन्तलाका बोटको नर्सरी खेती गरेर आफ्नो गाउकाँ साथै छिमेकी गाविसका किसानलाई पनि सुन्तलाका बोट वितरण गरेर व्यवसाय गर्न सहयोग गर्दै आउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्