ट्रम्पको शरणार्थी रोक्का आदेशलाई अदालतको चुनौती



न्युयोर्क, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थीलाई आगामी ९० दिनसम्म अमेरिका प्रवेश नगराउने उद्देश्यले आदेशपत्रमा हस्ताक्षर गरेको कारण विभिन्न विमानस्थलमा अलपत्र परेका वा भिसा भएका शरणार्थीलाई सम्बन्धित राष्ट्रमा फिर्ता पठाउन अस्थायी रूपमा रोक लगाउन एक जना अमेरिकी न्यायाधीशले आइतवार आदेश जारी गरेका छन्।

शुक्रबार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशपत्रविरुद्ध अमेरिकी निजामती स्वतन्त्रता संघ (एसीएलयू) मुद्दा दायर गरेको थियो। विभिन्न विमानस्थलमा करिब १ देखि २ सय शरणार्थी रोकिएको अनुमान गरिएको छ।

ट्रम्पले आप्रवासमाथि लगाएको रोकविरुद्ध विमानस्थलहरूमा हजारौं व्यक्तिले प्रदर्शन गरिरहेका छन्। उनको कार्यकारिणी आदेशको कारण सम्पूर्ण अमेरिकी शरणार्थी कार्यक्रम रोकिएको छ। सोही आदेशअनुसार इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लागेको छ।

अदालतको चुनौती र प्रदर्शनहरू बाबजुद पनि शनिबार ट्रम्पले आफ्नो आदेशपत्रले सम्पूर्ण विमानस्थलमा राम्ररी काम गरिरहेको बताएका थिए। न्युयोर्कस्थित जोनएफ केनेडी विमानस्थलमा शनिबार बिहान सबेरै हिरासतमा लिइएका दुई जना इराकी नागरिकका तर्फबाट सो आदेश पत्रविरुद्ध मुद्दा दायर गरिएको थियो।

तीमध्ये एक जना इराकमा अमेरिकी सेनाका लागि काम गर्दथे भने अर्को अमेरिकी सेनाकै पूर्वकरार कर्मचारी रहेका छन्। तिनीहरू दुवैलाई हाल रिहा गरिसकेको छ। यस मुद्दाको अर्को सुनुवाइ फेब्रुअरीमा हुने भएको छ।

यसैबीच ट्रम्पले साउदी अरब र युनाइटेड अरब इमिरेटसका नेतासँग मुस्लिम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन वार्ता गर्ने भएका छन्। केही देशका मुस्लिमलाई रोक लगाइएको विषयमा विश्वभरि होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लिम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन्।

ट्रम्पले दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति
ह्वाङ क्यो अहङसँग पनि वार्ता गर्ने तयारी गरेको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा उनको सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ।

गत २० जनवरीदेखि अमेरिकाको राष्ट्रपतिको जिम्मेवारी लिएका ट्रम्पले सबैभन्दा पहिले साउदी अरबका राजा सलामनसँग कुराकानी गर्ने बताइएको छ। त्यसपछि उनको युएइका अधिराजकुमार मोहम्मदबिन जयद अल नह्यानसँग टेलिफोन वार्ता गर्ने कार्यक्रम रहेको छ। अमेरिकाले प्रवेशमा रोक लगाएका राष्ट्र साउदी अरव र यूएई पर्दैनन्।

आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने
क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुडेउले अमेरिकाले रोकेका विदेशी शरणार्थी तथा आप्रवासीहरूलाई क्यानाडाले स्वागत गर्ने आइतवार बताएका छन्।

ट्विटरमार्फत् उनले भनेका छन्– ‘हिंसा, आतंक र युद्ध भोगिरहेको सबैलाई क्यानाडाले स्वागत गर्न चाहन्छ। तिनीहरूको धर्मको आधारमा कुनै पक्षपात गरिने छैन। विविधता हाम्रो शक्ति हो, क्यानाडामा तपाईंहरूलाई स्वागत छ।’

ट्रम्प र पुटिनबीच वार्ता
ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्त्वपूर्ण विषय वस्तुहरूमाथि घण्टौं लामो टेलिफोन वार्ता भएको बुझिएको छ।

दुबै देशका राष्ट्र प्रमुखबीच भएको सो वार्ताका धेरै विषयवस्तुमध्ये प्रमुख दुईवटा एजेन्डामा पूर्वराष्ट्रपति बाराक ओबामाले रूसमाथि लगाउँदै आएको विभिन्न खाले प्रतिबन्धका भविष्यबारे प्रश्न र आतंकारी इस्लामिक स्टेट (आईएस) समूहलाई परास्त गर्न दुवै देशबीच सैनिक सहयोग प्रवद्र्धन गर्ने मार्ग पहिल्याउनुलगायत अन्य विषय पनि परेका छन्। ह्वाइट हाउसले दुई समकक्षीबीच गम्भीरवार्ता भएको औपचारिक पुष्टि गरे तापनि कुन कुन विषयमा वार्ता भए भन्ने विस्तृत खुलासा गरेको छैन।

मर्मत, सुधारको आवश्यकता परेको अमेरिका–रूसबीचको सम्बन्धमा यस वार्ताले महत्त्वपूर्ण सुरुआत गरेको भन्दै ह्वाइट हाउसले यसबारे एक विज्ञप्तिमार्फत् सार्वजनिक जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्