माझीगाउँमा पनि पुर्ननिर्माण शुरु



ज्ञानमणि नेपाल कालोटोपी, काभ्रे ।
विनासकारी भूकम्पले सबैभन्दा धेरै मानवीय क्षती बेहोरेको जिल्लाको चण्डेनीमण्डन स्थित आँपचौरको माझीगाउँमा पनि अभाव र असजिलोका वीच पुर्ननिर्माण शुरु भएको छ ।

भूकम्पले यसगाउँमा मात्र ११ जनाको ज्यान लिएको थियो भने थुप्रै घाइते भएका थिए । यहाँ रहेका ७५ परिवार सबैको घर पूर्णरुपमा क्षति भएको थियो । त्यसयता टहरा र त्रिपालमै रहेका उनीहरु भर्खरै नयाँ घर बनाउने तयारीमा रहेको माझीगाउँका केशब माझीले बताए । उनका अनुशार गाउँमा ५ वटा घरको जग राखिएको छ ।

कसैले ईंटा तयार पार्दैछन् भने कोहि अझै पनि कस्तो घर बनाउने भनेर अन्योलमै छन् । यहाँका पीडितहरु नयाँ घर बनाउने जग्गा नभएर थप समस्यामा रहेको पाइएको छ । पुरानो घर भएको ठाउँमा अहिले टहरा बनाइएको छ । नयाँठाउँमा घर बनाउन जग्गा छैन । स्थानिय च्यामे माझी भन्छन् –“जस्तो भएपनि घर त बनाउनै प¥यो ।” यस गाउँमा पनि नाम छुटेका पीडितहरु रहेको र छुटेकाहरुको नाम पठाइएको भएपनि उनीहरुको बारेमा अहिले सम्म कुनै निर्णय नभएकाले पीडितहरु मर्कामा परेका छन् ।

अन्य ठाउँको जस्तै यहाँ पनि घर बनाउन धेरै समस्या छन् । आर्थिक रुपमा पनि कमजोर रहेका यहाँका स्थानियहरु निर्माण सामाग्रीको मुल्यवृद्धि भएका कारण समस्यामा परेका छन् । कामदार र दक्ष प्राविधिकको अभाव उस्तै छ । सहयोग गर्ने युवाहरु गाउँ बाहिर छन् , गाउँमै भएकाहरु सँग सिप छैन । सरकारले गाविस लक्षित केहि इञ्जिनियरहरु त खटाएको छ तर ती पर्याप्त छैनन्् । त्यसैले यहाँ घर बनाउने कार्यले खासै गति लिन सकेको छैन ।

दशैं, तिहार लगायतका चार्डपर्वको मुखमा बाँडिएको पैसा केहिले सक्याइसकेका छन् । केहि पीडितहरु भने कसरी घर बनाउने भन्ने चिन्तामा छन् । चण्डेनीमण्डन स्थित आँपचौरकी बुधमाया माझीले पहिलो किस्ताको रकम लिए पनि के गर्ने भन्ने अन्योलमै छिन् । ‘५० हजारले घर बन्दैन । ७५ घरधुरी रहेको आँपचौर गाउँका जम्मा ५७ जनाले मात्र पहिलो किस्ताको रकम पाएका छन् । अरु नाम छुटेकाहरुले प्रशासनमा नाम टिपाएका भएपनि अहिले सम्म उनीहरुको हकमा के गर्ने भन्ने टुंगो लागेको छैन ।

आफ्नो थोरै मात्र जग्गा रहेको यहाँका माझी समुदायलाई अहिले जग्गा नहुँदा घर कहाँ बनाउने भनेर चिन्ता थपिएको छ । पहिले घर भएको ठाउँमा पन्छाएर अर्को घर बनाउन धेरै समस्या छ । एकातिर खर्च धेरै लाग्छ भने अर्कातिर कामदारको चरम अभाव छ । पाइहाले पनि ज्यालादर उच्च छ । यो अवस्थामा घर बनाउन समस्या भएको आँपचौरकै मान बहादुर माझीको भनाई छ ।

उनका अनुशार यहाँका अधिकांश वासिन्दाको आफ्नै जग्गा छैन । ‘अरुको जग्गा कमाएर जिवीका चलाउने अवस्था भएकाहरुले कसरी घर बनाउनु र ?’ मान बहादुर भन्छन् – “पैसा पाएर के गर्नु , घर बनाउने जग्गा नै छैन । ” सरकारले यहाँका लागि घर बनाउन सक्ने अवस्था ल्याइदिए मात्र पूर्ननिर्माण सम्भव हुने र पैसाको पनि सदुपयोग हुने उनको भनाई छ ।

काभ्रेमा मात्र होइन , सिन्धुपाल्चोकका प्रभावित माझीगाउँहरुमा पनि घर बनाउने कामदारको निकै नै समस्या रहेको छ । गाउँवस्तीहरु अझै उस्तै छन् । पैसा लिएकाहरुले विभिन्न बाहानामा खर्च गरिसके । उनीहरुलाई घर बनाउने चेतना नै छैन । त्यसैले पैसाको सदुपयोग गर्न सरकारले अब सक्रियता देखाउनै पर्ने धुर्मुस–सुन्तली फाउण्डेशनका इञ्जिनियर अर्जुन न्यौपानेले बताए । “जहाँ समस्या छ , त्यहाँ सरकारले जनशक्ति परिचालन गर्नु प¥यो । पैसा मात्र बाँढेर घर नबन्ने रहेछ ।” – उनले बताए ।

प्रतिक्रिया दिनुहोस्