सीमभञ्ज्याङमा दोस्रोपटक हिमपात



हेटौंडा,(नेस)। नारायणी अञ्चलको उच्च स्थान उत्तरी मकवानपुरको सीमभञ्ज्याङमा शुक्रवार राति हिमपात भएको छ ।
सीमभञ्ज्याङ क्षेत्रमा यस वर्ष दोस्रोपटक हिमपात भएको हो ।

यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ ।
हिमपातका कारण त्रिभुवन राजपथको दामन सडकखण्ड अवरुद्घ छ । सयौं यात्रु अलपत्र परेका छन् । शनिबार विहानबाट हिउँ खेल्न त्यहाँ जानेहरुको संख्या बढ्दो छ ।

उच्च पहाडी थाहानगरका विभिन्न क्षेत्रमा हिमपात भएको हो । शुक्रबार विहानदेखि मौसममा परिवर्तनले भएसँगै दामन,पालुङ, सीमभञ्ज्याङ, थाहानगर–५ को केशरीभञ्याङ, देउराली, कोटथुम्कीलगायत भूभागमा सेताम्य भएको छ । दामन सीमभञ्ज्याङ क्षेत्रमा हिउँ परेर जम्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका सई दीपककुमार गुप्ताले जानकारी दिए ।

शुक्रबार मध्यरातदेखि हिमपात शुरु भएसँगै उत्तरी थाहानगर लगायत आसपास क्षेत्रभर निकै चिसो बढेको छ । हावाहुरीले विद्युत् अवरुद्ध हुँदा सञ्चार सेवासमेत प्रभावित हुन पुगेको स्थानीयले बताएका छन् ।

दामन सीमभञ्ज्याङ क्षेत्रमा घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटक होटल तथा सबै क्षेत्र हिउँले सेताम्मे भएपछि रमाइरहेका छन् । हिउँमय दामनमा हिउँसँग रमाउन जाने अन्तरिक तथा वाह्य पर्यटकको चहलपहल वृद्धि भएको छ ।

हिमपातका कारण उक्त क्षेत्र सेताम्मे बन्नुका सँथै भूकम्पपीडितलाई प्रभावित बनाएको छ । हिमपात हुँदा लामो तथा छोटो दुरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोरदोहोर गर्न समस्या भएको छ । यसले गर्दा उनीहरुको दैनिकी प्रभावित बनेको छ ।

पश्चिमी वायुको प्रभावले मौसम बदलिनुका साथै हल्का वर्षा र हिमपात भएको हो । भूमध्यसागरमा बनेको न्यूनतापीय क्षेत्र र वायुको प्रणाली पूर्वतिर सर्ने क्रममा इरान, अफगानिस्तान, पाकिस्तान र भारतको जम्मु कस्मीर हुँदै बिहीबार सा“झ मकवानपुरमा भित्रिएको वायुको प्रभावले मौसम बदलिएको हो ।

प्रतिक्रिया दिनुहोस्