डढेको खानाबाट क्यान्सर हुने



लन्डन, (एजेन्सी)
पाउरोटी, चिप्स र आलु सुनौलो पहेंलो रंग नहुन्जेलसम्म मात्र पकाउनुपर्ने र यदि खैरो हुने गरी पकाइएको खण्डमा त्यसबाट उत्पन्न हुने एक प्रकारको रासायनिक पदार्थले मानिसहरूलाई क्यान्सर हुन सक्ने सरकारी खाद्यान्न वैज्ञानिहरूले चेतावनी दिएका छन्।

स्टार्चयुक्त खाद्य पदार्थ लामो समयसम्म उच्च तापक्रममा पकाइँदा एक्रिलामाइड नामक रासायनिक पदार्थ निस्कने तिनीहरूको दाबी रहेको छ। बेलायतको खाद्यान्न मापदण्ड निकाय (एफएसए) ले खाना डढ्ने गरी नपकाउन सर्वसाधारणलाई सल्लाह दिएको छ।

तर बेलायत क्यान्सर रिसर्चले यो तथ्य मानवसँग सम्बन्धित भएको प्रमाणित भइनसकेको जनाएको छ। एफएसएले आलु फ्रिजमा नराख्न पनि सल्लाह दिएको छ। चिनीको मात्रा बढी भएको तरकारीलाई कम तापक्रममा राखिँदा त्यस्तो खाना पकाउँदा एक्रिलामाइडको परमाण निकै बढ्ने बताइएको छ।

एक्रिलामाइड अन्य पनि थुप्रै खाद्यान्नमा पाइन्छ र यो पकाउने प्रक्रियाको प्राकृतिक वाइ प्रडक्ट हो। रोटी, दाल, बिस्कुट, क्रायकर, केक वा कफीलाई १ सय २० डिग्री सेन्टिभन्दा बढी तापक्रममा पकाउँदा एक्रिलामाइड उत्पन्न हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्